मेसिन मात्र होइन
विचार हो
बुल्डोजर
आतङ्क र आतङ्ककारी
दुबै हो
त्रासद र त्रासदी
दुःख र दुःखदायी
हुन सक्छ
मुसोलिनी हिटलर
भत्काएर
आदर्शका उच्च पहाड
हाँस्छ संसदमा
उजाड पारेर
सुकुम्बासी बस्ती
अश्लील र्याप गीत गाउँछ ।
साना नानीहरूका
रुवाइमा
क्रूर हाँसो हाँस्छ
उज्यालोभन्दा अँध्यारोमा
रमाउँछ
बुलडोजरका निम्ति
प्रेम करुणा दया
अर्थहीन छन्
बोली लय र भाषा
उसका दुश्मन हुन्
रातबिरात जुनसुकै बेला
बहुलाउन सक्छ
सारा सुन्दरतामाथि
बज्रन सक्छ
होस् गर है
होस् गर मानिसहरू
कतिबेला कुन क्षण
टाउको खोस्रन सक्छ
रगताम्मे पारी
गिदी रगत पिउन सक्छ
साँच्चिकै भन्दै छु
आउँदै छ है
आउँदै छ
बुलडोजर
भत्काउँदै छ
सहिदका स्तम्भहरू
नदीका प्रवाहहरू
लासमा
बासना खोज्दै ।































