जनादेश

प्रकाशित मिति : २०७५ चैत्र १४

- धनेश्वर पोख्रेल

 

ए शासकहरु हो !
तिमीलाई देश दुख्छ भने
कालापानी, लिपुलेक र लिम्पियाधुरामा मलम लगाऊ
तिमीलाई देश चहराउँछ भने
पुनर्बास, महलिसागर र खुर्दलोटनबाँधको उपचार गर
तिमीलाई राष्ट्रिय स्वाधीनताको पीडा छ भने
विस्तारवादी नाङ्गो हस्तक्षेपका विरुद्ध लड

तिमीलाई जनताप्रति समवेदना छ भने
सुन कान खोलेर सुन
उनका आर्तनाद कथा र ब्यथा सुन
अनि राष्ट्र र जनताप्रति जबाफदेही बन
अनि सुसूचित गर
आतङ्क, कोलाहल र सन्त्रासमा बाँचेका सीमाबासीलाई !
रोक, नियन्त्रण गर र कार्बाही चलाऊ
सीमापारिका गुण्डा, हत्यारा र डाँकालाई !
अनि ढुक्कको जीवन देऊ तराइबासीलाई !

सक्छौ ?
सक्छौ भने देश बचाउनको लागि राष्ट्र जोगाउनका लागि

जनतालाई सुरक्षाको अनुभूति गराउनका लागि
सीमा क्षेत्रमा सेना तैनाथ गर
बोर्डर साइडमा काँढेतार वा पर्खाल लगाएर
देशको आँठो किल्ला राम्ररी छुट्टाऊ ।

एक बित्ता जमिनमाथिको हस्तक्षेप हामीलाई सैह्य छैन
एक थोपा खुन र पसिना माथिको बह्मलूट हामीलाई सैह्य छैन
एक अन्जुली पानी र सम्पदामाथिको गिद्दे दृष्टि हामीलाई सैह्य छैन
हाम्रा चेलीमाथिको हत्या, हिंसा र बलात्कार हामीलाई सैह्य छैन
होइन भने ओ शासकहरु !
तिम्रो कथित राष्ट्रवादको मुखुण्डो च्यात र धुजाधुजा पार
तिम्रो दौरा सुरवाल भित्रको कथित समाजवादी नकाव पर्दाफास गर
र, कुलेलम ठोक यो धर्तीबाट ।

नत्र
जन आक्रोशको मूल फुट्यो भने
धैर्यताको बाँध टुट्यो भने
उत्पीडित आत्माहरु जुट्यो भने
अभेद्य किल्ला बनेर जनसागर उठ्यो भने
न तिम्रो स्वर्ग रहनेछ, न तिमी नै रहने छौं ।