सर्वोच्च धार्मिक नेता खामेनी निशानामा : अमेरिकी ‘युद्ध तृष्णा’

प्रकाशित मिति : २०७६ असार १०

काठमाडौं । अमेरिका–इरान रस्साकस्सी अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै धार्मिक नेता आयातोल्लाह अली खामेनीमाथि प्रतिबन्धसम्म पुगेको छ । यस अघि इरानको अन्तर्राष्ट्रिय आर्थिक गतिविधि ठप्प हुनेगरी लगाइएको प्रतिबन्ध हलसम्म जारी छ । तर यसैमाथि अरु थप प्रतिवन्धका रुपमा अमेरिकाले सर्वोच्च धार्मिक नेता खामेनीलाई केन्द्रीय निशाना पारेको हो । अमेरिकाको यो पछिल्लो कदमको विश्वमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

अमेरिकी राष्ट्रपतिको आशयमा यो नयाँ प्रतिबन्ध अमेरिकी मानवरहित विमान ड्रोन खसालिदिएको प्रतिशोधमा आएको देखिन्छ । इरानमाथि अमेरिका हालैका दिनमा समग्र युद्ध लड्न चाहेको देखा पर्दछ । धर्मिक नेता खामेनीमाथि प्रतिबन्धसँगै अमेरिकाले खामेनी निकै खतरनाक रहेको पनि बताएको छ ।

उता लामो समयदेखि इरानी जनतामाथि प्रतिबन्ध थोपर्दै आएको ट्रम्प प्रशासन पनि कम आलोचनाको पात्र बनिरहेको छैन । भेनेजुएलाको असीम तेल खानीमाथि हस्तक्षेपमा रुसी–भेनेजुएला आपसी सहयोगका काण विफल भएको अमेरिका इरानी तेलखानी हात पार्न निकै कडीकडाउ भएर लागेको छ । अमेरिकी आवश्यकता र चाहना अनुसार तेल लिन संझौताको माग गरिरहेको ट्रम्प प्रशासन निकै उत्तेजक व्यवहारका साथ इरानलाई पछ्याइरहेको छ ।

ट्रम्प प्रशासनको साम्राज्यवादी अतिक्रमणलाई इरानले ‘युद्धको तृष्णा’ भनी आलोचना गरेको छ । विवाद लम्बिदै जाँदा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले दुवै पक्षलाई शान्तिपूर्ण ढङ्गले कूटनीतिक बाटो अख्तियार गर्न सचेत बनाए पनि अमेरिका भने आफ्नो फौजी ताण्डब देखाउन आतुर देखिएको छ ।