प्रकृतिको प्रारब्धले
प्राप्य जीवन
धर्तिमा प्रकट हुँदै
जमिनमा पहिलो
पाईला राख्दा
सायद
धर्ति निकै खुशि थियो
थप एक प्राणि मेरो छातिको
आलिङ्गनमा कसिन आयो भनेर ।
धर्तिको अस्तित्व प्रकट गर्ने
जमिन
त्यही परिभाषित जमिनमा
जिवनको परिभाषाका
अनेकन आयाम तय गर्ने
मान्छे
आज जमिनविहीन बनेको छ
धर्तिमा
आफ्ना कर्मले
कर्तुतले
प्रकृतिको हेपाईले
विपदको मारले ।
धर्तिको सचेत सदस्य
जमिनको याचक
मान्छे
हातमुख जोड्ने अभिलाषाले
धर्तिकै
भूगोलको कुनै कुनाबाट
कुनै कुनामा जमिन खोज्दै
जमिनमा
जीवन खोज्दै
आज
लखेटिएको छ
वेसहारा भएको छ ।
फेरि
जमिनबाट
सायद
फेरि लखेटिने छ
धर्तिबाटै
परिभाषित
जनअनुमोदनयुक्त
प्रणालिको
व्याख्या गरेर नथाक्ने
जमातहरूको
छद्मरूपलाई नचिन्ने
धर्तिका जमिनविहीनहरू
फेरि
धर्तिमा जीवन खोज्दै
जमिनको आशामा
उही रूप
उही सारलाई
अनुमोदन गर्दै
जुन धर्ति
जमिनविहीन भएको छ
त्यसैको
आश्वासन, लोभ–लालच र आशा जगाउँदै
आफ्नो सत्ता प्राप्तिको भयार्ङ्ग बनाउँदै
फेरि धर्तिका उनै सदस्य
मान्छेलाई
भ्रमको हरियो चश्मा पहिर्याउँदै
सुकेको
जमिनमा कक्रक्क परेको पराल,
ढोड, छ्वालिका त्यान्द्राका
घाँस देखाउँदै
सत्तामा उक्लिने
मेलोमा छन्
आज फेरि
धर्तिमा जमिनको आशा देखाउँदै
जनतालाई वलिको बोका बनाउन
उद्यत जमातहरू
जुन धर्ति
उनीहरूको लागि
जमिनविहीन भएको छ ।
२०८३।०२।०९






























