हामीले गरेका जनकारवाही सांकेतिक मात्र हुन्

हामीले गरेका जनकारवाही सांकेतिक मात्र हुन्

भ्रष्टचारीहरुमाथि कारबाही थालेसंगै अहिले क्रान्तिकारी युवा लिग चर्चामा छ । काठमाण्डौ र सुर्खेतमा गरिएको कारबाही बारे केही बताइदिनुस् न ।

ठीक हो, क्रान्तिकारी युवा लिग जस्तो राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीवीकाको पक्षमा निशर्त र निरन्तर संघर्ष गर्ने संगठन चर्चामा आउनु राम्रो कुरा हो । साथै म ती साथीहरु, जसले भ्रष्टाचारीहरुमाथि कारबाही गरे ती साथीहरुलाई स्याल्युट टक्र्याउन चाहन्छु । काठमाडौमा गरिएको कारबाही भनेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार माथि हाम्रो संगठनको ३ नं. प्रदेश कमिटीले कालोमोसो दलेको घटना भन्नुभएको होला, त्यस सम्बन्धमा संसदीय उपसमितिले तयार गरेको वाइडवडी प्रकरणमा भएको अनियमिततासम्बन्धी बुझाएको प्रतिवेदनमा दोषि ठहर गरिएका व्यक्ति मध्येका हुन् ।

त्यस प्रतिवेदनले किटान गरेका दोषीहरुलाई कारबाही गर्नुको साटो सत्ताको आडमा प्रधानमन्त्रीबाट नै त्यो प्रेतिवेदनको औचित्य नरहने गरी छुटै छानबिन समिति गठन गरेर दोषीहरुलाई जोगाउने तरखरमा लागेकाले आम नेपाली जनताको असन्तुष्टीका रुपमा यो कारबाही भएको हो । आजसम्म आउँदा यो सही साबित भएको पनि छ । त्यस्तै गरी सुर्खेतमा भएको कारबाही पनि सुर्खेत जिल्ला मालपोत कार्यालयका सूचना अधिकृत नरबहादुर घर्तीलाई हाम्रो संगठनको सुर्खेत जिल्ला समितिले कालोमोसो दलेको हो । मालपोत कार्यालयमा सर्वसाधारण नागरिकलाई अनाहकमा दुःख दिने, आर्थिक अनियमितता गर्ने काममा उनको संलग्नता रहेको स्थानीय जनताको गुनासोका आधारमा गरिएको हो ।

थुप्रै अध्ययनले समेत पुष्टि गरिसकेको छ कि नेपालमा भ्रष्टाचार राजनीतिक संरक्षणमा हुने गरेको छ । राजनीतिक नेतृत्वलाई कारबाही नगरेर कर्मचारीलाई गरियो भन्ने पनि आरोप छ नि, के भन्नुहुन्छ ?

यो कुरा साँचो हो कि नेपालमा भ्रष्टाचार राजनीतिक संरक्षणमा हुने गरेको छ । हाम्रो संगठनले सुगतरत्न कंसाकारलाई दलेको कालोमोसो सांकेतिक भनेका छौं । त्यस कारबाहीलाई वाइडबडी प्रकरणमा संलग्न सबै अभियुक्तहरु र त्यो राष्ट्रघाती प्रकरणलाई ढाकछोप गर्ने सबै नेता तथा व्यक्तिहरुप्रति पनि लक्षित छ । फेरि कंसाकार मात्र भष्टाचारी हो, जसलाई हामीले कारबाही गर्यौ, त्यो पनि त होइन । नेपालमा भ्रष्टाचार र कमिशन व्याप्त भएको छ । स्थानीय निकायदेखि मन्त्रालयसम्म, विभिन्न संस्थानहरु, निजामती क्षेत्र, न्याय क्षेत्र, पुलिस प्रशासन आदिमा अनियमितता भएकै छ ।

यी सबको मियो त सत्ता नै हो र सत्ता सञ्चालन गर्ने राजनीतिक दलका नेता नै हुन् । यी कुरा भनिरहँदा सबै कर्मचारी, नेता, न्यायधीश, पुलिस भ्रष्टाचारी तथा कमिशनखोर पनि होइनन् । जो अरुका गलत क्रियाकलापका कारण विनाकारण उनीहरुमाथि पनि लान्छना लाग्ने गरेको छ । त्यसैले हामीले गरेको कारबाही ती इमान्दार कर्माचारीको पक्षमा हो भन्ने जानकारी पनि गराउन चाहन्छु । नेपालमा ३३ किलो सुन तस्कर भएको सुनिन्छ, ठुलामाछा कहिले हातमा पर्दैन । निर्मला पन्त बलात्कृत हुन्छिन्, पुलिसले नै सबुत मेटाइदिन्छ र दोषी कहिले पत्ता लाग्दैनन् । यी सबै घटनामा राजनीतिक नेतृत्व र कर्मचारीहरुको मिलिमतो देखिन्छ हामीले कर्माचारी मात्र होइन, दलाल राजनीतिक नेताहरुलाई पनि कालोमोसो दल्न तयार छौं ।

यस्तो कारबाहीलाई व्यापक बनाउनु पर्यो भन्ने सार्वजनिक माग एकातिर देखिन्छ भने अर्कोतिर कानुन आफ्नो हातमा लिएर कारबाही गरेको आरोप पनि छ नि के भन्नुहुन्छ ?

