कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा क. संसारसेन

कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा क. संसारसेन

कमरेड बिरबहादुरर कामी (संसारसेन) बहुप्रतिभाशाली र बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुरा उहाँको जीवनका विभिन्न पक्षले देखाउँछ । जाजरकोटको साविक लहँ गा.बि.स. को एउटा सामन्य परिवारमा २०३५ सालमा जन्मेका बिरबहादुरर कामी सानै उमेरदेखि लगनशिल, मिहिनेती र जुझारु स्वभाव रहेको देखिन्छ । उनको प्रारम्भिक अध्ययन स्थानीय जनज्योति प्रा.वि.मा भएको थियो र पछि भानुभक्त.मा.विमा अध्ययन गर्ने क्रममा तत्कालिन ने.क.पा.(माओवादी) निकट अखिल क्रान्तिकारीमा सङ्गठित भएको पाइन्छ । स्कुल तहदेखि नै राजनीतिक आन्दोलनमा जोडिन पुगेका बि.क. क्रमश: विद्यार्थी आन्दोलनका साथै पार्टीमा आवद्ध भएको र त्यस सिलसिलामा पार्टीका विभिन्न जिम्मेवारी तथा योङ कम्युनिस्ट लिगको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला सचिवालय र जनमुक्ति सेनाको कम्पनी कमिस्नार समेत हुनुभयो । कमरेड संसारसेन पार्टी सङ्गठनका साथै कला साहित्यप्रति पनि त्यत्तिकै रुचि राख्ने र त्यसतर्फ पनि विभिन्न सिर्जनात्मक कार्यमा सक्रिय रहदै आएको कुरा उहाँका सिर्जनाहरूले देखाउँछन् । त्यति मात्र होइन, खेलकुदमा पनि त्यत्तिकै प्रभावशाली देखिनुहुन्छ । यसरी हेर्दा उहाँ कुनै एउटा विषयमा मात्र सीमित नभै बहुप्रतिभाका धनी हुनुहुन्थ्यो भन्ने देखिन्छ ।

उहाँको त्यो बहुप्रतिभालाई आन्दोलनमा कति जोड्न सकियो वा सकिएन त्यसको बेग्लै बहस र छलफलको विषय हुनसक्दछ । जहाँसम्म आफ्नो मेहनत लगावद्वारा उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा जुन योगदान पुर्याउनु भएको छ त्यसलाई उच्च सम्मान गर्नु पर्दछ । सामन्ती समाजले सिर्जना गरेको कथित दलित जातिको समुदायमा जन्मेर पनि आफ्नो मेहनत र सङ्घर्षबाट जुन उँचाइ कमरेड संसारसेनले बनाउनु भयो त्यो सामन्य कुरा थिएन र होइन पनि । तसर्थ, कमरेड संसारसेनको जीवनको छोटो समयमा भए गरेका कार्यलाई स्मरण गर्न उहाँका योगदानलाई प्रस्फुटन गर्ने उद्देश्यकासाथ स्मृतिग्रन्थ निकाल्ने जुन प्रयत्न गरिएको छ त्यो महत्वपूर्ण कार्यप्रति हार्दिक आभर तथा धन्यवाद ।

कमरेड संसारसेनले आफ्नो जीवनको छोटो समायमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा जुन भुमिका र योगदान दिनु भएको छ त्यसलाई आत्मसात गर्नु भनेको मुख्यत: संशोधनवादका विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु नै हो । पद, प्रतिष्ठा र व्यक्तिगत लाभका लागि कम्युनिस्ट आन्दोलनलाई बदनाम र दुरूपयोग गर्दै आएका अवसरवादीहरूले क संसारसेनप्रति देखाउने सद्भाव वा सहानुभूतिले उहाँको सङ्घर्षशिल भावना र विचारको किमार्थ प्रतिनिधित्व गर्न सक्दैन । त्यसैले उहाँले आत्मसात गरेको क्रान्तिकारी विचार, मूल्य, मान्यता र संस्कृतिलाई बचाउन तथा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन उहाँका योगदानको उच्च सम्मान गर्न जरुरी छ । जनयुद्धको समयमा जसरी कमरेड संसारसेनले पार्टीको योजनानुसार जस्तोसुकै जोखिम मोल्न तयार भएर जुनसुकै मोर्चामा कुशलतापुर्वक भुमिका निर्वाह गर्दै आएको देखिन्छ । तर, शान्तिप्रक्रियामा आएपछि पार्टीले अवलम्बन गरेको नीति र कार्यक्रमप्रति उहाँको असहमती रहेको पाइन्छ, जुन कुरा उहाँको जीवनसङ्गिनी कमरेड लक्ष्मी चौलागाईंले चर्चा पनि गर्नु भएको छ । यसले के कुरा प्रस्ट हुन्छ भने वैचारिक विषयमा उहाँको दृष्टिकोण सहि थियो भन्ने कुरा घटनाक्रमले एक पछि अर्को रूपमा स्पष्ट गरेको छ । जतिबेला जनमुक्ति सेनालाई नेपाली सेनामा ‘समायोजन’ गर्ने निर्णय भयो, त्यतिबेला नै आफ्नो असहमती राखेर आएको जुन चर्चा कमरेड लक्ष्मीले गर्नु भएको छ त्यो नवसंसोधनवादका विरुद्धको आक्रोश नै थियो । यद्यपि त्यसले त्यस्तो कुनै सङ्गठित रूप नलिएकोले त्यसबारेमा त्यति चर्चा परिचर्चा भएको भने पाइँदैन । यो विषयमा बेग्लै बहस र छलफल हुँदै जाला । कमरेड संसारसेनले जसरी सर्वहारा श्रमजिवीवर्गको पक्षमा पैरवी गर्दै असमानता, विभेद, अन्याय र अत्याचार विरुद्ध आफूलाई उभ्याउनु भयो त्यो बाटोलाई आत्मसाथ गरेर नै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिने छ । त्यसप्रकारको कार्यले कमरेड संसारसेनप्रति पनि सम्मान गर्न अभिप्रेरित गर्ने छ ।

