गृहमन्त्री थापा र प्रहरी प्रमुख खनालले संसदमा जबाफ दिए– ‘पौडेलको विगत हेरेर भए पनि मुठभेड मानिदिनु पर्यो’

पौडेल हत्या प्रकरणमा सरकार पूर्वाग्रही रहेको खुलासा

प्रकाशित मिति : २०७६ असार ११

काठमाडौं । वर्तमान ओली सरकार जनता र राजनीतिक पार्टीहरुप्रति निकै नै पूर्वाग्रही छ । पूर्वाग्रहका कारण यसले जनतामा सरकारीतहबाटै विभेद गर्ने गरिरहेको छ । यही विभेदको सिकार भइरहेका छन्, जनता र राजनीतिक पार्टीहरु ।
दुईतिहाई बहुमत भने पनि ओलीको सरकार आफैमा खिचडी सरकार हो । यसमा राजनीतिक पूर्वाग्रह भएका समूह तथा झुण्डहरु सामेल छन् । एकले अर्कालाई भौतिक रुपमै कसरी सिध्याउने भन्ने ध्याउन्नमा रहेका यी खेमाहरु सरकार र सरकारी संयन्त्रलाई दुरुपयोग गरिरहेका छन् ।
वैचारिक रुपमा समस्याको समाधान गर्ने हैसियत र ख्वाब पनि नराख्ने तर अरुले कुनै कुरा उठायो भनेर निकै जलन हुने कमसल चेतनाका सिकारहरु अहिले सरकारमा आसिन हुन पुगेकामा शंका छैन । देशको वर्तमान समस्या र अन्तरविरोध यिनीहरुको सोच, चेतना र पहुँचको सीमाभन्दा धेरै टाढा छ ।
दलाल प्रवृत्तिका सिकार यी सत्तासिनहरु स्वचेतनाले परिचालित पनि हुन सकेका छैनन् । ‘जताजता काफल पाक्यो, उतैउतै चरी नाच्यो’ को उखानलाई चरितार्थ गर्ने सत्तासिनहरु फरक मत, भिन्न मत वा केही अग्रगामी सोचलाई उनीहरुको भविष्य लिलाम गर्ने अस्त्रको रुपमा देख्न पुग्छन् र आतंकित मानसिकताका साथ दमन, हत्या, प्रतिबन्ध र ग्वेवेलियन प्रचारमा उत्रन्छन् ।
विप्लव नेकपाका कुमार पौडेलको हत्या ठीक यसै कारणले गरिएको हो । उनको हत्यासँगै फासीवादी श्वेत आतंको भरपूर सुरुआत गरिएको छ । कुमार पौडेलहरुको हत्या गरेर फरक सोच र मतमाथि पूर्वाग्रहका साथ दमनमा उत्रिएको फासीवादी सरकारले युद्धपिपासु प्रवृत्तिलाई बढावा दिंदै गएको छ ।
राजनीतिक पार्टीहरु र जनताले ओली सरकारको फासीवादी यात्रा तुरन्त रोक्न र फरक विचारको सम्मान गरी प्रतिबन्ध रोक्न सचेत गराइरहका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पनि कुमार पौडेल भिडन्तमा नमारिएको प्रारम्भिक निष्कर्ष निकाल्दै ओली सरकारलाई चेतावनीको औंला ठड्याएको छ ।
कहिले दोहोरो भिडन्तमा मारिएको, कहिले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएको, त कहिले नियन्त्रणमा लिन गोली हानिएको जस्ता परस्पर विरोधी र मनोगत अभिव्यक्तिहरु आफैमा बनावटी र हास्यास्पद छन् । देशका गृहमन्त्रीले समेत दोहोरो मुठभेडमै पौडेलको मृत्यु भएको भनेर संसदलाई ढाँट्ने र छल्ने काम गरिएको छ ।
कुनै पनि तर्क र छलले काम नगरेपछि गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख खनालले पौडेलको विगत हेरेर भए पनि उनी दोहोरो मुठभेडमै मारिएको बुझिदिनुपर्ने भनी सांसदहरूलाई आग्रह गरेका थिए । यो कुन हदसम्मको निचता र बेइमानी हो आफैमा स्पष्ट छ ।