आम नेपाली जनताको चेतनाको प्रतिविम्बका रुपमा नै यो कारबाही भएको हो, कि कति चुप लागेर बस्ने ? भ्रष्टचारीले भ्रष्टाचार गरिरहने, तस्करले तस्करी गरिरहने, महिलामाथि अन्याय भइरहने र राज्यले तिनै भ्रष्टचारी, तस्कर, मफिया, बलत्कारीलाई संरक्षण गरिरहने हुँदा जनताले सरकारभन्दा बाहिरका विद्रोही तथा वैकल्पिक शक्तिसँग आशा राख्नेखालकोे परिस्थिति बन्नु आवश्यक तथा अनिवार्य नै हो । यस्ता कारबाहीलाई कानुन आफ्नो हातमा लिएको भन्ने नै हो भने दोषीमाथि राज्यले कारबाही सशक्त रुपले गर्न सक्नुपर्दछ ।

त्यसो भएको पाइँदैनौ । त्यसैले अब क्रान्तिकारी युवा लिगले मात्र भ्रष्टचारी, ब्यभिचारी, तस्कर तथा माफियालाई कारबाही गर्नुपर्छ भन्ने पनि त होइन । बरु आम जनताको स्तरबाट स्थानीय निकायदेखि राज्य र समाजमा हुने अनियमितताको विरोधमा उत्रिनु पर्छ र आम जनताको साथमा हाम्रो संगठन दह्रोसंग उभिने छ ।

तपाईहरुले प्रतिरोध संघर्ष अगाडि बढाउँदै जाँदा राज्य दमनमा उत्रन र धरपकड गर्ने तयारीमा रहेको देखिन्छ । त्यसको प्रतिरक्षा तथा प्रतिरोध कसरी गर्नुहुन्छ ?

समाजमा अन्याय अत्याचारका विरोधमा आवाज उठाउँदा राज्यले दमनको नीति अख्तियार गर्छ भने त्यसको प्रतिरोध अवश्य पनि गरिन्छ । त्यसलाई प्रतिरोध संघर्षसम्म उठाइन्छ पनि । अहिले हामीले गरेको कारबाही भनेको सांकेतिक मात्र हो । कयौं भ्रष्टाचारीहरु अझैं बाँकी छन् । यही प्रक्रिया रहने हो र भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो हामीलाई धरपकड गर्न थाल्ने हो भने त्यसको प्रतिरोधमा हामीले उठाएका संघर्षका कदमहरुलाई वर्ग संघर्षका रुपमा अघि बढाउने छौं । गाउँगाउँ र सहरमा पनि यी भ्रष्टाचारीविरुद्ध तल्लो निकायसम्म गएर हाम्रा गतिविधिलाई आमजनसमुदायको साथ लिएर तिव्रता दिने छौं ।

भ्रष्टाचारीहरुमाथि कारबाही बाहेक अन्य के कस्ता योजना तथा कार्यक्रम छन्, क्रान्तिकारी युवा लिगका ?

यी कारबाही बाहेक हामीले बेरोजगार युवाहरुको रोजगारीको ग्यारेण्टीका लागि आवाज उठाउँदै आएका छौं । त्यसै क्रममा १, २, ३, ४ र ५ नं प्रदेशमा प्रदेश सरकारलाई तत् कमिटीमार्फत् ज्ञापनपत्र बुझाइसकेका छौं । यही प्रक्रियामा जिल्ला जिल्लामा बेरोजगार युवाहरुको हस्ताक्षर संकलन गर्ने काम पनि जारी नै छ । त्यसैले आम बेरोजगार युवाहरुले उक्त हस्ताक्षर संकलन अभियानलाई सहयोग गर्न पनि अनुरोध गर्दछौं । बेरोजगारी युवाहरुको मागलाई लिएर सशक्त कार्यक्रम ल्याउँदै छौं ।

फाल्गुण १ गते देशैभर हुन गइहेको क्रान्तिकारी युवा लिगको रातो मार्चपास भव्य रुपमा मनाउने तयारी गरिरहेका छौं । यो कार्यक्रममा हजारौं युवाहरु परिचालन गरिने छ । यसका साथै फागुन ७ गतेखि २१ गते १५ दिनसम्म हुन गइरहेको मेचीमहाकाली अभियानमा क्रान्तिकारी युवाहरुको जिम्मेवारीपूर्ण सहभागिता हुने छ ।

त्यस्तै गरी नेपालको सीमा मिच्ने जस्ता भारतीय विस्तारवादका विरुद्धमा आवाज उठाउनुका साथै दलाल नेताहरुको राष्ट्रघाती कदमको विरुद्धमा संघर्ष गर्ने क्रममा सरकारी निकायमा राखिएको नेपालको मिचिएको भूमि नभएको नक्सा अनुगमन गर्ने काम भएका छन् । ती सच्याउनका लागि अनुरोध पनि गरिएको छ । अबको अनुगमनमा अनुरोधले मात्र पुगेन भने थप अरु कार्यक्रमहरु ल्याउनु पर्ने हुनसक्छ । साथै खेलकुदको क्षेत्रमा पनि हाम्रो संगठनले गहिरो गरी अध्ययन गरिरहेको छ ।

नेपालमा भ्रष्टाचार र अनियमिततालाई खतम पार्न के गर्नुपर्ला ?

