माग्नुको समाजशास्त्र

माग्नुको समाजशास्त्र

माग्नु क्रिया पद हो । यसलाई विशेषण गराउँदा माग्ने भनिन्छ । माग्ने कामको अन्त्य नगरी मागि रह्यो भने त्यो मगन्ते भयो । माग्नुको क्षेत्र जति फराकिलो छ माग्नेहरू पनि त्यत्तिकै संख्यामा छन् । झट्ट सम्झंदा माग्नु हीनतावोध शब्द लागे पनि मागेको वस्तु प्राप्त भएमा सन्तुष्टिको अनुभव हुन्छ । हाम्रो समाजमा माग्नेलाई हेयको दृष्टिले हेरिन्छ तर यो समाजमा माग्दै नमागी जीवन निर्वाह गर्न सक्ने पात्र विरलै होलान आउनुहोस् नालि वेलिको खोजी गरौं ।

माग्नेहरूको सुचि तयार गर्नै लाग्दा पहिलो मगन्ते म आँफै हुँ । जीवन निर्वाहमा खञ्ज खाँचो पर्दा चिनारु अचिनारु धेरैसँग धेरै पटक पैसा सापटी मागेको छु । मैले, मेरो आर्थिक हैसियत कमजोर हुँदा म माग्नेमा दरिएँ तर म माग्नेलाई सापटी पैसा रुपियाँ दिने साहुहरू तारन्तार म कहाँ फिर्ता माग्न, आउँछन् । मैले एक पटक मागें म माग्ने भएँ तर ती जो-जो मेरा साहु भए उनीहरू पटक पटक म कहाँ माग्न आउँछन् । उनीहरूलाई म माग्ने भन्न त सक्दिन । बलियोले घरिघरि माग्छ उ माग्ने वा मगन्ते हुँदैन तर म माग्ने हुन्छु । पैसाका अतिरिक्त म धेरै थोक माग्ने हुँ । तन्नेरी अवस्थामा म धुम्रपानी थिएँ कुनै बेला मसँग चुरोट हुन्थ्यो सलाई लाइटर नहुन सक्थ्यो । त्यस्तो बेला मैले धेरै पटक आगो मागेको छु । कुनै बेला एक फाँक सुर्ति पनि मागेको छु । यहाँ सुर्तिको कुरा गर्दा म पुरानो घटना सम्झन्छु एक पटक हामी गोरखा कारागारमा थुनिएका थियौं । हामी धेरै साथिहरू धुम्रपान प्रेमी थियौं ।

कुनै साथिले एक पुरिया मडुवा सुर्ति किने र चुना मिसाएर माड्न थाले सुर्ति प्रेमी साथीहरूको घेरा लाग्यो साथिले सुर्ति माडेर सके हातहरूको जुलुस तेर्सियो उनले सबैलाई एक एक फाँक सुर्र्ति दिए उनको एक पुरिया सुर्ति चट् भयो । हामी मगुवा एक छिन सन्तुष्ट भयौं ।

मान्छे किन माग्ने बन्छ यसको उत्तरमा जीवन निर्वाहका लागि वा आत्म सन्तोषका लागि भनिन्छ । मान्छे मात्र त्यस्तो प्राणी हो जो जीवनमा केही न केही कहीँ न कहीं मागेकै हुन्छ । मान्छे बाहेक माग्ने प्राणीमा गोठमा बाँधिएका गाई भैंसी बाख्रा आदिले घाँस पानी माग्दछन् तर तिनीहरूलाई खुल्ला गरदिने हो भने उनीहरूले केही माग्दैनन् । हामी मान्छे स्वतन्त्र छौं तर किन माग्दछौं ?

हिउँदको एक दिन म आफ्नै घर अघि पुस्तक पढ्दै थिएँ एक जना ८० वर्ष पार गरेकी आमै माग्दै उनी मेरो छिमेकी घरमा पसिन । त्यो दिन छिमेकी कहाँ पितृकर्मको दिन थियो । छिमेकीले उनलाई श्राद्धको प्रसाद ल्याएर दिए । ती वृद्धाले पैसा चामल मागेको सूचना दिइन छिमेकीले उनले भने जस्तै पैसा चामल पनि दिए उनी उठिनन् वरु झोलाबाट प्लाष्टिक बोतल निकालिन र खाने तेल पनि मागिन् उनले त्यो पनि पाइन बल्लबल्ल उठेर मेरो घर आइन र छिमेकमाझैं चामल पैसा लिइन उनले मतिर फर्किएर चुरोटको माग गरिन मैले म खान्न भनें । उनले नाति नातिनाका लागि खाजा देउ न भनिन् । केही दिन अघि राज्यले दिएको वृति लिन ती बृद्धा ने.वै.लि. मा गएको देखेको थिएँ र मैले सोधें भत्ता खोइ त ? उनी झर्किएर भनिन छोरा बुहारीले राख्छन् । यो मगाई ती वृद्धाको आवश्यकता कि वाध्यता यो दृश्यले मलाई वेस्सरी घोच्यो । माग्नु शब्दसित जोडिएका केही उखान, गीत, मिथक र कथाहरू छन् । मागी मागी ध्यू खिचडी भने झैं यो बूढी आमैले त्यसै गरिन् ।

