गाउँसहरका भित्ताहरूमा टाँसिएका छन्
नयाँ वाचाका नाममा
पुरानै बोतलबाट झिकिएका किरमिरे नारा
र बाँडिएका छन्–
प्रदूषित हावाले च्यातिरहेका
विचारविहीन सपनाहरू ।
सडकहरू
भएका छन् धेरै फराकिला
तर शासकका मनभित्रका गल्लीहरू
गएका छन् साँघुरिँदै दिनदिनै
जहाँ जनताको स्वतन्त्रताले
पाउन छोडेको छ हिंडडुल गर्न ।
यतिखेर घाम छर्नुपर्ने हातहरू
गरिरहेका छन् छायाँको व्यापार
र उज्यालोका नाममा
बेचिरहेका छन् बाक्लो अँध्यारो ।
सिंहदरबारतिरबाट आउँछ उडेर बारम्बार
धुवाँ मिसिएको कर्कश आवाज–
‘हामी सबै एकै चुड्कीमा ठिक गरिदिन्छौँ !’
तर त्यही आवाजको नायक
देख्दैन भोकले सुक्दै गएको
बालकको आँखा
र अनिश्चित हुँदै गरेको भविष्य,
न त देख्छ आवास खोसिएपछि
आकाशमुनि काँपिरहेको परिवारको पीडा,
नदीहरू बगिरहेकै छन् पहिलेकै लयमा
तर तिनका पानीमा आकाश प्रस्ट देखिँदैन
किनकि अहङ्कारी सत्ताका अनुहारले
आफ्नो विकृत प्रतिबिम्ब लुकाउन
नदीहरूलाई नै बनाइदिएको छ धमिलो ।
यता उसलाई विश्वास सुम्पिएका केही मानिस
आफ्नै भरोसाको भग्नावशेषमाथि उभिएर
गरिरहेका छन् पश्चात्ताप–
जसलाई उनीहरूले संरक्षक ठाने
ऊ नै बज्रिएर खसेपछि आफ्नै सपनामाथि ।
सायद उनीहरू बुझ्दै छन् अहिले–
‘घमण्डको आयुधले सबैभन्दा पहिले
विश्वासकै छाती छेड्दो रहेछ ।’
हो, उनीहरू यतिखेर
देश डुबाएर पिउँदै छन्
चिया पसलका ताता कपहरूमा
र धुवाँसँगै उडाइरहेका छन्
आफ्नो असहाय क्रोध ।
तर पनि निभिसकेको छैन
यो देशमा उज्यालो
किनकि
किसानहरू माटोमाथि भरोसा रोपिरहेका छन्,
विद्यार्थीहरू किताबभित्र भविष्य खोजिरहेका छन्,
आमाहरू अझै छोराछोरीका आँखामा
बिहान सिलाइरहेका छन्
र सत्ताका मादमा समय उम्लिरहँदा
कविहरू अक्षरका माध्यमबाट
निभ्न लागेको दीपलाई हत्केलाले छोपेर
बचाइरहेका छन् देशलाई ।
२०८३ वैशाख































