रोग भनेको आतंक रहेछ

रोग भनेको आतंक रहेछ

अहिले उपचार गराइरहनु भएको छ, कस्तो महसुस गरिरहनु भएको छ ?

रोगले स्वयम् रोगीमा पनि र आफन्तहरुमा आतंक सिर्जना गर्दोरहेछ । वरपरका छिमेकीहरुलाई पनि आतंकित बनाउँदो रहेछ । उपचार गर्दा र त्यसमा पनि क्यान्सर जस्तो रोगकोे उपचारका लागि अन्तिम उपाए र उपचार पद्धति किमो चढाउने भनेको अर्काे झन् ठूलो आतंक हुदो रहेछ । यो अवस्थासम्म आइपुग्दा मेरो भित्री मनमा केही प्रश्नहरु अवश्य उब्जिएका थिए । किमो चढाएपछि मभित्र उब्जिएको एकखाले आतंकको अन्त्य भयो ।

यसमा मानसिक तथा शारीरिक दुबै कारणहरुले काम गरेका छन् । मानसिक रुपमा आतंक र शारीरिक रुपमा धान्न सक्छ कि सक्दैन भन्ने । यो शरीरको प्रतिरोधात्मक शक्तिमा भर पर्दछ । म हिंडडुल गर्न पनि सक्छु । बिरामी भइसकेपछि मैले शारीरिक र मानसिक रुपमा मनोबलमाथि उठाउनु पर्दथ्यो । मलाई सबैले एउटै कुरामा जोड दिन्छन्, त्यो हो राजनीतिक चेतना भएको मान्छेले मनोबल उच्च बनाएर रोगका विरुद्ध लड्नुपर्दछ भन्ने हो ।

हामीलाई बुझाउन सक्ने मान्छेले आफूलाई बुझाउन सक्नुपर्दछ भन्छन् । यति सोच्दासोच्दै पनि रोगले आक्रमण गरिसकेपछि शरीर कम्जोर त हुँदो रहेछ । तर पनि मानसिक रुपमा त्यति कमजोर भइसकेको महसुस गरेको छैन ।

डाक्टरकोे सुझाव के छ ?

सिनियर डक्टरसँग कुराकानी भइरहेको छ । डक्टरहरुले मलाई आठदश वर्ष आयु लम्ब्याउन सकिन्छ भनिरहेका छन्् । मैले डक्टरहरुको आफ्नै अनुभव, यथार्थ र वस्तुवादी सुझव तथा भद्रपन आदिले गर्दा बढि विश्वस्त हुने आधारहरु पाइरहेको छु । डाक्टरहरुले परिवारका सदस्य तथा म आफू विरामीलाई सँगै राखेर मेरो शारीरिक अवस्थाबारे नलुकाई कुराहरु सबै सामुन्ने भन्ने गरेका छन् । यसबाट डाक्टरहरुले कुनै कुरा छिपाउने वा लुकाउने गरेका छन् कि भन्ने आशंका निवारण भएको छ ।

किमो चढाइ सकेपछिको अवस्था कस्तो छ ?

किमो चढाइसकेपछि शरीरले धान्छ कि धान्दैन भन्ने आशंका थियो । धानेको छ ।
शरीरले त्यसलाई पचायो, स्विकार गर्यो । यसको अर्थ मेरो शरीरमा अझै पनि प्रतिरोधात्मक शक्ति कायमै छ । मेरो लागि उपचारको ढोका खुलेको छ । किमोको पहिलो र दोस्रो चरणको साइकल पूरा भएको छ । किमोको रियाक्सन जति हुन्छ भनिएको थियो, त्यो देखिएन ।

किमो चढाउनु अघि र चढाए पछिको शारीरिक अवस्थामा केही भिन्नता आएको छ ?

पहिलो किमोको कुनै पनि असर देखिएन । दोस्रो किमो चढाएपछि केही समयसम्म बाडुली लागि राख्यो । तर शारीरिक रुपमा अनुभूत नै हुने गरी कुनै पनि परिर्वतन आएको छैन । टाउकोभित्र नसामा केही आराम लिनका लागि कार्बनडाइअक्साइड नपुगेको भन्दा म आश्चर्यमा परे । अक्सिजन त मानिसलाई चाहिन्थ्यो नै, तर कार्बनडाइअक्साइड पनि आवश्यक हुँदो रहेछ । त्यसका लागि प्लास्टिकले मुख छोपेर छ÷सात पटक श्वास फेर्ने र प्लास्टिकबाटै श्वास लिने गर्नाले कार्बनडाइअक्साइडको त्यो मात्रा पूरा हुँदो रहेछ । यसले दुईतीन घण्टाजति आराम दिलाउँदो रहेछ ।

किमो चढाइसकेपछि खानाको रुचीमा भिन्नता आएको छ ?