माग्ने एक प्रकारको पेशा पनि हो । गोरखाको गोरख गुफामा कान चिरेका वावाहरू बस्छन् कतिपय त्यहींको आश्रममा बस्छन् भने कोही गृहस्थामा बस्छन् । उनीहरू राति वा घरघर गएर रातको समय फेरी लगाउँछन् र बिहान भए पछि सिदा उठाउँदै आउँछन् । उनीहरू आफू माग्ने नभइ परम्परागत पेशा अपनाएको दावी गर्छन् । रमाइलो त के छ भने कि कनफट्टा बाबहरूको आ-आफ्नो क्षेत्र छ यदी कुनै बाबाले क्षेत्र उल्लंघन गरेमा उनिहरू बिचमा झगडा भएको देखेको सुनेको छु । अर्का एक थरि नीष्ठाका जोगी छन् जो दश बाह्र घरमा भिक्षा थाप्छन् र त्यसदिनको खाना खान्छन् यस्ता जोगी लोपोन्मुख अवस्थामा छन् ।

मागेर लिनु मान हो कि अपमान म घोत्लिन्छु । मेरो गाउँ समाज र देशभित्रका धेरै वासिन्दा माग्ने हुन भन्ने मेरो ठम्याई छ । धेरै भन्दा धेरै पुरुषहरूले अर्काकी कन्या मागेर घरजम गरेका छन् यस्तो सम्बन्ध मागी-मागी ध्यू खिचडी होइन र ?

हिन्दु धर्मको पुराणहरूमा राज्य वा धनसम्पत्ति मागेका थुप्रै मिथकहरू धार्मिक प्रवचनमा सुन्न पाइन्छ सायद यस्तै मिथकिय प्रभावले होला सबै पूरोहितहरूले यजमान कहाँ पैसा र चामलको मात्रै माग गर्छन् । सायद यसैले बनेको होला दानीलाई हानि हुँदैन भन्ने तुक्का । चोरे दण्ड पाइन्छ मागे राज्य पाइन्छ भन्ने उखान यस्तै पुरोहितले बनाएका पो हुन की ।

मैले आफू माग्ने भएको छाटो सवुद माथि नै पेश गरें तर तपाईं पनि कहिं न कहिं माग्ने ठहरिनु हुन्छ । तपार्इं केही सामान खरिद गर्न पसलमा पुग्नु हुन्छ र भन्नु हुन्छ । साहुजी फलानो सामान दिनुस्न । अथवा साहुजीले सोध्छ तपाइँले के माग्नु भएको ? यहाँ तपाईं क्रेता होइन माग्ने वन्नु हुन्छ ।

केही सालिन मान्छेहरू पनि माग्ने हुन्छन् भन्दा विश्वास गर्न गाह्रो हुन्छ । तपाइँ कवि लेखक वा विचारक हुनुहुन्छ र शालिन सम्पाकदले तपाइँसँग लेख, कविता धारणा माग्छ हामीले सभ्य र शिष्ट मानेको मान्छे पनि माग्ने पो रहेछन् । यस्तै कतिपय कवि साहित्यकारहरू पनि माग्ने हुन्छन् भन्ने सुन्दा तपाईं पत्यार मान्नु हुन्न तर केही साहित्यकारहरूले पुरस्कार वा सम्मान माग्ने गरेका समाचारहरू कतै सुनिएको छ ।

माग्नेको श्रृङ्खला अनन्त छ । सबैभन्दा धेरै माग्ेहरू राजनैतिक वृतमा छन् । सबै मुलुकमा आवधिक चुनाव हुन्छ । त्यस्तोमा भिड्न सबै पार्टीमा होड चल्छ टिकट माग्नेहरूको घुईचो हुन्छ । जब टिकट पाउँछ मत माग्न जनताकहाँ धाउँछ जसले धेरै चन्दा माग्न सक्यो, जसले धेरै भोट माग्न सक्यो जित उसैको हुन्छ । जसले जितेर जान्छ जागिर माग्नेहरूको भीड उसैकोमा हुन्छ योजना

माग्नेहरूको फायल उसैकोमा हुन्छ अनि पारित भएका योजनाका ठेकेदारहरूसँग कमिशन माग्ने पनि उही जितुवा हुन्छ ।

राजनैतिक वृतमा मात्र माग्नेहरू छन् होइन कर्मचारी वृतमा पनि उत्तिकै छन् उनिहरू पेशा सुरक्षाको सामुहिक माग गर्छन भने सरुवा बढुवाको नीजि मागका अतिरिक्त सेवाग्राहि सित खास खुस माग्ने पनि गर्छन् । मागेको धोतिले मेरो लाज छोपिन्न भन्ने गीत यस्तै ठाउँमा गाउँदा कसो होला ?

