काभ्रे । साहसिक खेलको रुपमा लिइने ‘जिपलाइन’ पर्यटकीय क्षेत्र धुलिखेलमा छिट्टै सञ्चालनमा आउन लागेको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमाना रहेको खावामा ‘वर्ल्डवाइड एड्भेञ्चर प्रालि’ ले ‘जिपलाइन’ व्यवसाय सञ्चालन गर्न लागेको हो ।
कम्पनीका सञ्चालक केदार थापाका अनुसार ‘सुपरम्यान जिपलाइन’ व्यवसाय नेपालमै पहिलो भएको दावी गरेका छन् । उनले बताए अनुसार, ‘नेपालमा यस्तो व्यवसाय अर्को छैन । ‘यसमा एक जोडीले एकैपटक हातखुट्टा फैलाएर फ्लाइ(उडेको) जस्तो प्रकृतिमा खेल्न सक्छन्, अरु जिपलाइनमा एक जनाले ‘फूलबडी आर्नेस’मा बसेर खेल्ने हो ।’ सुपरम्यान जिपलाइनका लागि अमेरिकी र क्यानेडेली प्रविधिको सामग्री प्रयोग गरेकाले खासै जोखिम नहुने उनको भनाइ छ ।
पर्यटन विभाग, पर्यटन बोर्ड, उद्योग विभाग र उद्योग मन्त्रालय तथा वन मन्त्रालय लगायतका निकायबाट स्वीकृति लिएर सो व्यवसाय सञ्चालन गर्न लागिएको उनले बताए । नेपाल सरकारको नियमानुसार रू. पाँच लाखको दुर्घटना बीमाको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
हेर्दा संरचनाको हिसाबले सामान्य देखिए पनि नेपाल भूकम्पको दृष्टिकोणले जोखिम क्षेत्रभित्र पर्ने भएकोले बनाउने ठाउँमा माटो परीक्षण गरी टावर हाल्ने काम गरेको उनको भनाइ छ । प्रयोग गरिएका सबै सामान अन्तर्राष्ट्रिय गुणस्तरयुक्त रहेको सञ्चालक थापा बताउँछन् ।
जिपलाइनका लागि मात्रै रू. २ करोड ५० लाख खर्च भएको र सो खेलसँगै त्यहाँ आउनेलाई थप सुविधा प्रदान गर्न तथा बालबालिकालाई उपयुक्त खेलका लागि अरु संरचना निर्माण र व्यवस्थापनको काम भइरहेको छ । व्यावसायिक कार्य सम्पन्न हुँदा रू. ६ करोड लगानी लाग्ने सञ्चालक थापाले बताए ।
व्यवसाय सञ्चालनका लागि करीब ७० रोपनी जग्गामा संरचना निर्माण गर्ने तयारीमा रहेको छ । काठमाडौंबाट पनि नजिक र पर्यटकीय हिसाबले निकै प्रख्यात भएकाले पनि धुलिखेललाई नै रोजेर नयाँ व्यवसायका रूपमा जिपलाइन खेल सञ्चालन गर्न लागेको थापाले बताए । व्यवसाय सञ्चालन गर्न आवश्यक जनशक्तिका लागि स्थानीयवासीलाई प्राथमिकता दिने बताउँदै उनले दक्ष प्राविधिकबाहेक २० देखि २५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताए । व्यवसायको संरचना निर्माणका लागि अहिले प्राविधिक जनशक्ति भारतबाट झिकाएर काम भइरहेको छ ।
जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी ११ सय मिटरको रहेको छ । उनले सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा रू. २ हजार ५ सय र विदेशीको लागि ३५ देखि ४० डलरसम्म लाग्ने बताए । सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल एक दिनमा ६० जनासम्मलाई खेलाउन सकिने उनको भनाइ छ । टिकट बुकिङ गर्नेका लागि तौल र सबै प्रकारको स्वास्थ्य जाँचपछि मात्रै सो खेलमा सहभागी गर्नसक्ने नियम रहेको छ । जिपलाइन खेल सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकको धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यकटको थप आकर्षण बढ्ने पर्यटन व्यवसायी बताउँछन् ।