युद्धमा लड्दालड्दै
हिमालझैं गह्रौँ मृत्युवरण गर्दा उसले
म त्यति शोकले पराजित भइन होला
सँगै हिँडेका सहयोद्धाहरू
हराउँदा यात्राबाटै म त्यति सन्तप्त भइन होला
ज‚तो शोक एउटा मनाइरहेछु तिम्रो मृत्युमा ।

तिम्रो मृत्यु थिएन शरीरको भौतिक अवशान
न ढल्यौ दुश्मनको निर्दयी गोलीले
सम्साँझै घरभित्रैबाट न तिमी पारिएका हौ
कुनै अनाम प्रदेशतिर गुमनाम
तिमी त लड्दालड्दै युद्धका मोर्चाहरूमा
अनायास हार्‍यौ आफैभित्रको अदृश्य युद्धको मोर्चामा
सँगसँगै गरेका छौ युद्धको अन्त्यको घोषणा
तिमी पराजित भएका छौ आफैसँग
कसरी चढाऊँ शोकसँगै श्रद्धाञ्जली यतिखेर
मन सोधिरहेछ तिमीलाई
युद्ध सकिएको हो बाहिर या तिमीभित्र ?
इतिहासको गति रोकिएको हो या तिम्रो गति ?
परिवर्तनका पदचापहरू बन्द भएका हुन् या तिम्रा पाइलाहरू ?

सहिद हुन्थ्यौ भने दुश्मनको गोलीले
आँसुसँगै चढाउँथे श्रद्धाञ्जलीका फूलहरू
युद्धमोर्चामा मारिन्थ्यौ भने
या चढाइन्थ्यौ फाँसीको फन्दामा
बिछोडको पीडासँगै शोकलाई शक्तिमा बदल्दै
गर्वले उठाउँथेहुँला दह्रिला मुठी
आफूभित्रकै युद्धमोर्चामा युद्धको अन्त्य घोषणा गर्दा तिमीले
तिम्रो यो मृत्युमा म कस्तो शोक गीत गाउँ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार