असार १० : स्थानीय सरकारको बजेट भाषण

प्रकाशित मिति : २०७६ असार १०

काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार ७५३ वटै स्थानीय सरकारले आफ्नो वार्षिक बजेट आज पेश गर्दैछन् । यस वर्ष स्थानीय सरकारले निरन्तरतामा बजेट ल्याउन लागेका हुन् । केन्द्र र प्रदेश सरकारले बजेट पेश गरिसकेपछिको अवस्थामा बजेटको सीमा र स्रोतका आधारमा स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि गाउँ वा नगरसभामा बजेट पेश गर्न लागेका हुन् ।

देशभरका ७५३ वटा स्थानीय सरकारले पेश गर्ने अनुमानित बजेट ४ खर्बको हाराहारीमा हुने छ । सामान्यतया अधिकांश स्थानीय सरकारको बजेट केन्द्र सरकारले दिएको राजस्व बाँडफाँटको सिलिङ अनुसार हुने भएको छ । यसमा प्रदेश सरकारको अनुदान रकम पनि समाहित हुने छ ।

केन्द्र सरकारले जेठ १५ गते १५ खर्ब ३२ अर्बको बजेट पेश गरिसकेको छ भने प्रदेश सरकारले असार १ गते दुई खर्ब ५९ अर्ब रुपैयाँ बराबरको बजेट पेश गरेका छन् ।

स्थानीय सरकारका लागि सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिस्ट्रेसन, सवारीसाधन, भूमि, मनोरञ्जन, विज्ञापन र व्यवसाय कर आर्थिक स्रोतका रुपमा रहेका छन् । अन्तर सरकारी वित्त व्यवस्था ऐनले स्थानीय तहको सरकारलाई पनि घाटा बजेट पेश गर्न सक्ने व्यवस्था गरे पनि घाटा बजेट पेश गर्ने अवस्थामा स्थानीय सरकार छैनन् ।