
आउ अब आफ्नो घर बेची भिख मागौँ
कालो दिनको स्वागतको तयारीमा लागौँ
हिँजोसम्म हाम्रो घर भन्ने ठाउँ थियो
आजदेखि त्यहीं पनि अन्तै बेचिदियो
अबदेखि यो घरको छानो चुहिदैन
तर अब यो घरको मालिक म होइन
बन्धकीको घरभित्र कति हुन्थो आस
आजदेखि आफ्नै घरभित्र भयौँ दास
एकपल्टको चुनावले एउटा देश बेच्यौ
अर्कोपल्ट जितेपछि कुन चीज बेच्छौ
युधिष्ठिर जस्तै देश दाउ लाईदियौ
जनताको देशलाई एक्लै खाईदियौ
युधिष्ठिर जस्तै स्वास्नी दाउ दिन्छौ होला
अनिमात्रै वचनका पक्का बन्छौ होला
कौरबका अगाडि पो इमान्दार बन्यौ
द्रौपदीको अगाडि त कुलङ्गार बन्यौ
कैले बेच्छौ सहिदका रगत र मासु
कैले बेच्छौ घाइते र बेपत्ताका आँसु
यति गरे पछिमात्र युधिष्ठिर बन्छौ
राज्य फिर्ता वहानामा लाखौँ ज्यान लिन्छौ
अहो कस्तो गजबको तिम्रो राजनीति
जनतालाई मराउन चाल्यौ नयाँ गति
सकुनिको जुवा घर किन ताक्नुपर्ने
राज्य अनि द्रौपदीलाई किन थाप्नु पर्ने
उस्तै उस्तै भयो फेरि दोरियो कथा
तिमी जाउला अम्रिकामा हामी जाने कता ?
हिँजोसम्म थियो मेरो सानो सानो देश
आजबाट छैन मेरो कुनै भाषाभेष २०७८÷ ११÷१६ गते दाङ