पुर्खा खटे यै देशमा बैँस बित्यो मेरो
हेपी किन भन्छौ आज केही छैन तेरो
जुन् माटोमा पोखेको छु पसिनाको धार
त्यै माटोमा हुन्न भने मेरो अधिकार
कहाँ हुन्छ भनीदेऊ मेरो भन्नु सारा
कहाँ खोज्न जाऊँ मैले प्राण धान्ने चारा ?
कल्ले रच्यो चन्द्र सूर्य कल्ले रच्यो तारा ?
कल्ले रच्यो पृथिवी र हावा पानी सारा ?
तिम्ले हैन तिम्रा बाजे बराजुले हैन
त्यसैकारण् तिम्रोमात्रै अधिकार छैन
सबैजना पृथिवीमै बाँच्नुपर्छ खेली
पोल्नुपर्छ मान्छेमारा कानूनका ठेली !
आफू बस्छौ महलमा, भत्क्यो हाम्रो घर
हामी मर्ने ? बाँच्ने धोको तिम्रो मात्रै छ र ?
मानिसको बाँच्ने हक खोस्न पाइँदैन
मान्छेलाई हेला गर्ने नेता चाहिँदैन
कुल्चेसम्म मानिसले मानिसको छाती
सङ्घर्षको अन्त्य हुन्न सम्झ मान्छेघाती !






























