काठमाडौं । वर्तमान सत्ताधारी दल नेकपामा दुईतिहाईको सत्ता उन्मादसँगै मौलाउँदै गएको स्वेच्छाचारिता सीडिीओ फोबियाबाट ग्रस्त हुन पुगेको छ । उसको मत्ताहात्तीको यात्रामा सीडीओका काम कर्तव्य र अधिकार ‘हरमुनिको ढुंगा’ साबित हुन गएको छ । शासक पनि आफै र प्रशासक पनि आफै हुने महत्वाकांक्षामाथि सीडीओका अधिकारहरुले कबाफ खाँदै गर्दा दाँतमा ढुंगा लाग्न पुगेको छ ।
कबाफमा ढुंगा मिसाउने निजामति सेवा ऐन र नियमावली अबका दिनमा यिनीहरुको आँखाको तारो बन्न गएका छन् । शायद आगामी दिनहरुमा यसको संशोधनका लागि संशोधन प्रस्ताव ल्याइने तयारी यिनीहरुले गरिरहेका छन् ।
स्वेच्छाचारिता चलाइरहँदा कसैले उजुरी गरेमा जुनकुनै ओहदाको भए पनि जिल्लाको सीडीओले समाउने र कारबाहीको कठघरामा समेत ल्याउन सक्ने भयले यिनीहरुको मुटु ठाउँमा रहेको देखिदैन । हाल यो संघीय, प्रादेशिक तथा स्थानीय शासकहरुका लागि फोबिया बनेर मनभित्र बसेको छ ।
काम, कर्तव्य र अधिकारका हिसाबले प्रशासनिक रुपमा सीडीओहरु स्थानीय तथा प्रादेशिक सरकारभन्दा बढी अधिकारसम्पन्न छन् ।