देश रोएको दिन

देश रोएको दिन

कविता

त्यो दिन–
जब देशको सबभन्दा अग्लो शिखरमा उभिएर
सिंहासनको सारथिले सापट लियो पराई आँखा
र आफ्नै आँगनको ओभानोमाथि
ओकल्यो आत्मघाती विषवमन,
हो, ठिक त्यही पल
छियाछिया भएर खस्यो हाम्रो स्वाभिमान ।

अकस्मात्,
सगरमाथाका निधारमा खुम्चिए
निलो आकाशका आँखिभौंहरू,
र फैलियो मेचीदेखि महाकालीसम्म नै कुहिरो बनेर
एउटा अकथनीय आशङ्काको तरङ्ग ।

मेरो देश–
कुनै मानचित्रकारको कलमले कोरेको
ओसिलो भूखण्ड मात्र होइन,
यो त सिंहदरबारका कागजभन्दा धेरै पहिले
वीरहरूका रगतले भिजेको माटोमा
उम्रिएको एउटा जीवन्त निसानी हो ।

यो त्यही भूगोल हो–
जहाँ अझै पनि उठ्छ
नालापानीमा तिर्खाएको साहस,
जहाँ कुँदिएका छन्
देउथलका चट्टानहरूमा
बाघका पन्जाजस्ता वीरका पैतालाहरू ।

आज पनि महाकालीका सुस्केरामा
गुन्जिरहेछन् तिनै विद्रोही पदचापहरू
बगिरहेछन् कोसीका उच्छालमा सपनाहरू
र हिमालको मौनताबाट सुनिदै छ सुमधुर स्वर–
‘देशको माटोभन्दा मूल्यवान्
अरू कुनै सम्पत्ति हुँदैन ।’

विडम्बना !
जब घरकै मुलीले पराइ ऐना हेरेर
आफ्नै मियो काट्न थाल्छ,
जब उसका शब्दहरू नै मातृभूमिको छातीमा
किलो बनेर ठोकिन थाल्छन्‌
तब केवल मानिसहरू मात्र कहाँ रुन्छन् र ?
रुन्छ इतिहासको रगत,
रुन्छ भूगोलको अस्मिता,
र रुन्छ स्वयम् यो देशको माटो ।

हामीले आँधीसँग सिङौरी खेल्न सिक्यौँ
तर कसैको पदचापमुनि शिर झुकाउन सिकेनौँ
हामीले रगत बगाएर सिमाना कोर्न सिक्यौँ
तर स्वाभिमानको तमसुक लेख्न सिकेनौँ ।

यदि समयले फेरि पनि हाम्रो धैर्यको परीक्षा लिन्छ भने
खुकुरीको धारमा सुतेका ती पुराना अठोटहरू
र सहिदका कलेजोबाट निस्किएका आगोका फिलिङ्गाहरू
फेरि ब्युँझनेछन् हाम्रा नसा नसामा ।

सुत्न सक्छौँ हामी भोको पेट,
तर खान सक्दैनौँ आत्मसमर्पणको सिनो
किनकि यो राष्ट्रको इतिहास
घुँडा टेकेर होइन,
लेखिएको हो सधैँ शिर उठाएर ।

यो देश ढलेको छ अनेकौँ पटक
तर हरेक पटक उठेको छ
माटोको सुगन्ध बोकेर
जबसम्म यो भूगोलमा
एउटा पनि नेपाली मुटु धड्किरहन्छ
तबसम्म कुनै कागजी शक्ति
वा कुनै बिकाउ ओठहरूले
सक्ने छैनन्
नेपालको अक्षुण्ण अस्तित्वलाई लिलाम गर्न ।