नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिको भविष्य

नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिको भविष्य

वस्तुबाट चेतनाको जन्म हुन्छ । यो द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी मान्यता हो । यो मान्यता द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद जस्ता संघटक अंगहरुसहित मार्क्सवादका रुपमा कार्ल मार्क्सर फेडरिक एंगेल्सले संश्लेषित गर्नु भएको हो ।

पछि मार्क्सवादी विचारलाई रुसको वर्ग संघर्षको भट्टीमा हालेर भी.आई. लेनिनले विकास गर्नुभयो । यो माक्र्सवाद–लेनिनवादको रुपमा विकास भयो । यही सैद्धान्तिक आलोकमा सहरबाट गाउँ घेर्ने, जनसंघर्षबाट सशस्त्र संघर्षमा फड्को मार्ने र केन्द्रीय सत्ता कब्जा गरी स्थानीय सत्तातिर विस्तारित हुँदैजाने अल्पकालीन सशस्त्र जनविद्रोहको विकास भयो ।

सन् १९१७ अक्टोबर २५ का दिन रुसमा महान् सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भई विश्वभरि क्रान्तिको लहर फैलियो । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न गाउँबाट सहर घेर्ने, अवैधानिक संघर्ष प्रधान, वैधानिक संघर्ष सहायक, स्थानीय सत्ता कब्जा गरी अन्त्यमा केन्द्रीय सत्ता कब्जा गर्ने दीर्घकालीन जनयुद्धको विकास भयो । यो रक्षा, सन्तुलन र प्रत्याक्रमण हुँदै तीन चरणबाट अघि बढ्दछ । यसको प्रभावमा भारतको तेलंगनामा आन्दोलनको उठान भयो । यसैलाई नक्सलवादी आन्दोलन भनेर नामाकरण गरियो ।

नेपालमा १०४ वर्षे निरंकुश राणाशासनको विरुद्ध संग्राम सुरु भयो । वि.सं. २००६ साल वैशाख १० गते (१९४९ अप्रिल २२ तारिख) भारतको कलकत्तामा पुष्पलाल श्रेष्ठको संस्थापकत्वमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशीको नेतृत्वमा नेपालमा कम्युनिस्ट पार्टीको जन्म भयो । तात्कालीन नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद–लेनिनवादलाई पथप्रदर्शक सिद्धान्त मान्यो ।

अर्धसामन्ती, अर्ध–औपनिवेशिक नेपालमा सामन्तवाद, साम्राज्यवाद र भारतीय एकाधिकारको विरुद्ध संघर्ष उठान गरी जनगणतन्त्र स्थापना गर्ने उद्देश्य राखेको थियो । वि.सं. २००८ सालमा नेपाल कम्युनिस्टले ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन गरी नयाँ जनवादी क्रान्तिलाई आधारभूत कार्यक्रम मानेको थियो ।

तर दुर्भाग्यवश प्रथम महाधिवेशन २०१० साल भाद्र १७ देखि २५ गतेसम्म भई मनमोहन अधिकारी महासचिव चुनिए, जसले राजदरबारमा चाकरी गरी पार्टीलाई वैधानिक बनाएका थिए । दोस्रो महाधिवेशन वि.सं. २०१४ साल जेठ १५ देखि २५ गते सम्पन्न भै केशरजंग रायामाझी महासचिव निर्वाचित भै अन्तमा राजदरबार पसे । वि.सं. २०१९ साल वैशाख ४ देखि १५ गते तेस्रो महाधिवेशन महासचिव तुलसीलाल आमात्य निर्वाचित भएपनि नयाँ जनवादी राजनीतिक कार्यदिशा छोडी सुधारवादी संसदीय बाटो लिन पुग्यो ।

नेपालमा राजा मेहेन्द्रले वि.सं. २०१७ सालमा बहुदलीय व्यवस्थालाई खारेज गरी निर्दलीय पञ्चायती व्यवस्था ल्याएपछि सबै पार्टीलाई अवैधानिक ठह¥यायो । जनता ज्यादै निराश भए । पार्टी प्रतिबन्धित भएपछि वि.सं. २०२३ सालमा केशरजंगले नेकपा गठन गरी खु्रश्चेवपन्थी बने । रायमाझी गुटमा बर्मा र मानन्धरले छुट्टै गुट बनाएपछि नेकपा (संयुक्त), एउटा संसदवादी धारा, बनेको छ ।

