
संस्मरण
रातभर निन्द्रा लागेन । बिस्तरामा सुतेको छु, न त आँखा चिम्लन सक्छु न त मन स्थिर रहन्छ । छपछटी लागेर उकुसमुकुस भएको छ । यताउता फर्कन्छु निन्द्रा लाग्दै लाग्दैन । रातिको बाह्र बजिरहेको छ । यही छट्पटीका बिचमा भुसुक्क निदाएछु । आजको रात किन मलाई यति लामो लाग्यो, सायद यो रात मेरा लागि लामो असहज छट्पटी सहितको रात थियो । कारण थियो मलाई २२ गते बिहानै पाँच बजे पश्चिम रुकुमको यात्रा, जहाँ मैले मेरो जिबनको एघारौं बसन्त बिताएको थिएँ । म त्यस ठाउँमा जानुपर्ने थियो, जहाँ अथाह माया, प्रेम, सदभाव, स्नेहभित्र लुकेको काल्पनिक दृश्य मेरो मनमष्तिस्कमा घुमिरहेको थियो ।

चैत बाईस गते बिहानै ब्युझिएँ । जुरुक्क उठेँ, घडी हेरँे चार बजेको रहेछ । अब मेरो हिड्ने समयको घडी छोट्टिँदै थियो । बिहानको नियमित कर्मपछि चिया खाजा खाँदै पाँच बजेपछि बाइक चेकजाँच गरेर झोला बोकेर हुइएँ । मेरो प्रिय जिल्ला रुकुम यात्राका लागि । तुलसीपुर-सल्यान सडक मर्मतसम्भार भइरहेकाले धुलाम्य थियो । बिहानैको समय भएकोले त्यति धुलो उडेन र सहजरूपमा कपुरकोट हँुदै लगातार तीन घण्टा दौडिएर थारमारेको बाघचौर पुगेर खाजा खाएँ । मन चञ्चल छ । कस्तो भएको होला त्यो गाउँ जुन गाउँमा एकाइस बर्सपछि जाँदैछु । कति मेरो परिचित अनुहार जिबित छन् होला ? कति नयाँ अनुहार जन्मिएका होलान् ? कतिलाई मैले चिन्छु होला ? यस्तै यस्तै प्रश्न मनमा खेलाउँदै हुइकिदै गर्दा बाङ्गेलाकुरीबाट उत्तरतर्फको खौलाको छेडो देखियो । जुन ठाउँ सल्यान र रुकुमको प्रबेशद्वारका रूपमा रहेको रुकुम छिर्ने मुख्य नाका हो ।
बिहानै उठेर हिडेको त्यहाँ पुगेपछि चैते घामको रापले पोल्दै थियो । बाङ्गेलाकुरीबाट ओरालोउकालो चढ्दै खौला पुगियो । मेरो आस्थाका धरोहर जनयुद्धका महान् सहिदहरूको सम्झनामा स्थापना गरिएको सहिद गेटले मेरो स्वागत गर्यो । त्यहाँ केही समय विश्राम लिएर वरपरका दृश्यलाई नियाल्दै विगतको स्मरण गरेँ । यो ठाउँ सन्ताउन्न सालभन्दा पहिला पैदल हिड्नु पर्ने, सयौं घोडा खच्चरहरूबाट मालसामान ढुवानी गर्दा घोडाखच्चर र हटारुहरूको बिसौनीका रूपमा प्रयोग हुन्थ्यो । यहाँ ससाना होटलहरू थुप्रै थिए तर अहिले रहेनछन् । धेरैजसो ससाना होटल बन्द भएका रहेछन् । हटारुहरूले बनाएका डोका अड्याउने बिसौनी पनि मासिएछन् । त्यहाँबाट अगाडि बढेको त एउटा ठुलो बजार रहेछ ।
झुलनेटा बजारले पनि रूपरङ्ग बदलिएको रहेछ । एकाइस बर्स पहिले खच्चड घोडाको कोलेको आवाज सुनिने ठाउँमा त ठुलठुला महल बनेका रहेछन् । एक्काइस बर्स पहिले म बस्ने गरेको ‘रत्न मुराल होटल’ पनि कता रहेछ देखिएन । झण्डै एघार बज्दै थियो । भोक लागेको थियो । एउटा बडेमानको घर भएको त्रिबेणी होटल लजमा खानापिना खाएर ओरालो झरियो ।
