
काठमाडौं । सर्वोच्च अदालतका ५ प्रस्तावित न्यायाधीशहरुका विरुद्ध परेका उजुरीहरुको पेटिका आज खोलिने भएको छ । सर्वोच्च अदालतका ५ प्रस्तावित न्यायाधीशका साथै संघीय संसदको संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यविरुद्ध परेका उजुरीको पेटिका समेत खोल्ने भएको हो ।
तर उजुरीका यी पेटिकाहरु प्रधानन्याधीश चोलेन्द्र समशेर जवराका विरुद्धमा परेका जस्ता गम्भीर छैनन् । संयुक्त बैठक बसेर उजुरी अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिने र आजै टुंगो लगाउने पनि भनिएको छ ।
पेटिका खोलेपछि उजुरीका संख्याका साथै उजुरीका प्रकृति पनि पत्ता लाग्ने समितिका अध्यक्ष लक्ष्मणलाल कर्णको भनाइ छ । तर संघीय संसद सचिवालय स्रोतकाअनुसार प्रस्तावित न्यायाधीशविरुद्ध ५ र प्रमुख आयुक्तविरुद्ध ६ वटा उजुरी परेका छन् ।
न्याय परिषद्ले गत चैत १८ गते सर्वोच्चको न्यायाधीशमा हरि फुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ ।
सर्वोच्चमा भएको मुद्दाको चाङ कहिले घटला भनेर चिन्ता गरिरहँदा यी पाँच जना न्यायाधीशहरु थपिन लागेका हुन् ।






