वि.सं. २०२५ सालमा पुष्पलालले अर्को नेकपा गठन गरे । यसले मार्क्सवाद–लेनिनवाद–माओविचारधारालाई पथ प्रदर्शक सिद्धान्त मान्दै नयाँ जनवादी कार्यदिशा अघ बढाए । पुष्पलाल समूहबाट रोहित र रुपलाल फुटी २०३२ सालमा नेपाल मजदुर किसान संगठन बनाए । वि.सं. २०३६ सालमा रुपलालले पार्टी फुटाई २०३८ सालमा सर्वहारावादी श्रमिक संगठन बनाए भने रोहितले २०४६ सालपछि राष्ट्रिय सम्मेलन गरी नेपाल मजदुर किसान पार्टी बनाए । यो पार्टीले नेपालमा समाजवादी व्यवस्था ल्याउने भने पनि कार्यदिशा स्पष्ट छैन ।

वि.सं. २०२८ सालसम्म पहिलेका कोशी प्रान्तीय कमिटिका विशेष झापा जिल्ला कमिटिका सी.पी. मैनाली लगायत पुष्पलालबाट आएका रातो झण्डावाला मिलेर को–अर्डिनेशन केन्द्र (कोके) बनाई भारतीय नक्शालवादी आन्दोलनका प्रवर्तक क. चारु मजुमदारको “वान युनिट, वान एसिया, वान एक्शन” को थ्यौरी व्यवहारमा अबलम्बन गरे ।

चीनमा चलेको सन् १९६६ देखि १९७६ सम्म सर्वहारा सांस्कृतिक क्रान्तिबाट उत्प्रेरित थियो, लाई आत्मसात् गर्दै झापामा “वर्ग शत्रु खत्तम” को लाइनअनुसार “झापा विद्रोह” गरे । वि.सं. २०३५ सालमा कोअर्डिनेशन केन्द्रले नेकपा (माले) गठन गरेपछि २०४६ सालपछि संसदीय बाटो लाग्यो र वि.सं. २०४७ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर एमाले बनाए ।

वि.सं.२०२८ सालमा मोहनविक्रम सिंह, निर्मल लामा, भक्तबहादुर श्रेष्ठ, मोहन वैद्य ‘किरण’ ले केन्द्रीय न्यूक्लसहुँदै वि.सं. २०३१ सालमा चौथो महाधिवेशन गरी नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशन धारा बनाए । मोहनविक्रम सिंह महासचिव चुनिए र मार्क्सवाद–लेनिनवाद–माओविचारधारा पथप्रदर्शक सिद्धान्त मान्ने न्युनतम कार्यक्रम पञ्चायत फालेर देशभक्त जनवादीहरु शक्तिको सरकार बनाउने बाटो अवलम्बन गर्न पुग्यो ।

तर पनि अधिकतम कार्यक्रम नयाँ जनवाद बनाइ लाइन स्पष्ट भएन । नेकपा (चौथो महाधिवेशन) मा पहिलो मोहनविक्रम दोस्रो निर्मल लामा र तेस्रो भक्तबहादुर श्रेष्ठ महासचिव भएका थिए । चौथो महाधिवेशनभित्र बहुमत पक्ष पञ्चायती चुनावको बहिष्कार र नयाँ जनवादी क्रान्ति दीर्घकालीन जनयुद्धद्वारा मार्क्सवाद–लेनिनवाद–माओवाद राख्नु पर्ने अवधारणामा अध्ययन हुँदै आएको थियो ।

