युद्ध हाम्रो टाउकोमाथि मडारिइरहेको छ, त्यसलाई रोक्न क्रान्तिकारी शक्तिलाई बलियो बनाउनुपर्छ : सीपी गजुरेल

युद्ध हाम्रो टाउकोमाथि मडारिइरहेको छ, त्यसलाई रोक्न क्रान्तिकारी शक्तिलाई बलियो बनाउनुपर्छ : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले १५६ औं लेनिन जयन्ती तथा ७७ औं पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै साम्राज्यवादी युद्ध नेपालीहरुको टाउकोमाथि मडाइरिहेको र क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै त्यसलाई रोक्न सकिने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘लेनिनले भनेझै साम्राज्यवाद भनेकै युद्ध हो, साम्राज्यवादको अस्तित्व रहेसम्म युद्ध नरोकिने र क्रान्तिकारी शक्तिलाई बलियो पारेर मात्रै त्यस्तो युद्धलाई रोक्न सकिन्छ । अहिलेको आवश्यकता भनेको क्रान्तिकारी शक्तिलाई बलियो बनाउनु हो ।’

उहाँले अगाडि भन्नुभयो, ‘अमेरिकामा तालिम दिएका तिब्बतीयनहरुलाई नेपालमा गुम्बा बनाएर राखेको छ । उनीहरुलाई खर्च आफैले दिएको भनिरहेको छ । अमेरिकी एम्बेसीले नेपाली युवाहरुको भर्ती खोलेको छ । त्यसको काउन्टरमा चीनको दुताबासले पनि नेपाली युवाहरुको अर्को भर्ती खोलेको । इरानमाथि अमेरिका–इजरायलले थोपरेको अन्यायपूर्ण युद्धको विरुद्धमा चीन पनि खडा भएको छ । शक्तिशाली राष्ट्रहरु विभाजित भएको अवस्थामा विश्वयुद्ध हुन सक्ने पनि अनुमान र विश्लेषणहरु भइरहेका छन् । स्थिति सामान्य छैन । क्रान्तिकारीहरु शक्तिहरु सचेत र संगठित बन्न जरुरी छ ।’

उहाँले सम्बोधनकै क्रममा फागुन २१ को प्रायोजित चुनावबाट संशोधनवादी, संसदवादी तथा अवसरवादी कम्युनिस्टहरुको बेहाल भएको चर्चा गर्दै उनीहरुको पराजय भनेको कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुको पराजय होइन । त्यो त कम्युनिस्ट क्रान्तिकारीहरुको लागि अझ अनुकूल परिस्थिति भएको पनि बताउनु भयो । आफ्नो शक्ति कमजोर भएपछि प्रचण्डले फेरि पार्टी एकताको कुरा गर्न थालेको बताउनुहुँदै उहाँले भन्नुभयोे, ‘एमसीसी पास गरेर नेपालमा अमेरिकी साम्राज्यवादलाई प्रत्यक्ष रुपमा खेल्ने हस्तक्षेप ठाउँ बनाइदिने संसदवादी कम्युनिस्टहरुसँग हाम्रो कसरी एकता हुनसक्छ ? संशोधनवादी अवसरवादीहरुले पार्टी फुटाउछन्, हामीले त गलत लाइनका विरुद्ध विद्रोह गरेर क्रान्तिकारी धारको रक्षा गरेको हो ।’

उहाँले आफूहरुको पार्टी लाइन ठीक रहेको, जस्तोसुकै आँधिहुरीमा पनि नडगमगाएको अविचल तप्का पार्टीमा रहेको र निस्वार्थ भावका साथ पार्टी र क्रान्तिका निम्ति समर्पित रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो कमजोरी भनेको नै जनसम्बन्ध टुट्नु हो । अब हाम्रो पार्टी लाइन अनुसार जनतासँगको सम्बन्धलाई सुदृढ बनायौं भने क्रान्तिको भविष्य उज्वल छ । क्रान्तिका लागि अनेकौं कठिनाइहरुको सामना गर्नुपर्छ । क्रान्ति भनेको भोजभतेर होइन । क्रान्तिमा दुःख हुन्छ । क्रान्तिकारीहरुले अरु संशोधनवादी, अवसरवादी पार्टीका मान्छेहरुसँग तुलना गर्नु हुँदैन । पार्टीमा लागेर काम गरेवापत मैले के पाएँ भनेर प्रश्न गर्ने होइन, बरु मैले कति योगदान गरेँ भन्ने सोच राख्नुपर्छ । पार्टी लाइन र उद्देश्यप्रति प्रतिबद्ध भएर लाग्यौं भने नसोचेको काम पनि र परिणाम पनि हाँसिल गर्न सक्छौं ।’

त्यसैगरी कार्यक्रमको अध्यक्षता गर्नुभएका पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले अप्रिल २२ संसारभरका मजदुरहरुको लागि अत्यन्तै महत्वपूर्ण दिन रहेको भन्दै उहाँले लेनिनबाट क्रान्तिकारीहरुले सिक्नुपर्ने थुप्रै अमूल्य शिक्षा रहेकोमाथि प्रकाश पार्नुभयो ।

उहाँले लेनिनले रुसमा माक्र्सवादको सफल प्रयोग गरेको विषय र उहाँको योगदानलाई कसैले पनि नकार्न नसकेको चर्चा गर्दै किसान, मजदुर, महिला, दलित, मधेसी, मुस्लिम लगायत सबै श्रमजीवी शोषित उत्पीडित नेपाली जनताको घर घरमा लेनिनलाई लैजानुपर्ने विषयमा जोड दिनुभयो ।

 

पार्टीका पीवीएम तथा अखिल नेपाल जनजाति महासंघका संयोजक पवनमान श्रेष्ठ, क्रान्तिकारी किसान महासंघका महासचिव धनेश्वर पोखरेल, क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिना, क्रान्तिकारी महिला संघ नेपालकी सहसंयोजक शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ लगायतका नेताहरुले पनि लेनिन दिवस र पार्टी स्थापना दिवसको चर्चा गर्दै निरन्तर क्रान्तिको लागि प्रेरणा र संकल्प गर्ने दिनको रुपमा व्याख्या गर्नुभएको थियो । र, क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन पार्टी पीवीएम तथा ९ नं ब्यूरोका सेक्रेटरी चिन्तामणि पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल जनसांस्कृति महासंघका अध्यक्ष हिरामणि दुःखी, क्रान्तिकारी युवा संघ नेपालका संयोजक दार्जी शेर्पा, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक टेकबहादुर विक लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।