राजनिती, कर्मचारी नवनी सकेका विद्यार्थीहरू पनि माग्ने कर्ममा लाग्छन् तर उनीहरूका माग्ने कृया भने अलि फरक छ । विद्यालय, महाविद्यालय वा विश्वविद्यालयले शुल्क बढायो वा अवैज्ञानिक नीति नियम बनायो भने उनीहरू सडकमै आएर माग्छन् । राज्य वा सम्बन्धित पक्ष सम्वेदित हुँदैन । विद्यार्थीहरू मागेको माग्यै गर्छन् राज्यले रोक्न, छेक्न प्रहरी पठाउँछ । रोक्न वा छेक्नमा हारे पछि प्रहरीले लाठी गोली चलाउन आदेश माग्छ ल हेर्नुस माग्ने माथिको माग्ने श्रृङखला ।

माग्नुको वैधता, व्यवहारिकता वा सभ्यता समाजको अभिन्न संस्कृति पनि बनेको छ । एउटी गृहणीले आफ्नो छिमेकीसँग एक छाक तिहुन माग्नु, तिर्खाएको वटुवाले एक घुट्को पानी माग्नु वा मर्दा पर्दा छर छिमेकी सित सर सहयोग माग्नु व्यवहारिक जीवनका सकार हुन तर माग्ने जिजीवीषा हुर्काउनु आफु सम्पन्न बन्नका लागि माग्नु जीवनका त्यज्य गुण हुन् तर सास रहेसम्म आस भने जस्तैं माग्ने क्रम रोकिएको छैन ।

हिजो आज सिङ्गो मुलुक भरि माग्नुको पूर्वाभ्यास शुरु हुन थालेको छ । मैले माथि भने झैं आवधिक भाले छानिने पार्टी कार्यालय रहेका दरवारमा मगन्तेहरूको भीड लागेको छ । यतिबेला खुमलटार, बालुवाटार, कोटेश्वर, बालकोटमा माग्नेहरूको बाक्लो भीड छ टिकट माग्ने देखि अनुदान माग्न जागिर माग्न देखि ठेक्का माग्न दौडादौडले एउटा रमिता लागेको छ । दरवारको केन्द्र आफू नजिकै कन्तुर राखेर दरवार भेटी मागी रहेछ । जो सित कन्तुर भरिने नगद नारायणको पहुल छ त्यो विनियम गरेर टिकट मागि रहेछन् । जब कुनै मगन्तेको माग पूरा हुन्छ अनि उ हामी जनता कहाँ माग्ने विषय लिएर आउँछ । चोक चौतारोमा उधारो मोलि मोलाई शुरु हुन्छ एउटाले मत माग्छ दाताले दानापानीसँगै बाटो बिजुली माछन् त्यहाँ दोहोरो मगाइ हुन्छ ।

चार वर्ष अघि म पनि यस्तै मगुवा भएर चितवनको क्षेत्र नम्बर एकमा डुलेको थिए शहरका चोक चौतारामा उभिएर मैले पनि भोट मागेको थिएँ । म र मेरो टोलीमा हामी तीन उमेदवार मात्र थियौं शहरको चोक-चोकमा हाम्रो वरिपरि भीड थिएन र हामीले दिन सक्ने विषय पनि केही थिएन । हामी माँस मदिरा दिनेवाला थिएनौं त्यसैले हामीसित भीड भएन हामी वस्ति भित्र पस्यौं । फुलौरियाको एउटा घर अघि एउटी युवती हामीतिरै हुर्रीँदै आइन शिक्षाशास्त्रमा स्नातकोत्तर उतीणर् ती युवती वेरोजगार थिइन । उनले मसित माग राखिन कि नेपालको जुनसुकै ठाउँमा पनि म जान तयार छु, मा.वि. नपाए प्रा.वि. शिक्षक पनि मञ्जुर छ । उनको यो माग धेरै पिडा मिश्रीत थियो । तर हामी लाचार थियौं । हामी उधारो आश्वासन दिन पनि सक्दैनथ्यौं । लोप्रे ओठ लगाएर हामी बाटो लाग्यौं । अर्को गाउँमा एउटा किसनाको पीडा धेरै पेचिलो रहेछ । कुनै विचौलीयाको फकाइ फुल्याइमा उनले बाटो नभएको जग्गामा घडेरी किन्न पुगेछन् चारैतिर जमिन्दारको जग्गा छ बीचमा दुईकठ्ठा जमिनसँगै उनको घर छ तर साइकल गुड्ने बाटोसम्म छैन । किसानले आफ्ना मर्मको माग राखे जोगीको घर सन्यासी पाहुना भने झैं हामी चुपचाप फर्कियौं ।

माग्नु पनि एउटा कला हो एउटा खेति वा उत्पादन हो । अस्तिताका एक जना प्रभावशाली नेताले मोही माग्ने ढुङ्ग्रो नलुकाइकन चीन र भारतीसित नगद कै माग गरे । हामी पेट पाल्न माग्दै हिँडेका दीन र असहायलाई हेयको आँखाले हेछौं तर ठूला मगन्तेलाई भने सलाम ठोक्छौं । जबसम्म हामी आफ्नै खुट्टामा उभिने आँट गर्दैनौं माग्नुको यात्रा निरन्तर जारी रहन्छ । २०७८/१२/२४