नेपालमा हुने भ्रष्टाचार, अनियमितता तथा राष्ट्रघाती कदम, अन्न्याय, अत्याचार, शोषण उत्पीडन अब सहेर बस्नु हुन्न । त्यस्ता गलत क्रियाकलापका विरुद्धमा संघर्ष गर्न तयार हुनु अनिवार्य बनेको छ । आज तपाई हामीले यो काम गरेनौ भने हाम्रा सन्ततीले यसको जाँतोमुनि पिल्सिने छन् । यो अरुबाट आशा गरेर होइन, आफैबाट सुरु गरेर मात्र हुनेछ । वास्तवमा नेपालको सामाजिक आर्थिक संरचना र उत्पादन सम्बन्ध अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको र दलाल तथा नोकरशाही पुँजीवादीे व्यवस्था भएको हुँदा, यसले तिनै वर्गको सेवा गर्छ र भ्रष्टाचारी, तस्करी, माफियालाई संरक्षण गर्नुको साथै तिनीहरु सँगको मिलिमतोमा दलाल नेताहरुले अकुत सम्पत्ति आर्जन गर्दछ । त्यसैले यो दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था रहेसम्म भ्रष्टाचारको अन्त्य हुनेवाला छैन, त्यसको विकल्प भनेको नयाँ जनवादी व्यबस्था निर्माण गर्नु हो ।

देश विदेशमा रहेका आम युवाहरुलाई के आह्वान गर्नु हुन्छ ?

युवाहरु देशका कर्णधार हुन् किनभने यो उत्पादनका साधन मुख्यतः उत्पादक शक्ति श्रमशक्ति हो । युवाको मेहनेत र परिश्रमबाट उत्पादन प्रक्रिया मार्फत् राष्ट्रिय पुँजीको निर्माण हुन्छ । युवाहरु देशका लागि मर्न कत्ति पनि हिच्किचाउँदैनन् अर्थात् दुश्मनसंग नझुकी लड्न तयार हुन्छन् । युवामा नै नयाँ कुराहरु ग्रहण गर्ने क्षमता सबैभन्दा बढि हुन्छ । रुपान्तरण हुनसक्ने लचकता हुन्छ । तर हामी युवाहरुमा अहिलेको व्यवस्थाले गर्दा देशका लागि लड्नेभन्दा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हाबी भएको छ । भएका गलत गतिविधिका विरुद्ध अरुले नै लडिदियोस् भन्ने जस्तो छ ।

युवाहरुले भविष्यको सपना विदेशमा देख्न थालेका छन् । यहाँ विकराल बन्दै गएको बेरोजगारीको समस्याको विरुद्धमा संघर्ष उठाउन युवाहरु तयार भइरहेको छैन । ब्रिटिश आर्मी बन्न तयार छ, भारतका आर्मी बन्न तयार छ उनीहरुको लागि लडन तयार छ । तर नेपालको सीमा मिचिँदा युवा लड्न तयार भएको देखिएको छैन ।

अब यसलाई सही दिशामा ल्याउनु पर्छ र युवाहरु विदेश जाने होडवाजीमा लाग्नबाट देशको रक्षा गर्नतिर लाग्न प्रेरित गर्नुपर्छ । स्वदेशको उत्पादन प्रक्रियामा सहभागी हुनुले मात्र देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन सक्दछ । साथै, विदेशमा रहेका युुवाहरु स्वदेशमा फर्किनु पर्दछ । जुन ब्यवस्थाले हाम्रो अवस्था दयनिय बनाएको हो, त्यसका विरुद्ध संघर्ष गर्न पनि हाम्रो संगठन अपिल गर्दछ ।

अन्त्यमा छुटेका केही विषयहरु राखिदिनुस् न ।

अन्तमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा देशभक्त, गणतन्त्रवादी तथा साम्राज्यवादविरोधी युवाहरु एकजुट भएर संघर्षमा जुट्नु पर्दछ । नेपालमा नयाँ जनवादी ब्यवस्था स्थापनाको तयारीमा लाग्नु पर्दछ । यसबाट नै समाजवाद हुँदै मानव सभ्यताको स्वर्णिम समाज साम्यवादसम्म पुग्न सकिन्छ भन्ने दृढविश्वास युवापंक्तिले कायम राख्न जरुरी छ भन्न चाहन्छु ।