देश हराएको देश

देश हराएको देश

अचेल
मेरो देशको नाम
गुमनाम भएको छ
मेरो सगरमाथा
दिन प्रतिदिन
लाज र आत्मग्लानीले
पग्लिदै गएको छ/खुम्चिदै गएको छ ।

अचेल
मेरो देशमा
न त तातो घाम छ
न त जुनको सितलतत छ
सँधै सँधै
खग्रास लागेको दिनझैँ
कालो बादलले घपक्क ढाकेको
मेरो देश
आज दुनियामा गुमनाम छ ।
सँधै सँधै
राष्ट्रको मुक्तिका लागि
हजारौं बहादुरहरू जन्माएर
बिश्व किर्तिमान राख्ने मेरो देश
आज
सस्तो मजदुर र
भाडाका सिपाही जन्माउने
दरीद्र देशमा बदनाम भएको छ ।

म यौटा अथक यात्री
म आफ्नो देश खोज्दै हिँडिरहेको छु
स्वाभिमानले शीर ठड्याएको देश
अभिमानले छाती फुलाएको देश
हो म
त्यही गौरवको देश खोजिरहेछु ।

देशसँगै
यहाँको सभ्यता हराएको छ
स्वाभिमान हराएको छ
इमान्दारी र नैतिकता भन्ने
सिँह दरबारका स्यालहरूले
सुगुरको खोरमा कुल्चेर मारिसके
राष्ट्रियता र जनतन्त्र भन्ने
बालुवाटार र शितलनिबासका रोबोटहरूले
दिल्ली र वासिङ्टनका
मालिकहरूलाई बुझाईसके ।

यतिबेला टिष्टा र काँगडा
परचक्रीहरूको
सङ्ग्रालयमा थुनिएको छ
तारबार र बन्दुकले घेरिएको छ
सुस्ता, महेशपुर र कालापानी
दक्षिणी अजिङ्गर पसेर
घाँटीको बिचभागमा गएर अड्काएको छ ।
त्यतिले अझ नपुगी
सात समुन्द्र पारीको एमसीसी नाउँको
सेतो हात्ती भित्र्याएर
हाम्रो धर्तिमा
आगोको भुङ्ग्रोमा झोस्दै छ
त्यसैले
शरीर भरी
मुक्ति सङ्ग्रामका सामलहरू बोकेर
म यतिबेला
मेरो देश खोज्दै हिडिरहेको छु
मेरो राष्ट्रियता र स्वाधीनता खोज्दै हिडिरहेछु
बेचिएको स्वाभिमान खोज्दै हिडिरहेछु ।
२०७८/४/२३