यही कारणले वि.सं. २०४० सालमा अल्पमत पक्षका नेता निर्मल लामाले पार्टी फुटाई नेकपा (चौ.म.) राखियो उता बहुमतले नेपाल कम्युनिस्ट पार्टी (मशाल) राखियो । वि.सं.२०४१ सालमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले पाँचौ महाधिवेशन गरी सत्ता जनतामा हस्तान्तरण भन्ने अस्पष्ट कार्यदिशा ल्यायो । कमरेड किरण महामन्त्री निर्वाचित हुनु भयो भने मोहनविक्रम सिंहलाई कारवाही भयो । मोहनविक्रम सिंहले २०४१ सालमा पार्टी फुटाएर नेकपा (मसाल) बनाई आफू महासचिव बने ।

नेपाल कम्युनिस्ट पार्टी (मशाल)ले नेपाल अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक कृषि प्रधान देशमा कृषि क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्ति दीर्घकालीन जनयुद्धद्वारा गर्नु पर्ने, मार्क्सवाद–लेनिनवाद–माओवाद पथ प्रदर्शक सिद्धान्त मान्नु पर्ने क्रान्तिकारी पार्टी, सेना र मोर्चा तीन जादुगरी हतियार बनाउनको लागि वर्ग संघर्ष मान्ने, नयाँ जनवादी क्रान्ति कार्यदिशा मान्ने चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति मान्ने बीच (नेकपा चौम, मसाल र सर्वहारावादी श्रमिक संगठन) पार्टी एकीकरणको लागि विशेष मिलेर पार्टी एकता संयोजन समिति बन्यो ।

रुपचन्द्रको सानो हिस्सा पार्टी प्रवेश गर्यो । शितलकुमारको (हरिबोल गजुरेल) नेतृत्वमा विद्रोही मसाल बनाई नेकपा एकता संयोजन समितिमा मिल्यो । वि.सं. २०४८ सालमा एकता महाधिवेशन सम्पन्न भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र), मार्क्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादी क्रान्ति र दीर्घकालीन जनयुद्ध गरिने कार्यदिशा पारित गरियो । संयुक्त जनमोर्चा पार्टीको मोर्चाको रुपमा स्थापित थियो ।

वि.सं. २०४८ सालमा ९ सीट संसदमा चुनाव जितेको पनि थियो । तर वि.सं. २०५१ को निर्वाचन बहिष्कार गरेको थियो । संगठन, संघर्ष, उत्पादन र अन्तर्राष्ट्रिय भाइचारा समर्थन जुटाउन पार्टी चार तयारीमा लाग्दै गर्दा पार्टी भित्रका अल्पमत पक्ष चुनाव उपयोग पक्ष जो जनविद्रोह मान्नेहरु गोपनियता भंग गर्दै हिंड्न थालेपछि निर्मल लामाहरुलाई कारवाही भयो । निर्मल लामाजीले नेकपा (एकताकेन्द्र) राख्नु भयो भने बहुमत पक्षले वि.सं. २०५१ सालमा राष्ट्रिय सम्मेलन गरी पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादी क्रान्ति दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गर्दै सुरु गर्ने अठोट गर्यो ।

वि.सं. २०५२ फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको चौरजहारी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्ली कृषि विकास बैंक कब्जा गर्नुको साथै नेपालभरि पोष्टर टाँस्ने र पर्चा छर्ने काम भयो । यसरी ऐतिहासिक रुपमा नेकपा (माओवादी) ले विद्रोह गर्यो ।

जनयुद्ध २०५२ साल फागुन १ गतेबाट सुरु भएपछि सबै नेता र कार्यकर्ताहरु भूमिगत भएर जनताका बीचमा गई सेल्टर लिन र कार्यक्रम दिन थाले । जनयुद्ध सुरु गरेपछि देशलाई मुख्य इलाका, सहायक इलाका र प्रचार इलाका वा मुख्य सहरहरु गरी तीन भागमा विभाजन गरियो । जनयुद्ध सुरु भएपछि गुरिल्ला जोनको रुपमा विकास गर्ने, राजनीतिक, संगठन, संघर्ष (जनसंघर्ष, प्रतिरोध संघर्ष, वर्ग संघर्ष, फौजी र गैरफौजी संघर्ष) आदि योजना बनाएर जाने काम भयो ।

