माक्र्सवादको संरक्षण र विकासको कुरा

प्रकाशित मिति : २०७६ असार २१

- कृष्णदास श्रेष्ठ

वर्तमान समयमा कुनै पनि मुलुकका कम्युनिस्ट पार्टी र कम्युनिस्टहरु माक्र्सवादलाई आफ्नो कार्यमा निर्देशक सिद्धान्तको रुपमा मान्ने गर्छन, र त्यही अनुसार उनीहरु त्यसप्रति आपूmहरु निष्ठावान रहेको बताउँछन् । सिद्धान्त प्रतिको तिनीहरुको निष्ठा मुख्य रुपमा दुई ढङ्गबाट व्यक्त हुने गरेको पाइन्छ — जडसूत्रवादी ढङ्गबाट र सिर्जनात्मक ढङ्गबाट । यही यथार्थ तथ्यको आधारमा स्टालिनले दुई खालको माक्र्सवाद रहेको बताएका छन् — जडसूत्रीय माक्र्सवाद र सिर्जनात्मक माक्र्सवाद ।

माक्र्सवादप्रति निष्ठा व्यक्त हुने तरिका त्यसप्रतिको दृष्टिकोणसित सम्बन्धित सवाल हो । माक्र्स, लेनिन, माओ आदिबाट धेरै पहिले निकालिएका निष्कर्षहरुलाई शाश्वत सत्यको रुपमा लिनु र ती सदासर्वदा साँचो रहन्छन् भन्ने ठान्नु कदापि माक्र्सवादसम्मत कुरा होइन । माक्र्सवादका समर्थकहरुमध्ये कोही कोहीमा कस्तो प्रवृत्ति देखिएको छ भने वास्तविक सामाजिक प्रक्रियाहरुको अध्ययन र विश्लेषण गर्नुको साटो माक्र्स, लेनिन आदिका भनाइहरुलाई तिनको ऐतिहासिक सन्दर्भबाट अलग पारेर तिनलाई आफ्नो भनाइसित मिल्दो पार्न गलत व्याख्या गरिन्छ । वास्तविक तथ्यहरुको आधारमा सत्यको खोज गर्नुको सट्टामा, सूत्रहरुको मद्दतबाट तर्क गर्नु र माक्र्सवादलाई धार्मिक सूत्रहरुको समाष्टिको रुपमा व्यवहार गर्नु एउटा जडसूत्रवादी तरिका हो । माक्र्स, लेनिनका निष्कर्षहरुलाई ती कुन परिस्थिति र वातावरणको परिप्रेक्षमा निकालिएका हुन् त्यसको बेवास्ता गरिएमा र ती परिवर्तित परिस्थितिमा पनि लागू रहन्छन् भनी सोचिएमा त्यो शुद्ध जडसूत्रवाद हुनेछ । उपरोक्त जडसूत्रवादी तरिका र ती निष्कर्षलाई अभिनिर्देशको (reference) रुपमा प्रयोग गर्ने तरिका एकदमै फरक कुरा हुन् । “माक्र्सवाद कुनै जडसूत्र होइन ……..” भन्ने भनाइले त्यसको माक्र्सवाद–विरोधी रुपलाई स्पष्टसित संकेत गर्दछ, र माक्र्सवादका संस्थापकहरुले त्यसको दृढ रुपमा विरोध गरेका छन् । धेरै पहिले नै माक्र्सले भनेका थिए ः “हामी कुनै जडसूत्रवादी झण्डा नउठाऔं भन्ने मेरो प्रस्ताव छ ।” (माक्र्स र एन्जेल्स, “संकलित रचनाहरु”, भाग १, पृष्ठ ४१६)

यहाँ एउटा प्रश्न उठ्दछ ः माक्र्सवादको संरक्षण गर्नु भन्नाले हामीले के बुझ्नुपर्छ ? के त्यसको अर्थ माक्र्स, एन्जेल्स, लेनिन, स्टालिन र माओले जे जति लेखेका छन् र आ–आफ्नो समय र परिस्थितिको परिप्रेक्ष्यमा जे जस्ता निष्कर्षहरु निकालेका छन्, ती सबैलाई शाश्वत सत्य मानेर ग्रहण गर्नु हो ? यदि त्यसप्रति निष्ठाको नाउँमा कसैले त्यस गर्छ, त्यो वास्तविक संरक्षण नभएर यान्त्रिक नक्कल वा अन्धविश्वास मात्र हुनेछ ?