अमिलो, चिल्लो, पीरो आदि नखाने भनिएको छ । डब्लुबीसी, प्लेटलेट र आरबीसी बढाउने कुरा खाने भनिएको छ । चुकन्दर, अनार जस्ता रगत बढाउने कुराहरु खाने भनिएको छ । यस्ता कुराहरु कुनै न कुनै तरिकाले खाने, कतिपय काचो, कतिपय पकाएर, कतिपय उसिनेर जेजसरी हुन्छ खाने र शरीरलाई आवश्यक कुराहरु लिने भनिएको छ । दिनमा खाना खाइरहने र सकेसम्म बेग्लाबेग्लै ‘आइटम’ खाइरहने । हरियो सागसब्जी, माछामासु, दूध, अण्डा आदि खानका लागि सिफारिस गरिएको छ । फलफूलको रस र जुसहरु पनि खानाका लागि सिफरिस गरिएको छ ।
खानामा ठोस, तरल र अर्धतरल खाद्यपदार्थ लिंदा तपाईलाई कस्तो महसुस हुने गरेको छ ?

खानाका हिसाबले त्यति अप्ठेरो त परेको छैन । मैले दाल, भात र तरकारी सबै खाने गरेको छु । रोटी पनि खाने गरेको छु । खानाले कही त्यस्तो असजिलो पारेको जस्तो लागेको छैन ।
खाना पचेको छ । अहिलेसम्म सहज नै छ ।

खानाको स्वादमा अन्तर आएको छ ?

सागपात र तरकारीको स्वादमा कुनै भिन्नता आएको छैन । दूधको स्वाद फेरिएका छैन । तर दूधबाट बनेको परिकार खीरको स्वाद पूरा आएन । देख्दा खीर छ, तर खाँदा त्यस अनरुपको स्वाद छैन । गिलो भात खाँदा केही सहज महसुस भने हुन्छ । पहिले पनि निकै साह्रो खाना खान नसक्ने अवस्थामा थिए । अहिले यो अवस्था उस्तै छ ।

माछामासु खाँदाको अवस्था के छ ?

माछामासुमा केही स्वाद फेरिएको छ । कुखुराको मासु मन परेको छैन । गन्ध नमीठो आउने गरेको छ । तर खसीको मासु भने निकै रसिलो र स्वादिलो नै हुने गरेको छ । गन्ध पनि र स्वाद पनि पहिलेकै जस्तो छ ।
मैले माछामासु खाइरहेको छु । तर कुखुराको मासुमा गन्ध र स्वाद हराएको छ । पानीको मात्रा पनि बढी नै लिने गरिरहेको छु । पचेको छ पनि । शरीरलाई चाहिने क्यालोरी पुगेकै छ ।

अहिले केही लामो कुराकानी गर्दा झर्को लाग्छ कि लाग्दैन ?

एउटै साथीसँग लामो कुरा त गरिरहन मन लाग्दैन पनि । तर दिनमा धेरै मानिसहरु भेटन आइरहने भएकाले त्यस्तो महसुस भएको छैन । कतिपय अवस्थामा लामो कुराकानी गर्नु पर्ने प्रसंग पनि आउँछ । कतिपय अवस्थामा छोटा र ‘हाइहलो’ मात्र पनि हुने गर्छ ।
कुराकानी सकिए पछि पनि कसैले उही कुरा दोहर्याइरहँदा भने केही झन्झट लाग्छ । एक त यो मानवीय स्वभाव पनि हो । तर रोगी हुनुकै कारणले मलाई यसो भएको भन्ने लाग्दैन ।

हिंडडुल गर्दा कस्तो महसुस हुन्छ ?

हिंडडुल गर्दा त्यति साह्रो फरक भएको महसुस त गरेको छैन । बिहान जाडो भएकाले साँझमा हिंड्ने गरिरहेको छु । हिंडाइमा अझै पनि सरलता र सहजता कायमै छ ।

बिरामी हुनुको चिन्ताका कारणले शारीरिक र मानसिक तादाम्यता कसरी मिलाइरहनु भएको छ ? बढि चिन्तित त हुनुहुन्न?

बिरामी भइसकेपछि चिन्ता त बढ्दो रहेछ । बिरामी भएको सोच बनाउँदिन भने पनि आइहाल्छ । बिरामी वा रोग निको पार्नेमा ध्यान त जाँदो रहेछ । मानवीय स्वभाव काम गर्दा वा कुराकानी गर्दा रोगी छु भन्ने क्षणभर बिर्सिइन्छ पनि । एक्लै हुँदा, रातमा निद्रा नलाग्दा प्रेसर हुने गर्दछ ।

 अहिले स्वास्थ्य लाभ गरिरनुभएको छ र केही समय रेष्ट पनि गरिरहनु भएको छ । लेखनीको कामलाई अघि बढाउन सक्नु होला ?

लेखनीलाई अघि बढाउन म पनि इच्छुक छु । सहयोग गरिदिनु होला ।