१० वर्षे जनयुद्धमा वैकल्पित पि.वि.एम कमरेड सुरेश वाग्ले सी.सी.एमहरु लगायत १६ हजारभन्दा बढिले सहादत प्राप्त गर्नुभयो हजारौं बेपत्ता र घाइते अपाङ्ग भएका छन् । १० वर्षे जनयुद्धको प्रक्रियामा रक्षा, सन्तुलहुँदै प्रत्याक्रमणमा जाने बेला विशेष २०६१ साल चुनवाङ वैठकबाट लोकतान्त्रिक गणतन्त्र तर्फ जान लागेको देखिन्छ, जुनबेला जनयुद्धका हस्ती किरण, प्रचण्ड, सी.पी. गजुरेल र बादलमध्ये किरण र सी.पी. गजुरेल कमरेडहरुको अनुपस्थितिमा (भारत जेलमा परेपछि) चुनवाङ बैठकले जनयुद्धलाई प्रचण्ड–बाबुरामको गद्दार र स्विन्डलर  गु्रपले (राजनीतिक ठगहरुको ग्रुप) पार्टी र नेपाली नयाँ जनवादी क्रान्तिलाई धोका दिए । जनयुद्धमा जानु अघि वि.सं. २०५२ माग १९ गते संयुक्त जनमोर्चाले ४० सुत्रीय मागहरु जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनतासम्बन्धी असमान सन्धि खारेजी र जनगतन्त्रको लागि तात्कालीन सरकारलाई ज्ञापनपत्र बुझाई खुलामञ्चमा जनसभा गरेको थियो ।

जनयुद्धको माग भनेको मुख्य जनगणतान्त्रिक व्यवस्था अहिलेको अनुसार संघीय जनगणतान्त्रिक नेपाल हो । नयाँ जनवादी व्यवस्था समाजवादी व्यवस्थाभन्दा पहिलो खुड्किलो हो । लोकतान्त्रिक गणतान्त्रिक, धर्मनिरपेक्षता, संघीयता, समावेशीता यी सबै बुर्जुवा गणतन्त्रको माग हो । यसको विरोध मात्र गर्ने होइन, कम्युनिस्टहरुको आफ्नो लक्ष्य त यसलाई भत्काएर जनगणतन्त्रमा जाने हो । २०५२ साल फागुन १ गते अगि नेकपा (माओवादी)ले गोरखामा केन्द्रीय समितिको बैठक डाकेको थियो । सो बैठकमा केन्द्रीय समितिका सबै कमरेडहरुले जनयुद्ध सुरु गछौं, कुनै पनि हालमा जनयुद्ध रोकिन्न बरु हामी सबैले बलिदान दिनेछौं भनी ‘प्रोमिस’ गरेका थिए ।

प्रचण्ड, बाबुराम राजनीतिक ठगहरुको डफ्फाले भारतसित बाह्रबुँदे सम्झौता गरी वि.सं. २०६३ साल मंसिर ७ गते जनयुद्ध समाप्त भएको घोषणा गरे । यो नेपालको इतिहासको ठूलो भूल र गद्दारी थियो । प्रचण्डले कामीडाँडा बैठक, बालाजु, खरीपाटी र गोरखा पालुङ्टार विस्तारित बैठकहुँदै सिन्धुपाल्चोकको सुकुटे बैठकले पूर्णरुपमा नेकपा (माओवादी) लाई शान्ति र संविधानको नाममा नव–संशोधनवादी बनायो त्यसकारण कमरेड किरणले हिम्मत गरेर ०६९ मा बौद्ध राष्ट्रिय भेलाद्वारा नेपाल कम्युनिस्ट पार्टी–माओवादीको रुपमा मार्क्सवाद–लेनिनवाद–माओवाद, कम्युनिस्ट पार्टी र क्रान्तिको रुक्षा, विकास र नयाँ ढंगले पुनः क्रान्ति गर्न दक्षिणपन्थी नवसंशोधनवादीहरुसित सम्बन्धविच्छेद गरियो । यो अपरिहार्य थियो । वि.सं. २०७२ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ ले नयाँ जनवादी क्रान्तिको विकल्पमा एकीकृत जनक्रान्ति निर्माण गरी वैज्ञानिक समाजवादको अस्पष्ट र फौजी कार्यदिशा विनाको लाइन ल्याएर नेकपा–माओवादीबाट अलग भई हाल नेकपा पुनर्गठन गरेका छन् । वि.सं. २०७३ सालमा बादलले नेकपा–माओवादीबाट अलग भई माकेमा प्रवेश गरी अहिले डबल नेकपा बनेका छन् ।

