नेकपामा कार्यदिशाको नक्कली विवाद र ओली–दाहालका ‘टाङमुनि पुच्छर’

प्रकाशित मिति : २०७६ असार १०

काठमाडौं । सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अहिले कायदिशाको विवादले अड्डा जमाएको छ । उक्त अड्डामा चलिरहेको विवाद वास्तवमा विचारको विवाद होइन । यो विवादको सुरुआत कुनै वैचारिक धरातलमा वा कुनै मतमतान्तरका कारण उब्जन पुगेको पनि होइन । केपी ओली र पुष्पकमल दाहालका बीचमा प्रधानमन्त्री वा पार्टी अध्यक्ष एक आपसमा बाँड्नु पर्ने पदीय भागबण्डको झगडाका कारण सिर्जना हुन गएको हो ।

वाम गठबन्धन बन्दाका बखत तात्कालीन माओवादी केन्द्रका नेताहरुले स्थानीय स्तरसम्म एउटा स्कुलिङ लगेका थिए, त्यो थियो ‘एमालेको ‘बहुदलीय जनवाद’ माकेको ‘एक्काइसौं शताब्दीको जनवाद’भन्दा एक कदम अघिको कुरा रहेछ, त्यसैले त्यसको निशर्त अंगीकरणमा नै गठबन्धनको भलो निहित छ ।’ यो कार्यदिशा र विचार संघर्षको अन्त्यको स्वीकृति थियो ।

हाल पदीय भागबण्डा नमिलेपछि कार्यदिशाको आवरणमा अघि सारिएको पूर्व एमाले र पूर्व माकेको कथित विचारको लडाइँ उनकै नेता तथा कार्यकर्ताहरुका लागि भेंडाको मुखमा कुभिण्डो साबित भएको छ । निल्न पनि नबन्ने र बोल्न पनि नबन्ने ।

‘आलोपालो प्रधानमन्त्री’बाट उठेको कुर्सीको किचलो बजेट भाषणपछि ‘मन्त्रीमण्डको हेरफेर’का कुरासम्म आइपुग्दा कार्यदिशाको आश्चर्यजनक बहसमा प्रवेश गरेको छ । कार्यदिशा बहसको रंगरोगनमा लेपित यो कुरा लाटो बुंगाको दन्ते कथामा लाटोले बुहारी खोज्दै गएकी सासुलाई ‘तिम्रो बुहारीको सिङ पनि थियो ? तिम्रो बुहारीको पुच्छर पनि थियो ?’ भनेर आश्चर्यजनक प्रश्नहरु सोधे जस्तै हो । कुरो त यथार्थमा के थियो भने बुहारीको न त सिंग नै थियो, न त पुच्छर नै ।

माकेले कुनै ‘सिङ’ वा ‘पुच्छर’ वा स्वत्व र पहिचानको कुरा, केही पनि नराखेर टाङमुनि पुच्छर लुकाई एमालेमा त्वं शरणम् गरेको थियो । मौखिक वा लिखित भागबण्डाका कुराहरु थिए होलान्, तर विचार, आदर्श र कार्यदिशाका कुराहरु माकेका केही पनि थिएनन् । एमालेलाई माके सजिलै बिलय भयो र ‘डाइजेष्ट’ भयो भन्ने नै परेको थियो ।

अहिलेका तनाव र ताण्डब सारमा जुँगाको लडाइँ र रुपमा कार्यदिशाको आवरण धारण गरेर आएको छ । तात्कालिन एमालेको बहुदलीय जनवाद र माकेको एक्काइसौं शताब्दीको जनवादमा सारमा फरक केही पनि छैन । एमालेले दाहिनेतिरबाट हात घुमाएर उही नाक छुने र माकेले देब्रेतिरबाट हात घुमाएर उही नाक छुने छलछाम र प्रपञ्च मात्र हो । कुरो फरक भनेको प्रक्रियागत हिसाबले कसले दाहिने र कसले देब्रेतिरबाट नाक छुने प्रयत्न गरे भन्ने मात्र हो ।

दुवै संसदीय व्यवस्थामा अबतरण र व्यवस्थापनका लागि हालिएका ओह्राला भर्याङ वा खुड्किला मात्र हुन् । नियतैले राम्रो गरी बनाइएका नर्कजाने बाटाहरु हुन् । यी दुवै समाजवादको सगरमाथा चढ्नका लागि बनाइएका स्वर्ग जाने आकाशिएका भर्याङ वा सिंढीहरु होइनन् ।
त्यसैले हाल देखिएको नेकपाका अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल बीच शीतयुद्ध संसदीय व्यवस्थाको लूटमा कसको कति हिस्सा रहने भन्ने भागबण्डाका लागि चलेको मनमुटाव मात्र हो । बरु ओलीकै नेतृत्वमा सरकार पुनर्गठन गरिने र दाहाल पक्षीय मन्त्रीहरु असक्षमताका कारण देखाएर बहिर्गमनका पारिने भएपछि तयसले आगोमा घ्यु थपेको मात्र हो ।

सञ्चारमाध्यममा प्रचारमा ल्याइए अनुसार यदि विचार वा कार्यदिशा वा धार आदिका कुरा भएका भए माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतम जनताको बहुदलीय जनवाद छोडेर दाहालको एक्काइशौं शताब्दीको जनवादमा आए त ? बहुदलीय जनवादको पक्षमा केपी ओली र ईश्वर पोखरेल तथा विष्णु पौडेल मात्र रहे त ? यस्ता विना आधारका कुराहरु आफैमा हाँसो उठ्दा छन् ।