त माक्र्सवादको संरक्षण भन्नाले कुन कुरालाई जनाउँछ ? त्यसको वास्तविक अर्थ माक्र्सवादको सर्वव्यापी सत्यको समर्थन र संरक्षण हो, जुन त्यसका आधारभूत सिद्धान्तहरुमा निहित रहेको छ । ती त्यस्ता सिद्धान्त हुन्, जसलाई हर समयको विद्यमान, ठोस विकासमा देखापर्ने नयाँ समस्याहरुको उचित समाधान निकाल्नमा लागू गर्न सकिन्छ । ती त्यस्ता सिद्धान्त हुन्, जसले संसारलाई बुझ्ने र बदल्ने कार्यमा वैज्ञानिक साधनको काम गर्छन । उक्त सिद्धान्तहरुको मूल आधार भनेका त्यसका दार्शनिक विश्व–दृष्टिकोण र विधिशास्त्र हुन्, जुन हाम्रो जमानाको महान वैज्ञानिक सत्य रहेको छ । उक्त सत्यप्रति दृष्टिकोण (attitute) सबभन्दा मुख्य तत्व हो जसको आधारमा जो कोहीको त्यसप्रतिको निष्ठाको जाँच गरिनुपर्छ । अर्थात् माक्र्सवादको संरक्षण र विकासलाई उपरोक्त विश्व–दृष्टिकोण र विधिशास्त्रको केन्द्रबिन्दुबाट हेरिनुपर्छ, र यहीबाट नै कसैको निष्ठाको जाँच हुनुपर्छ ।

हाम्रो मुलुकमा माक्र्सवादको संरक्षणको सवाल हामी नेपाली कम्युनिस्टहरु सामु रहेको एउटा जल्दो सवाल हो । यो नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक चिन्तनको क्षेत्रमा व्याप्त रुपमा फैलिएका संशोधनवादी, अवसरवादी र अन्य गैर–सर्वहारा प्रवृत्तिहरुको विरुद्ध दृढ सङ्घर्ष चलाउने, आम कम्युनिस्ट तथा क्रान्तिकारीहरुलाई त्यसको प्रभावबाट मुक्त पार्ने, र त्यसभित्र माक्र्सवादलाई स्थापित गर्ने सवाल हो । हाम्रो आन्दोलनभित्र जम्मा भएका फोहरहरुलाई माक्र्सवादी कुचोले बढारेर नपठाएमा, तिनले त्यसलाई नराम्ररी प्रभाव पारिरहेका हुन्छन् । यो सवाल कम्युनिस्ट आन्दोलनलाई पुँजीवादी सुधारवाद, र उदारतावादको धापमा पार्न चलिआएको दृष्प्रयासलाई विफल पार्ने सवाल हो । माक्र्सवादी सत्यको स्थापना, संरक्षण र विजय संशोधनवादी तथा अवसरवादी झुटहरुको विरुद्ध सङ्घर्षमार्फत हुनसक्ने एउटा सुविदित तथ्य हो ।

