गुठी विधेयकमा ककसको कति स्वार्थ ?

प्रकाशित मिति : २०७६ असार ३

काठमाडौं । हेर्दा गुठी विधेयक निकै सामान्य र आर्थिक व्यवस्थापनसँग मात्र जोडिएको देखिन्छ । तर यो विधेयकभित्र बहुआयामिक चलखेलहरु छन् । यसका बहुसरोकार पक्षहरु छन्, तिनका बहुस्वार्थहरु छन् । नत्रभने विकास निर्माणका कामहरु छाडेर, जनतालाई एक ढिक्का बनाउनुको सट्टा सडकमा उतारेर, विदेशी शक्तिको चलखेललाई प्रशस्त ठाउँ दिएर अनि देशमा भाँडशभैलो मच्चाएर किन बाध्य हुन्थ्यो दलाल ओली सरकार यो तमासा निम्त्याउन ?

पहिलो कुरा त, ओलीले ‘होली वाइन शेचन’ गर्ने बेलामा नेपालमा क्रिश्चियानिटीलाई प्राथमिकता दिने वाचा गरेका छन् । तदनुरुप रुपान्तरण र व्यवस्थानको नाममा हिन्दू तथा वौद्ध धार्मिक अधिपत्यमाथि क्रिश्चियानिटी बिस्तारका लागि धावा बोलेका छन् । दोस्रो कुरा, परम्परागत, सनातन तथा सामूहिकतामा आधारित गुठी र यसको अधिपत्यमाथि धावा बोलेर क्रिश्चियानिटीको ढोका खोल्ने तथा जग्गा दलालहरुबाट कमिसन लिएर देशभर जग्गा जमिन बेचेर आगामी चुनाव खर्चको जोहो गर्ने छाँट निकालेका छन् ।

तेस्रो कुरा, मोहीहरुलाई जग्गा पाइन्छ भनेर भोट वैंक बनाउने र जनताबीचमा फुटाऊ र शासन गरको नीति अख्तियार गरी जनविरोधी शासनसत्ता लम्ब्याउने रणनीतिका साथ यो कुरा ल्याइएको छ ।

चौथो कुरा, अमेरिकी र भारतीय स्वार्थको चंगुलमा रमाइरहेको छ, यो ओली सरकार । अमेरिका क्रिश्चियानिटीको बिस्तार चाहन्छ भने भारत हिन्दुत्वको । यसैका मारमा नेपालका गुठीहरु पारिएका छन् ।

गुठी आन्दोलन तत्कालका लागि गुठियार, मोही र ओली सरकारका बीचमा चलेको जस्तो देखिए तापनि यसभित्र दीर्घकालीन रणनीतिक स्वार्थहरु छन् । यो भारत–अमेरिका बीचको धार्मिक लडाइँको एक हिस्सा पनि बनेर आएको छ । तर यसलाई दलाल ओली सरकारले निकै सहज नजर अन्दाज गरेको पाइन्छ । त्यसैका कारण ओलीमाथि चर्को विदेशी दबाब परिरहेको छ । ओली यो दबाब थेग्न र खेप्न नसक्ने अवस्थामा पुगेका छन् ।

नेपालका हरेक अन्तरविरोधहरु अब हामी नेपालीहरु माझमा चल्ने मौलिक नेपाली अन्तरविरोधका रुपमा मात्र सिमित छैनन् । ती अन्तरराष्ट्रिय अन्तरविरोधसँग जोडिएका छन् । नेपालको गुठी विधेयक पनि त्यही अन्तरविरोधको उपजको रुपमा आएको छ । गुठी विधेयक विदेशीका निर्देशनमा निर्मित नेपालका आचारसंहिताहरुको कार्यान्वयनको रुपमा आएको एक अंश मात्र हो ।

यसमा क्रिश्चियनको जत्तिको स्वार्थ छ, त्यत्तिकै हिन्दु धर्म रक्षाको पनि । यसले बौद्ध धर्म र त्यसबाट स्थापित परम्परामाथि पनि त्यत्तिकै हमला गरिरहेको छ । नेपालको सामाजिक तथा राजनीतिक व्यवस्थाका हिसाबले परंपरागत सामूहिक तथा सामूहिकतामाथि नराम्रोगरी बज्र प्रहार गरेको छ ।

गुठी परंपरागत सामुहिक प्रथा हो । यो आफैमा संस्था र शासन व्यवसथा पनि हो । योसँग जनता छन् । परम्परागत शासनको एक इकाइका रुपमा रहेकाले यसमा शासक पनि छन् र शासित पनि । यो नेपाली भूमि व्यवस्था तथा सामाजिक–आर्थिक अनि राजनीतिक इकाइ र स्वत्व पनि हो । यसभित्र नेपालीपनसहितका अन्तरविरोधहरु गुजुल्टिएर छन् ।

यसको हल भनेको अग्रगामी र आमूल परिवर्तनबाट प्राप्त हुने र जनताको स्वायत्ततासहितको अपनत्व बोध हुने शासन व्यवस्था हो । तर यसको विकल्प ओली सरकारको जस्तो साम्राज्यवाद, विस्तारवाद परस्त दलाल सरकार र यसले अघि सारेको दलालीकरणको व्यवस्थापन कदापि होइन ।