जनगणतन्त्रको स्थापना अबको विकल्प

जनगणतन्त्रको स्थापना अबको विकल्प

नेकपा (क्रान्तिकारी माओवादी)को २०७५ मंसीर १२ देखि १७ सम्म रुपन्देहीको ढबाहमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको विषयलाई लिएर संघर्षबारे विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो, जसमध्ये फागुन १ गते युवा मोर्चाको देशव्यापी रुपमा रातो मार्चपास कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाउने र फागुन महिनामा मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने आदि थिए ।

त्यसको साथै हरेक प्रदेश तथा जिल्लाहरुमा स्थानीय विशेषताहरुमाथि आवश्यक ध्यानदिंदै वर्गसंघर्ष तथा प्रतिरोध संघर्षहरुलाई सिर्जनात्मक रुपमा विकसित तुल्याउने पनि भनिएको थियो । निश्चित अवधिमा निश्चित कार्यक्रम सम्पन्न गर्नुपर्ने थियो । साथै, हरेक जवस मोर्चाहरुले आआफ्ना विशिष्ट मागहरु राखी विशिष्ट प्रकारका संघर्षहरुको सञ्चालन गर्ने र परिस्थिति र आवश्यकता अनुसार संयुक्त संघर्षहरु पनि चलाउने निर्णयअनुसार स्थानीय विशेषताहरुमाथि आवश्यक ध्यान दिंदै वर्गसंघर्ष तथा प्रतिरोध संघर्षलाई सिर्जनात्मक रुपमा काठमाण्डौ र सुर्खेतमा भ्रष्टाचारीमाथि कारबाही, बांके, बर्दिया तथा सिन्धुलीमा भूमाफियाहरुमाथिको जनकारवाहीहरु उल्लेखनीय रहे ।

त्यसैगरी गत फागुन १ गते युवा मोर्चाको देशव्यापी रुपमा रातो मार्चपास कार्यक्रम सफलतापूर्वक आयोजना गरी देशव्यापी रुपमा मनाइयो भने यही फागुन ७ गते मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने कार्यक्रमअनुसार यहि७ देखि २१ गतेसम्म तराई र भित्रीमधेसका जिल्लाहरुमा “राष्ट्रिय स्वाधीनताको रक्षा र संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौं” भन्ने मूल नाराका साथ मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानको उद्घाटन नेपालको चार ठाउँ–झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डाचौकी, कास्कीको पोखरा र काठमाण्डौको रत्नपार्क शान्ति बाटिकाबाट एक साथ अभियानको उद्घाटन गरिएको छ ।

फागुन १गतेको कार्यक्रम भनेको महान् जनयुद्ध सुरु भएको दिनको सम्झना र त्यसप्रतिको प्रतिवद्धता हो, यसको अर्थ २०५२ साल फागुन १ गते ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयॉ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं, विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद, नेकपा (माओवादी)’ लेखिएको यो पहिलो पोष्टरलाई नेपालका क्रान्तिकारीहरुले फेरि एक पटक पढौं र इतिहासबाट पाठ सिक्दै नेपाली सर्वहारावर्गीय क्रान्तिको रक्षा र विकास गरौं भन्ने नै हो ।

यहाँ के चाहीं स्पष्ट पार्नु आवश्यक छ कि पार्टीले त्यही रुपमा र त्यही तरिकाले अब नेपालमा क्रान्ति हुंदैन र नेपालको विशेषतामा आधारित क्रान्ति सम्भव छ भनेको छ । त्यो भनेको सशस्त्र जनविद्रोहमा आधारित नेपाली विशेषताअनुसारको क्रान्ति भनेको छ ।

