
नवलपरासी – स्थानीय निर्वाचन बहिष्कार गर्न आब्हान गर्दै जिल्लाब्यापी रुपमा प्रचार गरिएको छ । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीका दुई दर्जन बढी स्थानमा बहिष्कारका प्रचार सामाग्री टाँस्ने, अपिल बितरण गर्ने र नारा लेख्ने क्रियाकलाप गर्दै आएको छ ।
जिल्लाका बिभिन्न बजार तथा गाँउ एंव मतदान केन्द्र नजिकमा प्रचार तीब्र बनाउदै प्रचार सामाग्री पोष्टर टाँस्ने, अपिल बितरण गर्ने र नारा लेख्ने क्रियाकलाप तीब्र पारेको हो । जिल्ला सदरमुकाम परासीको बुद्धचोकमा समेत बहिष्कारको आब्हान सहित पोष्टर टाँस्ने काम भएको जिल्ला सदस्य बसन्तले जानकारी दिनुभयो । त्यस्तै बर्दघाट–४ को हाटबजार, बसपार्क , शान्तिनगर, बर्दघाट–२ को आमबाँस , चिसापानी चोक, भुताहा , भटौलिया, कुकुरमारा, चौपत्ताचोक , जिमिरेभार,बरुवा, कुडिया, सेमरी, गोपीगंज,बेलाशपुर सुनवलको ज्यामिरे , अस्नैयालगायत सातै पालिकाको बिभिन्न स्थानमा बहिष्कारको प्रचार गरिएको छ । बहिष्कारको प्रचारलाई जनताले चाँसो पूर्वक लिएको सो पार्टीले जनाएको छ ।
यस अघि पश्चिम नवलपरासीका १२ स्थानमा क्रान्तिकारी माओवादीले कोणसभा गरेको थियो । चुनाव बहिष्कारको प्रचार गर्ने क्रममा सुनवल बजारबाट पत्रकार , गाडी र चालक सहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेपछि रिहा गरेको थियो ।