क्षमा पाऊँ माननीयज्यू

क्षमा पाऊँ माननीयज्यू

कविता

गल्तीप्रति क्षमा पाऊँ माननीयज्यू,
सकिएन हजुरको अपेक्षाअनुसारको
प्रधानाध्यापक बन्न,
हजुर दलबलसहित घुम्न आउँदै गर्दा
सकिएन विद्यालयको गेटमा उभिएर
विशेष स्वागत गर्न ।

क्षमा बक्सियोस्, माननीयज्यू,
म यहाँको प्रधानाध्यापक
तर रहेँछु–
स्वागत–विज्ञानमा फेल भएको विद्यार्थी ।
हजुरको सवारी हुँदा
गेटमा नउभिनु मेरो भुल थियो
ठिकै भन्नुभयो हजुरले
खेद व्यक्त गर् भनेर ।
सकिनँ मैले
हजुर नयाँ पार्टीको माननीय हो भनेर बुझ्न
किनकि म कक्षाकोठाभित्र
देशको भविष्य खोज्दै थिएँ,
त्यसैले,
पाइएन पुष्पगुच्छा टक्य्राउन,
भ्याइएन माला लगाउन,
भएन खादाको इन्तजाम,
हुस्सु नै रहेँछु म–
त्यसबेला कक्षाकोठामा
पढाउँदै बसेँछु बालबालिकालाई ।

फेराएर छात्राहरूलाई पोसाक
उभ्याउनुपर्थ्यो
पञ्चकन्याका रूपमा कलशसहित
छात्रहरूलाई बनाएर मानव साङ्लो
बाटो खाली गराउनुपर्थ्यो
सडकदेखि विद्यालयसम्म
शिक्षकहरूलाई उभ्याउनुपर्थ्यो
स्वागतका लागि लाइनमा
र पाठ पढाउन छोडाएर
गर्न लगाउनुपर्थ्यो जयजयकार ।

बजाउनुपर्थ्यो नौमती,
पिट्नुपर्थ्यो ढोल
र लेख्नुपर्थ्यो बोर्डमा–
‘आजको पाठ स्वागतशास्त्रको हो’ ।
पढाउँदा पढाउँदै
यी सबै इन्तजाम गर्न भ्याइएन महाशय,
यसो गर्नुपर्छ भनेर
सिकिएनछ कुनै गुरुसँग–
‘पहिले माननीय अनि मात्र विद्यार्थी’
भन्ने पाठ भेटिएन कतै लेखिएको ।
हाम्रा पाठ्यक्रममा त
मात्र रहेछन् अझै पनि ‘गणित’ ‘विज्ञान’ र ‘भाषा’,
‘माननीय आगमन व्यवस्थापन’
कुनै पाठमै भेटिएन ।
सायद बिर्सियो
शिक्षा मन्त्रालयले पनि उर्दी गर्न
अब विद्यालयहरू ज्ञानका होइन,
प्रदर्शनका मञ्च हुन् भनेर ।
क्षमा पाऊँ, माननीयज्यू,
पाइएन यहाँको स्वागत गर्न
किनकि त्यो बेला
म एउटा सामान्य प्रधानाध्यापक
असामान्य गल्ती गर्दै थिएँ–
विद्यालयमा शिक्षा दिँदै थिएँ ।
२०८३ वैशाख १२