झुलनेटाबाट ओरालो झर्दै गर्दा सडक मर्मतसम्भार हँुदै रहेछ । गिट्टीबालुवा ग्राभेल थुपारेर सडक जीणर् जस्तो रहेछ । ठुला गाडीका लागि त समस्या होइन तर वाइकयात्रा चाहिँ धेरै गाह्रो भएकोे थियो । जसोतसो सिमरुतु बजार झरियो । सिमरुतु बजार पनि तीव्र बिकाश भएको रहेछ । घरमाथि घर गुजुम्म परेको, साँघुरो ठाउँमा सयौं घरहरू बनेका रहेछन् । मा बि सिम्रतुले रूपरङ्ग फेरेको रहेछ । विद्यालयको भवन भौतिक संरचना निर्माणको प्रयाप्तताले सुन्दर देखिएको थियो ।
सिमरुतु बजारबाट खलङ्गा जाने सडक छोडेर म रुँघा गाउँतिर जाने सडक समातेर अगाडि जाँदैगर्दा एकाइस बर्स पहिले हिडेका उकालो ओरालो झरेको साँधुरो पैदलमार्ग सम्झदै करिब पन्ध्र मिनेटपछि दाङचुङ गाउँमा पुगेँ । त्यहाँ मेरो स्वागतका लागि टिकाजङ्ग मल्ल सडकमा आइपुगेका थिए । म त्यहीँ थारेघरमा ज्ञानबहादुर मल्लको घरमा पाँच बर्स बसेको थिएँ । साँझ राति पदम मल्ल, मनोज, डिलेन्द्र, टिकाजङ्ग, मेरो कोठामा पढ्न आउँथे । त्यो घरभित्र पस्न खोजेँ । अफशोच ! त्यो घर नै बन्द थियो । यता मनोजको बुबा र हजुरआमालाई भेटेपछि मेरो बाइक त्यहीँ टीकाजङ्ग मल्लको घरमा राखेर म उनको बाइक पछाडि बसँे । उनले बाइक अगाडि बढाउँदै पुरानो इतिहास भैसकेका कुराहरू बताउँदैै हिँड्दा हामी जनयुद्धका समयमा गैरिनेटामा प्रहरीको गोलीबाट हत्या गरिएका महान् सहिद डिल्लीबहादुर बुढाथोकीका घरमा पुगेर सहिदको पत्नी र छोराहरू र उहाँका बुबा पर्सबहादुर बुढाथोकीसँग जनयुद्धका बिषयमा राजनीतिक बिषयमा वर्तमान अवस्थाका बारेमा व्यापक छलफल गरि झण्डै एक घण्टाको बसाइपछि टाकुरा पुग्यौँ । त्यहाँ म छ बर्स डेरा गरेर बसेको थिएँ । तर त्यहाँ पनि घरहरू बन्द थिए । माइला दाइ घरको नजिकै नयाँ आधुनिक प्रबिधि प्रयोग गरेर (चर्फी) शौचालय बनाउदै हुनुहुन्थ्यो । भेटघाट गर्दै दिउँसोको तिनबजे म कालिका आधारभूत विद्यालय दाङचुङको हाताभित्र छिरेँ । शिक्षक विद्यार्थीहरूसँग परिचय गरियो । हेरेँ, छ जना शिक्षक हुनुहुन्छ । तीनवटा शिक्षक दरबन्दी रहेको विद्यालयमा विद्यार्थी साठी जना मात्र रहेछन् । मैले एकतिस बर्स अगाडि स्थापना गरेको र सँस्थापक प्रधानाध्यापक भएको विद्यालय हो यो । यहाँ अझै पनि सबैले मलाई हेडसर भनेर सम्बोधन गर्दैथे । अहिलेका बहाल प्रधानाध्यापकले पनि हेडसर भन्दा मलाई कताकता अझैसम्म पनि यही विद्यालयको शिक्षक हँुझै लाग्थ्यो ।
तेइस गतेको कार्यक्रमका लागि तयारी गरिदै थियो । सम्मान, बिदाई तथा स्वागत कार्यक्रम राखिएको रहेछ । म २०४७ असार तीन गतेदेखि २०५७ असार सात गतेसम्मको सँस्थापक प्रधानाध्यापक भएकोले मेरो लागि सम्मान सोही विद्यालयमा अठ्ठाइस बर्स सेवा गरेर निबृत्त जीवन बिताउने शिक्षक साथी टोपबहादुर चन्दको बिदाई तथा नयाँ सरुवा भएर आउनु भएको शिक्षक निर्मल चन्दलाई स्वागत कार्यक्रम राखिएको रहेछ । सोही कार्यक्रमका शिक्षक विद्यार्थी मिलेर तयारी गर्दै हुनुहुन्थ्यो । करिबकरिब छ बजेसम्म उहाँहरू कार्यक्रम तयारीमा जुटिरहनु भएको थियो । त्यसपछि त्यहाँबाट उकालो उक्लिदै सहिद कमला चन्दको घरमा कान्छा छोरासँग कुराकानी गरेर अर्का सहिद मेरो प्रिय शिष्य कुलबहादुर बुढाका बुबा शेरबहादुर बुढा र जनयुद्धका सहिद मेरो शिष्य बिष्णुकुमारी पुनका बुबा बलिबिर पुनसँग भेटघाट गरेर उहाँहरूसँग सुखदुःखका कुराकानी गर्दै त्यस रात विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनबहादुर चन्दको घरमा बसियो । बलिबिर पुन एक यस्तो ब्यक्तिहुनुहुन्छ, उहाँको घरमा तत्कालीन बिद्रोही पार्टी नेकपा माओवादीको जिल्ला हेडक्वाटर झण्डै पाँच बर्ससम्म रहेको थियो । उहाँको घरमा नपुग्ने माओवादी नेता कमै होलान् । रुकुम, रोल्पा, सल्यान, प्युठान, जाजरकोटसम्मका अहिले केन्द्रीय नेतृत्वमा रहेका सबै नेताहरू उहाँको घरमै बस्थे । उहाँले पकाएको खाना खान्थे । उहाँ त्यसबेला सबै नेताहरूको प्रिय बुबा हुनुहुन्थ्यो । राजनीतिक वैचारिक स्तर माथिल्लो स्तरमा भएका बलिराम पुन आजकल सबै नेताहरूले बिर्सिए भनेर दुःख पोख्नुभयो । बेलुकी अबेरसम्म गाउँमै जम्मा हुनुभएका दाजुभाइहरूसँग भलाकुसारी गर्दै सुतियो । चैत २३ गते बिहान हामीहरू साथमा टोपबहादुर चन्द सर, दिलिप पुन, मन चन्द, चक्र बुढा लगायतमा मेरा साथीहरूसँग गाउँमा सबैलाई भेट्दै खानापिनापछि एघार बजे विद्यालयमा आयौँ । सर, मेडमहरू, विद्यार्थीहरू र अभिभावकहरू सबै जम्मा भइसक्नु भएको थियो । सबैसँग भेटघाट भयो । कोही ‘मोटाउनु भएछ सर’, कोही ‘बूढो हुनुभएछ सर’ भन्दै रमाइला कुराकानी गरेर समय गएको थाहै भएन । निर्धारित समयमै कार्यक्रम सुरु भयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनबहादुर चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो त्रिबेणी गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष र विशेष अतिथिमा म र टोपबहादुर चन्द थियौँ । आसन ग्रहण कार्यक्रमपछि राष्ट्रिय गान बजाइयो । सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरियो र स्वागत मन्तब्य शिक्षक अभिभावक सङ्घका अध्यक्ष यज्ञबहादुर मल्लले गर्नु भएको थियो । स्वागत गीतबाट कार्यक्रम अगाडि बढ्यो ।
कार्यक्रममा हामी तीनजना म विद्यालयमा रहँदासम्म गरेको मेरो काम कर्तव्य ब्यबहारले सम्मानित हुँदै थिए । अर्का शिक्षक टोपबहादुर चन्द अनिवार्य अबकास हँुदै हुनुहुन्थ्यो र उहाँको बिदाई तथा सोही स्थानमा सरुवा भई आउनु भएकोमा शिक्षक निर्मल चन्दलाई स्वागत कार्यक्रम गरिएको थियो । कार्यक्रममा अबिर, खादा र दोसल्ला ओढाएर सम्मान तथा उपहार स्वरूप विभिन्न उपहार मायाको चिनो भन्दा पनि गाउँका सबै अभिभावकहरूको उपस्थितिले मलाई उहाँहरूले गर्नुभएको माया प्रेम सदाब तथा सम्मान अमूल्य थियो । सबैजनासँग एकसाथ सबैलाई भेट्न पाउँदा अत्यन्तै खुसी लागेको थियोे ।