संशोधनवाद र अवसरवाद विरुद्ध सङ्घर्षमा सहभागितामार्फत माक्र्सवादप्रति निष्ठा व्यक्त हुने तरिका एउटा प्रतिरक्षात्मक तरिका हो, अर्थात् यसको उद्देश्य माक्र्सवादका आधारभूत सिद्धान्तहरुप्रति फैलाइएको भ्रम तथा अपव्याख्याको पर्दाफास गरी त्यसलाई स्पष्ट पार्नु, वा त्यसप्रति कसैबाट उठाइएका विरोधको जवाफमा त्यसको औचित्यलाई सावित गर्नु हो । माक्र्सवादका सिद्धान्तलाई विकृत रुपमा प्रस्तुत गर्ने, त्यसको भ्रष्टीकरण गर्ने, वा त्यसको गलत व्याख्या गर्ने प्रयासहरुको स्थितिमा, उपरोक्त कार्य निश्चय पनि आवश्यक र उपयोगी छ, तर त्यसको क्रियाशीलता सीमित खालको रहन्छ, अर्थात् सो कार्य त्यसलाई धान्न सक्ने खालको रहँदैन । कुनै पनि सिद्धान्तको वास्तविक संरक्षण र त्यसको जीवन्तताको प्रमाणीकरणका लागि प्रतिरक्षात्मक तरिका मात्र पर्याप्त रहँदैन । त्यसको लागि अर्को तरिकाको आवश्यकता रहन्छ, र त्यो हो सिर्जनात्मक तरिका, कामकाजी तथा प्रगतिशील तरिका । माक्र्सवादी सिद्धान्तको मामिलामा, त्यसको अर्थ र तात्पर्य हो वर्तमान समयका ठोस अवस्थाहरुको वैज्ञानिक व्याख्या–विश्लेषण गर्नमा र त्यसले प्रस्तुत गरेका नयाँ समस्या र अभिभाराहरुलाई सम्बोधन गर्न र तिनको समाधानको उपाय निकाल्नमा माक्र्सवादी दृष्टिकोण र विधिशास्त्रको उचित रुपमा प्रयोग गर्नु ।
यहाँ कुन कुरा ध्यानयोग्य छ भने माक्र्सवादको सिर्जनात्मक प्रयोगको सबभन्दा प्रमुख पक्ष वर्तमान समयका ठोस, वस्तुगत अवस्थाहरुको अध्ययन तथा विश्लेषणमा, राजनीतिक–व्यावहारिक सङ्घर्षमा उत्पन्न समस्याहरुको समाधानमा माक्र्सवादी (द्वन्द्वात्मक भौतिकवादी) तरिकाको प्रयोग गर्नु हो, जसले गर्दा सम्बन्धित विषयबारे वैज्ञानिक समझदारी र समाधानको सही उपाय हासिल गर्न सकिनेछ । अर्को शब्दमा, यहाँ माक्र्सवादीहरुले आफ्नो मुलुकको क्रान्तिकारी आन्दोलनको ठोस यथार्थतासित माक्र्सवादी सिद्धान्तलाई एकजुट पार्नु सबभन्दा प्रमुख कुरा हो, जसले गर्दा माक्र्सवादले सम्बन्धित मुलुकको माटोमा जरा गाड्न र मूर्त रुप लिन सक्नेछ ।

क्रान्तिको ठोस यथार्थतासित माक्र्सवादी सिद्धान्तलाई एकजुट पार्नु, त्यसको उचित प्रयोग गर्नु भनेको त्यसको जीवन्तता र परिवर्तनकारी शक्तिलाई अभिव्यक्ति प्रदान गर्नु हो । त्यसका साथै, व्यवहारमा प्राप्त हुने नयाँ अनुभवहरु र ज्ञानबाट सिक्दै र त्यसबाट सही निचोडहरु निकाल्दै माक्र्सवादलाई समृद्ध र विकसित गर्दै जानु त्यसप्रतिको निष्ठाले अपेक्षा गर्ने कुरा हो । लेनिन र माओले आ–आफ्नो मुलुकको क्रान्तिको यथार्थतामा त्यसलाई ठीकसित लागु गर्दै र क्रान्तिकारी व्यवहारमा प्राप्त अनुभवबाट नयाँ निष्कर्षहरु निकाल्दै त्यसलाई समृद्ध र विकसित गरेका थिए । ऐतिहासिक यथार्थता र त्यसको विकाससित माक्र्सवादलाई एकजुट पार्नु नै त्यसप्रतिको सच्चा निष्ठा हो ।

