विषादीयुक्त खाद्य–सामग्री आयात गर्ने निर्णय खारेज गरः देजमो

भारतीय विस्तारवादसामु ओली सरकार लम्पसार

प्रकाशित मिति : २०७६ असार २२


काठमाडौं । सरकार भारतीय दबाबसामु लम्पसार परेको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालले नेपाली उपभोक्ताहरुको जनस्वास्थ्यमा गम्भीर आघात पुग्ने गरी विषादीयुक्त खाद्य–सामग्री परीक्षण नगरी आयात गर्ने भनी गरेको सरकारी निर्णय अविलम्ब खारेजीको माग गरेको छ ।
मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, “सरकारले यहि असार २ गते राजपत्रमा प्रकाशित गरी भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने भन्ने निर्णय सार्वजनिक गरेको थियो । तर १२ दिनमै भारत सरकारद्वारा लिखित रुपमै यो निर्णय फिर्ता गर्न दवाव आएपछि सरकारले लम्पसार परेर उक्त निर्णय फिर्ता गर्ने निर्णय गरेको छ । जनस्वास्थमा घातक असर पार्ने यो निर्णय तुरुन्त खारेज गर्न सरकार सँग जोडदार माग गर्दछौं ।’