सुकुम्बासी चेपाङहरुहरुलाई उठिबास लगाएको घटनाको विरोधमा क्रान्तिकारी माओवादी चितवनले मंगलबार विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति : २०७७ श्रावण ५


चितवन । चितवनको माडी नगरपालिका–९ कुसुमखोलास्थित सुकुम्बासी चेपाङ बस्तीमा निकुञ्ज प्रशासनले आगजनी र हात्ती लगाएर घरहरु भत्काई सुकुम्बासी चेपाङहरुलाई उठीबास लगाएको घटनालाई अमानवीय, क्रूर र निर्लज्ज कार्य भन्दै उक्त घटनाको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)ले मंगलबार चितवनको चौबीसकोठीमा विरोध प्रदर्शनको आयोजना गरेको छ । घटनाको विरोधमा वक्तव्य जारी गर्दै जिल्ला पार्टीका सचिव अशोक शर्माले घटनाबाट घरबारविहीन बन्न पुगेका सुकुम्बासीहरुलाई तुरुन्त आवास, खाद्यान्न र लत्ताकपडाको व्यवस्था गरी दोषीहरुमाथि कडा कारबाही गर्न जोडदार माग समेत गरेका छन् ।
वक्तव्यमा क्रान्तिकारी माओवादी र अखिल नेपाल क्रान्तिकारी सुुकुम्बासी संघको संयुक्त आयोजनामा उक्त घटनाको विरुद्धमा मंगलबार गरिने विरोध कार्यक्रममा सहभागि हुन सम्पूर्ण पार्टीपंक्ति, किसान, मजदुर तथा भुमिहीन सुकुम्बासी जनसमुदायलाई हार्दिक अपिल समेत गरिएको छ ।
सातवटा हात्ती लिएर राष्ट्रिय निकुञ्जका २०÷२२ जना मान्छेहरुले १० जनाको घरमा शनिबार आगो लगाउने र भत्काउने काम गरेका थिए । चितवनको माडीमा बाँदरझुला र कुसुमखोला दुई ठूला सुकुम्बासी बस्ती छन् । बाँदरझुलामा ४७ सालपछि र कुसुमखोलामा ५३ सालतिर मान्छेहरु गएर बस्न थालेका हुन् ।