पार्टी सङ्गठनमा २०५४ सालदेखि पूर्णकालिन भएर निरन्तर काम गर्दै आएको एउटा अथक योद्धा शान्ति प्रक्रिया पछि किन निजी काममा उत्प्रेरित हुन पुग्यो ? यो प्रश्नको उत्तर सजिलै खोज्न सम्भव नहोला । तर त्यो प्रश्नको उत्तर खोज्नु पर्दछ र त्यसको कारणमै सायद उहाँको असामयिक निधन जोडएको त छैन ? यसप्रति पनि ध्यान जानुपर्ने देखिन्छ । जनमुक्ति सेनालाई नेपाली सेनामा विलय गर्ने नेतृत्वको नीतिप्रति असहमती र आक्रोश सङ्गै कमरेड संसारसेन (बिरबहादुरर कामी) र कमरेड लक्ष्मी चौलागाईं प्रतिज्ञा पारिवारिक काममा जोडिन पुग्नुमा पारिवारिक समस्या मात्रै थियो वा राजनीतिक कारण पनि । यो विषय पनि अनुउत्तरित नै छ । कमरेड संसारसेनका पछिल्ला भनाई र लेखाईले त्यो विषयलाई एक हदसम्म उत्तर दिन कोशिस गरेको पाइन्छ । जस्तो तत्कालिन पार्टीले शान्ति प्रक्रियामा आएपछि जुन कार्यदिशा अवलम्बन गर्यो त्यसप्रति विश्वास घट्दै गएको र पछि क्रान्तिकारी माओवादीको निर्माणपश्चायत आफू मलेसियामा रहेको अवस्थामा पनि कमरेड लक्ष्मी चौलागाईंलाई उक्त पार्टीमा सङ्गठित हुन जुन प्रोत्साहन गर्नु भयो त्यसले उहाँको मुख्य चिन्ता क्रान्तिकारी विचारप्रति थियो भन्ने नै देखिन्छ ।

यसरी हेर्दा क्रान्तिकारी विचार र आन्दोलनप्रति उहाँ कति सम्वेदनशिल हुनुहुन्थ्यो भन्ने कुरा प्रष्ट हुन्छ । त्यति मात्र होइन, बाँके र बर्दियाको नेतृत्व सम्हाल्दै आउनु भएको कमरेड भुपेन्द्रसङ्ग आफू अब छिट्टै देशभित्र आउने र पार्टीको आवश्यकताअनुसार जुनसुकै जिम्मेवारी लिन तयार रहेको कुरा बताउँदै आउनु भएको थियो, तर उहाँका ती सपनाहरू अधुरा नै रहे । कमरेड संसारसेनको पार्टी र क्रन्तिप्रतिको त्यो अटल विश्वास निष्ठा, लगाव र दृष्टिकोणको उच्च सम्मान गर्दै उहाँले कम्युनिस्ट आन्दोलनमा गरेका योगदानलाई प्रकाशनमार्फत् बाहिर ल्याउने जुन कोशिस भएको छ त्यसले क्रान्तिकारी आन्दोलनमा समेत महत्व राख्दछ । त्यसैले उहाँका स्मरणमा स्मृतिग्रन्थ निकाल्ने प्रस्ताव कमरेड लक्ष्मी चौलागाईंले जतिबेला पार्टीमा राख्नु भयो त्यसलाई आत्मसात गर्दै पार्टीले एउटा कार्यदल नै बनाएर त्यो काम अगाडि बढाउने निर्णय गरेको थियो ।

कमरेड बिरबहादुरर कामी (संसारसेन पृथक) जसले छोट्टै समयमा नेपालको कम्युनिस्ट आन्दोलन विशेषत: दस बर्से जनयुद्धका क्रममा आफ्नो मेहनत र क्षमताद्वारा गर्नु भएका महत्वपूर्ण कार्यहरूको सार्वजनिक गर्दा उहाँका योगदानको मात्र कदर हुने छैन, स्वयम् कम्युनिस्ट आन्दोलन र प्रगतिशील विचारको पक्षलाई बलियो र उज्ज्वल बनाउने छ । कमरेड संसारसेनले आन्दोलनमा सहभागी हुँदा आर्जन गरेका अनुभव र अनुभूतिहरूलाई बस्तुपरक रूपमा प्रस्तुत गर्न सकियो भने नै उहाँप्रति न्याय हुनेछ । अन्त्यमा कम्युनिस्ट आन्दोलनका तेजस्वी नक्षेत्र कमरेड संसारसेनमा हार्दिक श्रद्धासुमन ।