प्रतिपक्षी कांग्रेसको देशव्यापी भण्डाफोर अभियान तय

काठमाडौं । ‘कम्युनिष्ट’ ओली–दाहालको दुईतिहाई बहुमत सरकारको ‘गान्धी’ प्रमुख विपक्षी नेपाली कांग्रेसले देशव्यापी कार्यक्रम चलाउने घोषणा गरेको छ । ‘समाजवाद’ निर्माणमा लागेको सरकारविरुद्ध वीपीको ‘समाजवाद’ को नारा बोकेको नेपाली कांग्रेस ओलीदाहालको समाजवादविरुद्ध कसरी जानेछ त्यो त हेर्न नै बाँकी छ ।

तर ओली सरकारको गलत क्रियाकलापको विरोध गर्नेदेखि कार्यकर्तामा क्रियाशीलता ल्याउने गरी तीन चरणमा देशभर ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पत्रकार सम्मेलनमा ‘हिमाल, पहाड, तराई मधेस–नेपाली कांग्रेस’ नारासहित ११ वैशाखबाट यो कार्यक्रम सुरु गरिने बताइएको छ । देशका ७७ वटै जिल्लामा चल्ने र चलाइने यो कार्यक्रम कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ११ वैशाखबाट ११ जेठसम्म पहिलो चरणको हुने छ । एक महिने कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन हुने छ । कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरू सहभागी हुने बताइएको छ । सभापति शेर बहादुर देउवाको भाग भने काठमाडौंमा परेको छ ।

तालिका अनुसार कार्यक्रम यसरी विभाजन गरिएको छ । पहिलो चरणमा ११ वैशाखदेखि ११ जेठसम्म ७७ वटै जिल्ला, दोस्रो चरणमा २४ भदौदेखि ७ असोजसम्म ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरणमा ७ पुसदेखि १६ पुससम्म ७५३ वटै स्थानीय तहमा
चलाइने बताइएको छ ।