समाज गतिशील र परिवर्तनशील छ, इतिहास एक युगबाट अर्को युगमा संक्रमण गर्दै अघि बढ्छ, युगमा हुने परिवर्तनसँगै नयाँ परिस्थिति पैदा हुन्छन्, र त्यसैले माक्र्सवादको लागि बदलिँदो परिस्थितिसित आपूmलाई समायोजित गर्न आफ्नो विकासको आवश्यकता पर्दछ, र त्यस ढङ्गबाट माक्र्सवादको विकास हुँदै आएको हामीले देखेका छौं । तर, विकासको अर्थ माक्र्सवादी प्रस्थापनालाई जथाभावी ढङ्गले अथ्र्यायनु, वा आपूmलाई मनलागेको विचार वा धारणा त्यसमा थप्नु, वा माक्र्सवाद विपरित कुरा ल्याएर त्यसमा घुसाउनु कदापि होइन, जुन कुरा अहिले हाम्रो सैद्धान्तिक, फाँटमा भइरहेको हामी देखिरहेको छौं । हाम्रो मुलुकमा आपूmलाई माक्र्सवादी सिद्धान्तकार ठान्ने कतिपयले त्यसमा पुँजीवादी, वा निम्न–पुँजीवादी धारणा घुसाएर त्यसको विकृतीकरण वा सारसंग्रहवादीकरण गर्न खोजिरहेका छन् । त्यस्ता तत्व भनेका मुख्य रुपमा हाम्रो कम्युनिस्ट आन्दोलनभित्रका संशोधनवादी र अवसरवादीहरु हुन् । उक्त तत्वहरुले आफ्ना उदार–सुधारवादी राजनीतिलाई अघि बढाउन माक्र्सवादको विकासको नाउँमा उपरोक्त खालको काम गरिरहेका छन् । स्पष्ट छ, तिनीहरुको त्यस्तो कार्यबाट हुने कुरा माक्र्सवादको विकास होइन, बरु पुँजीवादी उदारतावाद र सुधारवादमा त्यसको अधपतन हो ।

माक्र्सवादको सिद्धान्त आकस्मिक रुपमा पैदा भएको कुनै चीज होइन । त्यो त इतिहासको उपज हो । इतिहासको उपजको रुपमा त्यसको विकास इतिहासको विकाससँगसँगै हुनै पर्छ । समय र परिस्थितिमा निरन्तर भइरहने परिवर्तनहरुसित माक्र्सवादलाई समायोजित गर्न त्यसको विकास हुनु एउटा अनिवार्य आवश्यकता हो । त्यसो भएन भने, त्यो एउटा जड वस्तु बन्नेछ । इतिहासको विकासको सिलसिलामा देखापर्ने नयाँ ऐतिहासिक तथ्यहरुलाई पहिले स्थापित निष्कर्षसित मिलाउन त्यसको तोडमरोड गर्नु कदापि उचित हुन्न, बरु ती तथ्यहरुको आधारमा निस्कने नयाँ निष्कर्षहरुलाई आत्मसात् गर्दै त्यसको विकास गर्नुपर्दछ । सामाजिक जीवनमा उत्पन्न हुने गम्भीर तथा जटिल समस्याहरुलाई माक्र्सवादीहरुले आलटाल गरेर पन्छाउने कदापि गर्नु हुन्न, बरु तिनीहरुले त्यस्ता समस्याहरुको पहिचान गर्ने, तिनलाई सम्बोधन गर्ने र तिनको समाधान पत्तालाउने गर्नुपर्छ । त्यसको लागि तिनीहरुले वस्तुगत यथार्थताको गहन रुपमा अध्ययन गर्ने र मानवजातिले प्राप्त गरेका कामलाग्दो ज्ञानलाई आत्मसात गर्नु आवश्यक छ ।

यदि माक्र्सवादको विकास हुने हो भने, त्यसको सो विकास त्यसको आफ्नै आधारमा हुनुपर्छ । त्यसको विकास गर्ने काममा पूरा गर्नु पर्ने सबभन्दा प्राथमिक पूर्वशर्त के हो भने त्यसमा थपिने कुरो माक्र्सवादसम्मत हुनुपर्छ र त्यो माक्र्सवादको आधारमा निकालिने व्यावहारिक अनुभवको, ऐतिहासिक अनुभवको उचित निचोड हुनुपर्छ । त्यस सम्बन्धमा अर्को महत्वपूर्ण कुरो के छ भने माक्र्सवादको विकासको नाउँमा थपिने कुनै पनि प्रस्थापना पूरै रुपले तर्कसंगत हुनुपर्छ । यो शर्त एकदमै महत्वपूर्ण छ, किनभने तार्किकताबिनाको कुनै पनि धारणा कदापि ग्रहण–योग्य हुन सक्दैन ।