कार्यक्रम छ बजेतिर सकियो सबैले बिदाइका हातहरू हल्लाउँदै हामीबाट ओझेल पर्नुभयो । बेलुकी त्यस शिक्षक स्टाफ रूपबहादुर बिसिका घरमा सुतियो । चौबिस गते बिहानै दाङ फर्कने कार्यक्रम तय गरिएकोमा सहिदका बुबा बलिबिर पुन र तत्कालीन जनयुद्धताका निर्माण गरिएका वडा जनसरकार प्रमुख किर्तिबहदुर पुनले बिहानको खाना हाम्रो घरमा खानु पर्छ, हाम्रो घरको खाना नखाई तपाईं जान पाउनुहुन्न भन्नुभएकोले सहिदका बुबाका बचन नाघ्न सकिन र बिहानको खाना सिल्ला खाने इच्छा छ भनेँ । उहाँहरू पनि खुसि हुँदै सिल्ला पकाउनु भयो (सिल्ला भनेको चामलको सट्टामा पिठो मुछेर रोटी बेलेर बेलिएको रोटी टुक्राटुक्रा पारेर उम्लिएको दूधमा पकाइने खाना) मलाई २०४७ तिर यहाँका अभिभावकहरूले घरमा खानाखान बोलाउनुहुन्थो । त्यसबेला चामल अभाव हुन्थ्यो र पाहुनालाई स्वागत गर्दै सिल्ला पकाएर खुवाउने चलाउन थियो । सिल्ला मलाई मनपर्ने स्वादिष्ट भोजन हो । खाना खाएर म त्यस गाउँबाट ठिक दस बजेतिर दाङका लागि फर्किएँ ।
यसरी एक्काईस बर्सपछि त्यस ठाउँमा पुग्दा म त दाङको कुनै पहाडी गाउँमा पुगेको जस्तो अनुभुती भयो । पहिला पहिला मानिसहरू पैदलमार्ग द्वारा यात्रा गर्थे । मालसामान लिन मानिसहरू डोको बोकेर हाट जान्थे । गाउँमा उत्पादन भएको घ्यू, अदुवा, टिमुर जस्ता कृषिजन्य खाद्यान्न सामग्री डोकोमा बोकेर सल्यान र दाङसम्म लगेर बेच्थे । आफ्ना उत्पादित बस्तुहरू बेच्थे र आफुलाई चाहिने नुन, चामल, तेल, मट्टीतेल, लत्ताकपडा लगायतका सामग्री किनेर लैजान्थे । खच्चर घोडाबाट मालसामान खरीदबिक्री गर्थे । तर अहिले त गाउँमै ठुलो किराना र खाद्यान्न पसल रहेछन् । सहर र गाउँ जोडिएको कच्ची सडक घरघरमा पुगेको रहेछ । घोडा खच्चर बिस्थापित भएछन् ।
झर्को (सल्लाको दाउरा) बालेर उज्यालो बनाउनेहरूको घरघरमा बिजुली बत्ती झिलिमिलि रहेछ । म त्यहाँ कार्यरत रहँदासम्म सञ्चारका लागि सिमरुतु बजारमा अतिरिक्त हुलाक थियो । कहिले चिठी आउला भनेर बाटो कुरेर बस्थेँ, गाउँको सबैभन्दा तल रहेको पिपलको चौतारीमा । तर अहिले हातहातमा एन्ड्रोइट मोबाइल छन् । अनुहार हेर्दै भिडियो कल गर्दछन् । सामाजिक जनजिबन पनि सरल र सहज भएछ । जिबनशैली र आयस्रोतमा पनि फरक भएको रहेछ । हातहातमा मोबाइल, घरघरमा टेलिभिजन, र मोटरसाइकल सवारी साधन अधिकांशले प्रयोग गरेको पाइयो ।
जनयुद्धले परिवर्तन गरेको वर्तमान व्यवस्थामा जनताको आधारभूत अर्थतन्त्रमा परिवर्तन नल्याए पनि रेमिट्यान्सले भित्र्याएको उपभोगताले चाहिएको सबै सुबिधा नपुगे पनि आधारभूत सेवासुबिधा उपभोग गर्दै गाउँको जिबनशैली सहज रहेको महसुस गरेर तीन दिनको यात्रा समाप्त गरी दाङ (घर) फर्किएँ ।