बालेन सरकारको जनविरोधी कृयाकलापको विरोधमा विज्ञप्ति प्रकाशित

बालेन सरकारको जनविरोधी कृयाकलापको विरोधमा विज्ञप्ति प्रकाशित

समाचार

दाङ, १६ बैशाख
यही बैशाख १२ गतेदेखि काठमाडौं उपत्यकाको थापाथली तथा मनोहरा क्षेत्रमा ‘अतिक्रमित’ भनिएको जग्गा खाली गराउने नाममा दशकौँदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासीहरुलाई विना व्यवस्था उठिबास लगाएपछि देशैभरी सो आतङ्क फैलिएको छ । यसैक्रममा हिजो दाङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको दाङका सबै पालिका प्रमुखसम्मिलित बैठकपछि जारी गरिएको वक्तव्यका बारेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङले आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउँदै एक वक्तव्य जारी गरेको छ ।

सो पार्टीका जिल्ला सेक्रटरी दिपद्वारा जारि गरिएको वक्तव्यमा भनिएको छ– ‘नेपाल सरकारले ‘अतिक्रमित’ जग्गा खाली गराउने नाममा दसकौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई जबर्जस्ती हटाउन बाक्लो सुरक्षाकर्मी प्रयोग गरेर घरटहरा भत्काउने कार्य गरिरहेको छ । यस विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । वास्तविक सुकुम्बासी तथा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका जनताको पहिचान गरी तिनको न्यायोचित व्यवस्थापन नगरेर एकैपटक सुरक्षाकर्मी अघि लगाएर डोजर आतङ्क फैलाउनु कानुनी राज्यको समेत वर्तमान सरकारले धज्जी उडाएको छ ।’

यसै सन्दर्भमा दाङको जिल्ला प्रशासन कार्यालयद्वारा २०८३ बैशाख १५ गते जारी गरिएको वक्तव्यप्रति विरोध जनाउँदै सेक्रेटरी दिपले जारी गरेको वक्तव्यमा अगाडि भनिएको छ ‘संयुक्त बैठकबाट जिल्लाभित्रका विभिन्न बस्तीहरू उठाउने निर्णय गरिएकोप्रति हाम्रो पार्टीले गम्भीर आपत्ती प्रकट गर्दछ । यो वर्तमान संविधानले दिएको हरेक नागरिकको बसोबास सम्बन्धी मौलिक हकको ठाडो उलङ्घन हो ।’

क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङले चेतावनी दिँदै भनेको छ– ‘सुकुम्बासीहरूको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार समेतको व्यवस्थापन गरेर मात्रै सार्वजनिक जमिन खाली गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । यदि सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर आतङ्क मच्चाउन खोजे त्यसको कडा प्रतिरोध गरिने ब्यहोरा यही विज्ञप्त मार्फत् जानकारी गराउँदछौँ ।’