क्रान्तिकारी माओवादीका पीवीएम श्रीनाथ अधिकारी आइसियूमा, पछिल्लो स्थिति बुझ्न पार्टी महासचिव किरण पुगे अस्पताल

प्रकाशित मिति : २०७६ असार २२


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम श्रीनाथ अधिकारीको स्वास्थ्य स्थिति दिनदिनै गम्भीर बन्दै गएको छ । पछिल्ला केही दिनयता स्वास्थ्य स्थिति गम्भीर बनेपछि अहिले आइसियूमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ । नेता अधिकारीको पछिल्लो स्वास्थ्य स्थिति बुझ्न शनिबार पार्टी महासचिव मोहन वैद्य‘किरण’ हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पताल पुगे । महासचिव किरणसँगै पार्टी स्थायी समिति सदस्य हरिभक्त कँडेल‘प्रतीक’ पनि नेता अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका थिए ।


आइसियूमा रहेका नेता अधिकारीलाई भेटेर महासचिव किरणले ‘अहिले कस्तो छ तपाइँलाई ?’ भन्दा नेता अधिकारीले (मुस्किलले) ‘श्वास फेर्न गाह«ो भएको छ’ भन्दै भावुक बनेका थिए ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेता अधिकारीको स्वास्थ्य स्थिति दिनदिनै गम्भीर बन्दै गएको छ । नेता अधिकारीको स्वास्थ्य स्थिति बुझ्न दिनदिनै क्रान्तिकारी माओवादी लगायत विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु, आफन्त तथा नातेदारहरु अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)को हालै असार १२ देखि १७ सम्म सम्पन्न केन्द्रीय समितिको बैठकले नेता अधिकारीको स्वास्थ्य लाभको कामना गर्दै एउटा प्रस्ताव समेत पारित गरेको थियो । पार्टी तथा परिवारका सदस्यहरुले नेता अधिकारीहरुको उपचारमा हरसम्भव प्रयास जारी राखेका छन् ।
नेता अधिकारीको पौष १९ गतेदेखि निरन्तर अस्पतालमा भर्ना भई उपचार भइरहेको छ । सुरुमा चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख २७ गतेदेखि हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । नेता अधिकारी फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ ।


नेता अधिकारीलाई एक इमान्दार, त्यागी, निष्ठावान, आदर्शयुक्त व्यक्तित्वका धनी नेताको रुपमा स्थापित हुनुहुन्छ । उहाँ गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलन तथा पार्टीको संस्थापक नेता समेत हुनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोलन खासगरी माओवादी आन्दोलनका सबै धाराका नेता कार्यकर्ताहरुले उहाँलाई एक अनुकरणीय व्यक्तित्वको रुपमा लिने गर्दछन् र त्यही रुपमा सम्मान समेत प्रकट गर्ने गर्दछन् ।