मेरो जीवनको कथा कुनै ठुला महलबाट सुरु भएको होइन । त्यो सुरु भएको थियो एउटा सानो घरबाट, जहाँ सपना भन्दा बढी चिन्ता हुन्थ्यो । मेरी आमा दुबईमा काम गर्नुहुन्थ्यो । मरुभूमिको तातो घाममा उहाँले आफ्नो पसिना होइन, हाम्रो भविष्य बगाइरहनुभएको थियो । म सानो थिएँ, तर फोनमा आमाको आवाज सुन्दा म भित्रभित्रै बुझ्थेँ—उहाँ धेरै थकित हुनुहुन्छ ।
बाबा पनि विदेशमै हुनुहुन्थ्यो । घरमा हामी साना बच्चाहरू मात्र थियौँ । तर कहिलेकाहीँ लाग्थ्यो, हामीसँग आमा–बाबा भए पनि, दुःखको समयमा कोही साथमा छैन । आफन्तहरू थिए, तर धेरैजसोले टाढाबाट हेर्थे । जब आमाको काम अचानक बन्द भयो, हाम्रो संसार नै हल्लिएको जस्तो लाग्यो । आमाले पहिले जस्तो पैसा पठाउन सक्नुभएन । घरको चुल्हो बिस्तारै चिसिँदै गयो । तर आमाले कहिल्यै हार मान्नुभएन ।
फोनमा उहाँ सधैं हाँस्ने प्रयास गर्नुहुन्थ्यो । ‘म ठीक छु छोरी’, भन्नुहुन्थ्यो । तर म बुझ्थेँ—त्यो हाँसोभित्र धेरै पीडा लुकेको छ । कहिलेकाहीँ राति म एक्लै रुन्थेँ । आमाको दुःख सम्झिदा मन चिसो हुन्थ्यो । किन मेरी आमाले अरूको घरमा काम गर्नुपर्यो ? किन उहाँले आफ्नो सपना छोडेर हाम्रो लागि सङ्घर्ष गर्नुपर्यो ?
आमा सधैं भन्नुहुन्थ्यो, ‘अहिलेको जमाना राम्रो छैन, छोरी । कसैलाई सजिलै विश्वास नगर । गलत बाटोमा नलाग । कुलतबाट टाढा बस ।’ त्यो बेला म अलि रिसाउथेँ । तर अहिले बुझ्छु—उहाँले त्यो कुरा डरले होइन, मायाले भन्नुभएको रहेछ । उहाँ चाहनुहुन्थ्यो म सुरक्षित रहुँ, सफल बनुँ र जीवनमा सही बाटो समात्न सकुँ ।
समय बित्दै गयो । आमाको सङ्घर्षले मलाई कमजोर होइन, बलियो बनायो । जब म पढ्न बस्छु, मलाई आमाको मरुभूमि सम्झना आउँछ । उहाँले सहनुभएको गर्मी, थकाइ र एक्लोपन मेरो प्रेरणा बन्छ । मैले आफैंलाई एउटा वाचा गरेँ—‘म डाक्टर बन्नेछु’ । म सेतो कोट लगाएर मानिसहरूको उपचार गर्नेछु । तर सबैभन्दा पहिले, म मेरी आमाको थाकेको शरीर र दुखेको मनको उपचार गर्नेछु ।
म डाक्टर बन्न चाहन्छु, किनकि म देख्छु—दुःखले मानिसलाई कति कमजोर बनाउँछ । म बिरामीहरूको मात्र होइन, आमाजस्ता सङ्घर्ष गर्ने हरेक आमाको पीडाको पनि उपचार गर्न चाहन्छु । जब म सफल हुन्छु, त्यो केवल मेरो सफलता हुनेछैन । त्यो मेरी आमाको पसिनाको जीत हुनेछ ।
म चाहन्छु, एकदिन आमालाई विदेशको मरुभूमिबाट निकालेर आफ्नो घरमा शान्ति दिन सकुँ । उहाँले अब काम गर्न नपरोस् । उहाँले आरामसँग बस्न पाउनुपरोस् । उहाँको अनुहारमा साँचो मुस्कान देख्न पाउँदा, मलाई संसार जितेको जस्तो लाग्नेछ ।
आज म सानो छु । मसँग धेरै पैसा छैन, शक्ति छैन । तर मसँग एउटा ठुलो सपना छ । र त्यो सपना मेरी आमाको सङ्घर्षबाट जन्मिएको हो । आमा, तपाईंले मलाई जीवन मात्र दिनुभएन—तपाईंले मलाई जिउने कारण पनि सँगसँगै दिनुभयो ।
एकदिन जब म डाक्टर बन्नेछु, म सबैलाई भन्नेछु—
‘मेरो सफलता कुनै चमत्कार होइन । यो मेरी आमाको त्याग, आँसु र माया हो ।’ र त्यो दिन, मेरी आमाको सबै दुःख समाप्त हुनेछ । अनि हाम्रो कथा दुःखबाट सुरु भए पनि, खुसीमा समाप्त हुनेछ ।
२६ बैशाख, २०८३
घैरुङ, गोरखा






























