काठमाडौं । संयुक्त राष्टिय सुकुम्बासी मोर्चाले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई डोजर लगाएर उठिबास लगाएपछि निरन्तर रुपमा आन्दोलित हुँदै आएको छ । बैशाख ३१ मा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको मोर्चाले जेठ १ गते शंखमूल र मनोहराको सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा विरोध प्रदर्शन गर्यो । २०३० सालदेखि बसोबास गर्दै आएका शंखमूलका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको उपस्थितिमा भएको विरोध कार्यक्रममा मोर्चाका नेताहरुले जेठ ७ गतेसम्म बालेन्द्र साह नेतृत्वको सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको बासको व्यवस्थापन नगरे जेठ ८ गतेबाट भत्काइएकै बस्तीमा टेन्ट हालेर बस्ने चेतावनी दिएका छन् ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संयुक्त राष्टिय सुकुम्बासी मोर्चाका नेता नारायण परिश्रमीले भने, सरकारले १५ दिनभित्र सुकुम्बासीहरुको वैकल्पिक व्यवस्थापन गर्ने भनेर घरमा डोजर लगाएर उठिबास लगाइदियो । तर करिब महिना दिन बित्न लाग्दा समेत कुनै व्यवस्थापन गरेन । अब हामी जेठ ७ गतेसम्म पर्खन्छौं । त्यस अवधिभित्र व्यवस्थापन नगरे जेठ ८ गतेबाट हाम्रा घर भत्काइएकै ठाउँमा टेन्ट हालेर बस्छौं संयुक्त राष्टसंघ, राष्टिय मानव अधिकार र मिडियाहरुको रोहबरमा । त्यसबेला राज्यले दमन गर्यो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको राज्य आफै जिम्मेवार हुनेछ ।
त्यसैगरी सुकुम्बासी मोर्चाकी नेतृ बिना बज्राचार्य, इन्द्र तामांगले पनि होल्डिंग सेन्टरमा सुकुम्बासीहरुलाई बन्दीको जस्तो व्यवहार गरिएको, मनोवैज्ञानिक रुपमा ठूलो यताना शिविर जस्तो बनेको, क्षणिक प्रलोभनमा भुल्याउन अनेक प्रचारबाजी गरेको भन्दै दीर्घकालीन वैकल्पिक व्यवस्थापन नगरे बस्तीमै आएर बस्नुको कुनै विकल्प रहँदैन ।
शंखमूलमा विगत ५३ वर्षदेखि बसोबास गर्दै आएका पवन गुरुंगले राज्यले सुकुम्बासीमाथि अमानवीय फासिवादी ज्यादति गरेको भन्दै अब सुकुम्बासीहरुसँग धैर्यताको बाँध टुटिसकेको बताए । उनले शंखमूलको बस्ती जोखिममुक्त रहेको, ०४६ सालमा नापी भएर कित्ताकाट भइसकेको, २०२१ सालमा व्यक्तिको नाममा रहेको र माहियानी हक कायम हुने गरी जग्गाधनीले लिखित गरेर दिएको, पछि हदबन्दीभन्दा बढीको जग्गा भएको भन्दै सरकारीकरण भएको तर पञ्चायतकालदेखि नै राज्यले बत्ती, पानी, तला थप्ने अनुमति, घर नम्बर लगायतको सुविधा दिएको मोर्चाका उपाध्यक्ष समेत रहेका गुरुंगले जानकारी दिए । उनका अनुसार शंखमूलको बस्तीमा १५० घर थिए । सरकारी आँकडा अनुसार यो बस्तीमा ६० वटा पक्की घर थिए भने अन्य कच्ची घर थिए ।
यो बस्तीका कतिपय सुकुम्बासीहरुले कोठा नपाएपछि सडक पेटीमै रात गुजार्ने गरेको पनि उनले जानकारी दिए । शुक्रबारै मनोहरामा समेत विरोध प्रदर्शन गरिएको थियो ।
बालेन्द्र साह नेतृत्वको सरकारले उपत्यकाका १९ वटा सुकुम्बासीहरुमा जोडर लगाएर उठिबास लगाएको छ । कतिपय सुकुम्बासीहरु होल्डिंग सेन्टरमा राखिएको छ र कतिपयले आफन्तहरुको घरमा शरण लिएका छन् । होल्डिंग सेन्टरमा रहेका सुकुम्बासीहरुमाथि राज्यले बन्दीको जस्तै व्यवहार गरेको भन्दै सर्वत्र असन्तुष्टी, विरोध र आक्रोश पोखिरहेका छन् । तर करिब महिनादिन वित्न लाग्दा पनि राज्यले कुनै वैकल्पिक व्यवस्थापन गर्न सकेको छैन । बरु उल्टै काठमाडौंका सुकम्बासीहरुलाई काभ्रेको बनेपा पुर्याइएको छ । उनीहरुले राज्यले थप सास्ती दिएको भन्दै आक्रोश पोखिरहेका छन् ।
यसैबिच, देशैभरबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको आन्दोलन उठिरहेको छ । बुटबलमा सुकुम्बासीहरुले वृहद् प्रदर्शनको तयारी गरेका छन् ।































