माओवादी नेता कमरेड श्रीनाथ अधिकारी‘श्याम’को निधन

प्रकाशित मिति : २०७६ असार २२

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट व्यूरो सदस्य तथा माओवादी आन्दोलनका एकजना सुपरिचित निष्ठावान माओवादी नेता श्रीनाथ अधिकारी‘श्याम’को निधन भएको छ । विगत ८ महिनादेखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका माओवादी नेता कमरेड श्यामको उपचारकै क्रममा आज बेलुका ८ बजेर २ मिनेट जाँदा चिकित्सकहरुले मृत घाषित गरेको छोरा नारायण अधिकारीले जानकारी दिए । नेता अधिकारीको निधनको खबर लगत्तै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ लगायत पार्टीका नेता कार्यकर्ताहरुको अस्पताल पुगेका छन् ।

कमरेड श्यामको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि विहान ९ बजेदेखि १२ बजेसम्म क्रान्तिकारी माओवादीको पार्टी कार्यालय कुपण्डोलमा राखिने जनाइएको छ ।

दिवंगत नेता अधिकारीका एक श्रीमती, तीन भाइ छोरा र दुई वहिनी छोरी रहेका छन् । जेठो छोरा नारायण अधिकारी ‘निश्चल’ क्रान्तिकारी माओवादीकै केन्द्रीय सदस्य रहेका छन् ।

गएको पुस २९ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना हुनुभएका उहाँलाई थप उपचारको लागि बैशाख २७ गते हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा ल्याइएको थियो । फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो । नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गर्नुभएको थियो भने आइतबार सत्तारुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठ, देजमोका अध्यक्ष सिपी गजुरेललगायतका नेताहरुले भेट गरेका थिए ।

विसंं २०१२ सालमा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिनुएका नेता अधिकारी वि.संं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको थियो । उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धारामा उभिदै आउनुभएको थियो । गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलनको संस्थापक समेत रहनु भएका नेता अधिकारी एक इमान्दार र निष्ठावान क्रान्तिकारी नेता हुनुहुन्थ्यो । मालेमावादी दर्शनको क्षेत्रमा उहाँको विशेष दख्खल रहेको थियो ।