बंगलादेशद्वारा अफ्गानिस्तान पराजित

प्रकाशित मिति : २०७६ असार १०

काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान बंगलादेशद्वारा पराजित भएको छ । साउथह्याम्पटनको क्रिकेट रंगशाालामा भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको हो । साउथह्याम्पटनको द रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा सबै विकेट गुमाएर २०० रनमा समेटिएको थियो ।

अफगानिस्तानका लागि शामिउल्लाह शिनवारी अविजित रहँदै सर्वाधिक ४९ रन बनाए भने कप्तान गुल्बादीन नाइबले ४७ रन जोडेका थिए । रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाएका थिए । अफगानिस्तानलाई सस्तैमा रोक्न बंगलादेशका शकिब अल हसन हिरो बने । उनको किफायती बलिङ गरे ।

अफगानिस्तानविरुद्ध अलराउण्डर प्रदर्शन गरेका हसनले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिएका थिए । योसंगै शकिब एकदिवसीय विश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी खेलाडी बनेका छन् ।

त्यस्तै शकिब एकै विश्वकपमा शतक र ५ विकेट पनि लिने तेस्रो खेलाडी बनेका छन् । उनि एकै खेलमा अर्धशतक र ५ विकेट लिने दोस्रो खेलाडी समेत बनेका छन् । यस्तै बंगलादेशका लागि मुस्ताफिजुर रहमानले २ विकेट लिएका थिए ।