
आँखामा मोतिबिन्दुले गाँजेपछी
साउनमा आँखा फुटेको गोरुले
चैतमा पनि हरियो देखे जस्तै
केही तथा कथित परिवर्तनकारीहरु
सोलोडोलो नयाँ देख्ने रहेछन
घुम्ने कुर्चीको सपनाले सताएपछी
बाँकी रहेका सपनाको हत्यागर्न
किन्चित भय नहुँदो रहेछ ।
फोहोरी अहालमा पौडी खेल्न पसेपछी
सफा पानी पनि घीन लाग्ने रहेछ
इतिहासको ब्याज खाएर
परिवर्तनका हत्याराहरु
अङ्कमाल गर्दै आँगन आँगन चहार्दा
लाज शरम पनि लजाउँदो रहेछ
युग बिकाशको पाङ्ग्रा
जब उल्टो घुम्छ नि
कमिलाको प्वाँख बन्दो रहेछ ।
घामले हलो जोतेको
रुखले होत्रो बोकेको एउटा मजाक
बान्ता पोखेर गाउँभरी फलक्दा
आफैँले तय गरेको संहितालाइ
जब कुल्चिइन्छ नि बुटहरुले
नयाँ सम्भवनाको निम्तो हुने रहेछ
आउ साथी नयाँ बाटो खनौँ ।