तै पनि त्यो पोष्टरको महत्व अहिले झन बढेको छ किनभने प्रचण्डले नेपाली जनतालाई क्रान्तिको लक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना थियो भनेर गलत सन्देश दिइरहेका छन् र नेपालका क्रान्तिकारीहरुले त्यसको भण्डाफोर गर्दै सही के थियो ? जनताका बीचमा लैजानु आवश्यक छ । र अहिले नेकपा (क्रान्तिकारी माओवादी) ले वर्तमानको ओली–प्रचण्ड गठवन्धनको कम्युनिस्ट नामधारी प्रतिक्रियावादी सरकार र नेपालको संविधान २०७२को विकल्प नेपाली जनतालाई दिएको छ, त्यो भनेको संघीय जनगणतन्त्र नेपालको स्थापना नै हो । लोकतान्त्रिक गणतन्त्र जसलाई संसदीय व्यवस्था पनि भनिन्छ, त्यो एउटा प्रतिक्रियावादी व्यवस्था हो र यो नेपालमा मात्रै नभई विश्वभर नै असफल भइसकेको व्यवस्था हो ।

त्यसले नेपाल र नेपाली जनताको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई हल गर्न सक्दैन् भन्ने स्पष्ट हुँदै आएको र अहिले झन नेपाली जनताको बीचमा नांगिदै गएको छ । भ्रष्टहरु, दलाल तथा नोकरशाहहरु दिनदिनै आर्थिक उन्नतिको उच्च शिखरतर्फ उक्लिरहेका छन् भने नेपाली जनता गरिबीको रसातलमा भासिदै गइरहेका छन् । र यसैको परिणाम नेपाल झनझन पराधिनतातर्फ धकेलिंदै गएको छ ।

अहिले यो ओली नेतृत्वको सरकारले नेपाली जनयुद्ध, सशस्त्रविद्रोह तथा जनआन्दोलनहरुमा सहादतप्राप्त गर्ने हजारौं सहीद, वेपत्ता योद्धा परिवार र घाइते ,अपांगहरुको अपमान सिवायअरु केही गर्न र दिन सकेको छैन् । वाइड बोडी प्रकरणमा अरबौ भ्रष्टाचार गर्ने मन्त्री तथा सरकारी कर्मचारीहरुलाई काखि च्यापेर अहिले ओली–प्रचण्ड हिंडिरहेका छन् । उनको र उनको सरकारको विरुद्ध बोल्ने र बोल्न चाहने सबैमा नियन्त्रण गर्ने उद्येश्यले विभिन्न काला कानुनहरु बनाउनमा नै उनको सरकार र संसद व्यस्त छन् ।

त्यसैले उनको विकल्पको आवश्यकता अहिले टडकारो रुपमा देखिएको छ । र त्यो विकल्प त्यही पार्टीका अन्य नेताहरु–दाहाल, नेपाल तथा झलनाथ आदिबाट खोजिदै छ । तर इतिहासमा गनाइसकेका यी पात्रहरुबाट अब नेपाल र नेपाली जनताको भलाई हुन सक्दैन । त्यसैकारण उनको बिकल्पमा यी पात्रहरु कोही हुन सक्दैनन् । अब एक व्यक्तिको विकल्प अर्को व्यक्ति होइन, समग्र संसदीय व्यवस्था कै र समग्र संविधानकै विकल्प खोजिनु आवश्यक छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले अगाडि सारेको आन्दोलनको नारा–“राष्ट्रिय स्वाधीनताको रक्षा र संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौ” भन्ने नै सही अर्थमा नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा र गरीब नेपाली जनताका जनजीविकाका समस्याको समाधान गर्ने यहि मात्रै एउटा सुनिस्चित बिकल्प हो । यसैका लागि गरिने विभिन्न कार्यक्रमहरुमध्ये मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान एउटा जनचेतनामूलक कार्यक्रम हो ।

पार्टि नेतृत्व के मा स्पष्ट छ भने वर्तमानको प्रतिक्रियावादी सत्ताको विकल्प त अन्त्यमा सशस्त्र जनविद्रोहबाट मात्रै सम्भव छ । र जनविद्रोहका लागि जनताको सहभागिता, त्याग र बलिदानको उत्तिकै आवश्यकता छ । जनताको सहभागिता, त्याग र बलिदानको प्राप्तीका लागि समग्र पार्टी नेतृत्व र कार्यकर्ताको सहभागिता, त्याग र बलिदानको जरुरत पर्छ । यहि मार्गतर्फ नेकपा (क्रान्तिकारी माओवादी) होमिएको छ ।

singhhukum683@gmail.com