बांगलादेशको शानदार जित

प्रकाशित मिति : २०७६ असार ३

काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले सानदार विजय हासिल गरेको छ । हाल जारी विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हराएर यो जित हात पारेको हो ।

सुरुमै टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २१ रन बनाउन सफल भएको थियो । वेस्ट इन्डिजतर्फ सेई होपको सर्वाधिक ९६ रन बनाएका थिए भने इभिन लुइसले ७०, सिमरन हिटमायरले ५०, जासोन होल्डरले ३३ र निकोलस पुरनले २५ रनको योगदान दिन सफल भएका थिए ।

बंगलादेशका मुस्ताफिजुर रहमान तथा मोहम्मद सइफुद्धिनले तीन–तीन विकेट लिए भने सकिब अल हसनले दुई विकेट लिए । जवाफमा ३ सय २२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर तीन बलमा तीन विकेट गुमाउँदै भेट्टायो । राम्रो सुरुवात गरेको बंगलादेशले ५२ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ओपनर सौम्य सरकार २९ रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि तमिम इक्वाल र सकिब अल हसनले अर्धशतकीय साझेदारी गरे । इक्वाल ४८ रनमा आउट भएपछि ब्याटिङमा आएका मुस्फिकुर रहमान १ रनमा आउट भएपछि खेल वेस्ट इन्डिजको पक्षमा गएको अनुमान गरिएको थियो ।

तर, त्यसपछि ब्याटिङमा आएका लिटोन दासले सकिब अल हसनलाई राम्रो साथ दिए । सकिबले शतकीय पारी खेले । उनले ९९ बलमा १६ चौकासहित १ सय २४ रनको पारी खेले भने लिटनले ६९ बलमा ८ चौका र ४ छक्कासहित ९४ रन बनाएका थिए ।