मातृका यादव, मणि थापा, माके र बादल सबै माके हुँदै एमालेमा समाहित भई डबल नेकपा नवसंशोधनवादी पार्टी बनेका छन् । विचारविनाका पार्टीहरु माले, संयुक्त लगायत डबल नेकपा निकट देखिन्छ । नेकपा (मसाल) भित्र डबल नेकपामा आकर्सित हुने र नेकपा (क्रान्तिकारी माओवादी) आकर्षित हुने पनि छन् ।

ऋषि कट्टेलको नेतृत्वमा रहेको नेकपा माले, एमालेबाट बनेको हुनाले राजनीतिक कार्यदिशा प्रष्ट हुन आवश्यक छ र सर्वहारा सांस्कृतिक क्रान्ति मान्नु र चीनमा प्रतिक्रान्ति भएको मान्ने भए मात्र सच्चा क्रान्तिकारी पार्टी हुनेछ । अहिले तत्काल नेकपा सच्चा क्रान्तिकारी पार्टी हुन निम्न कुराहरु मान्नु पर्ने हुन्छ–

१) मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधारा मान्नु

२) वर्ग संघर्ष मान्नु

३) राज्यसत्ता प्राप्त गर्न बलप्रयोगको भूमिका मान्ने

४) सर्वहारा सास्कृतिक क्रान्ति मान्नु

५) अहिले विश्वमा सर्वहारा वर्गको सत्ता नभएको मान्नु

६) सर्वहारा वर्गको अधिनायकत्व मान्नु

७) जनवादी केन्द्रीयता मान्नु यसमा मुख्य वर्ग संघर्ष, सत्तामा बलप्रयोगको भूमिका, सर्वहारा सांस्कृतिक क्रान्ति नमान्ने कम्युनिस्ट हुनै सक्दैन ।

अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माथिका ७ वटा पोइन्टलाई आत्मसात् गर्दछ । नेकपा (मसाल) बाट बिद्रोह गरी नेकपा (एकीकृत) बनेको थियो त्यसबाट छुटीई वि.सं. २०७२ सालमा नेकपा–माओवादी र क. परि थापाले नेतृत्व गरेको नेकपा (एकीकृत) मिलेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निर्माण भई २०७४ सालमा राष्ट्रिय सम्मेलन गरेर मार्क्सवाद–लेनिनवाद–माओवाद, नयाँजनवादी क्रान्ति सशस्त्र जनविद्रोह फौजी कार्यदिशा चयन गरिएको थियो ।

संम्पूर्ण नेपाली न्यायप्रेमी जनसमुदाय राजनीतिक व्यक्तित्व, स्वतन्त्र वाम बुद्धिजीवी मित्रहरु नेपालको राष्ट्रियता बचाउन, फिजीकरण, भुटानीकरण, सिक्कीमीकरणबाट बचाउन २०० वर्षबाट राज गर्दै आएको बुर्जुवा गणतन्त्रले सतप्रतिशत जनताको हित गर्न सक्दैन । नेपालमा नयाँ जनवादी क्रान्तिको विकल्प छैन ।

त्यसैले मार्क्सवाद–लेनिनवाद–माओवादको आलोकमा नेकपा (क्रान्तिकारी माओवादी) ले जनविद्रोह (नेपालको मौलिकता) द्वारा नयाँ जनवादी क्रान्ति गर्ने निर्णय गरेकोले सबैले सहयोग समर्थन र भाग लिन आवश्यक छ । सच्चा क्रान्तिकारी नेपाली कम्युनिस्ट आन्दोलन भित्र नयाँ जनवादी क्रान्तिको भविष्य उज्जल छ, यसै क्रान्तिद्वारा नेपाली समस्याको हल हुनेछ ।