थाइल्याण्डमा गठबन्धन सरकार बन्दै

प्रकाशित मिति : २०७५ चैत्र १४

थाइल्याण्डको सैन्य सरकारद्वारा भर्खरै सम्पन्न निर्वाचनसँगै थाइल्याण्डका सात पार्टीले एक गठबन्धन निर्माण गरेका छन् । निर्वाचनमा कसैको पनि बहुमत नआएपछि ७ पार्टीहरु मिलेर बुधबार बहुमतको सरकार निर्माणका लागि यस्तो गठबन्धन निर्माण गरेका हुन् ।

सन् २०१४ मा भएको सैनिक ‘कू’ पछि त्यहाँ यस निर्वाचनको अबधिसम्म सैनिक सरकार थियो । प्रजातन्त्रको बहालीका नाममा सैनिक सरकारले गराएको यो निर्वाचन लगत्तै दलहरुहरुको सरकार निर्माणका लागि यो गठबन्धन बनाइएको हो । यही गठबन्धनले दलीय सरकार बनाउने प्रयास गरिरहेको छ ।

निर्वाचन सकिएलगत्तै सैन्य कुद्वारा सत्ताच्युत हुन पुगेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले निर्वाचनको वैधानिकता र निश्पक्षतामाथि प्रश्न उठाएका छन् । उनले निर्वाचनमा निकै बल प्रयोग गरिएको र धाँधली भएको जिकिर गरिरहेका छन् । तर निर्वाचनको निष्पक्षतामाथि प्श्न उठिरहहँदा सात राजनीतिक पार्टीहरुले गठबन्धन सरकार बनाउने जमर्को गरिरहेका छन् ।

निर्वाचनमा थाक्सिन सिनावात्राको पार्टीमाथि प्रतिवन्ध लगाइएकाले नेता सिनावात्राले फिउ थाई पार्टीलाई आफ्नो समर्थन दिएका थिए । फिउ थाइ पार्टी अन्य छ पार्टीहरु भन्दा बढी निर्वाचन क्षेत्रमा विजयी भएको छ । त्यसैले यही फिउ थाइ पार्टीको नेतृत्वमा लोकतन्त्र पक्षधरहरुको सरकार निर्माणमा ७ पार्टीहरु लागि परेका छन् ।

निर्वाचन परिणाम पूर्णरुपमा घोषणा गरिएको छैन, तथापि घोषणा गरिएको परिणामका आधारमा त्यहाँ गठबन्धन सरकार बन्ने देखिएको छ । मतगणनामा भइरहेको ढिलाइलाई लिएर थुप्रै टीकाटिप्पणी र शंका आशंकाहरु उब्जिए पनि त्यो कवल मानवीय त्रुटी र ढिलाइका कारणले मात्र हुन गएको सैनिक सरकारले स्पष्टिकरण दिएको छ ।

तर सत्ताच्युत पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले भने निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप दोहोर्याइरहेका छन् ।

कुल ७५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५०० जना निर्वाचनमार्फत छानिने व्यवस्था रहेको छ भने माथिल्लो सदनमा रहने २ सय ५० सिटमा सेनाले सांसदहरू मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ ।