काठमाडौं । पोखरामा हालै निर्माणाधीन अवस्थामा रहेको सेती बगर–सराङकोट केवल कार निर्माणसँगै पोखराले नयाँ पहिचान अगाडि ल्याउने भएको छ । पर्यटकीय नगरी पोखरामा निर्माण गरिन लागेको यो केवुल कारले २.३ किलोमिटरको केवलकार यात्रा गराउने भएको छ । नयाँ वर्ष २०७६ को आगमनसँगै यसलाई उद्घाटन गरिने लक्ष्य राखिएको बताइएको छ ।
अनुमानित १ अर्ब ४० करोडमा लगानीमा निर्माण गरिन लागेको यो केवुलकार सेवाले प्रतिघण्टा १५०० सेवाग्राहीहरुलाई मनोरञ्जनात्मक सवारी सेवा प्रदान गर्ने छ । प्यारा ग्लाइडिङका उडान सेवाका कारणले निकै चर्चामा आएको सराङकोट अहिले केवुलकार सेवा निर्माणसँगै अर्को भिन्न पहिचानसहित चर्चाको शिखरमा पुगेको छ । यहाँ हाल दैनिक ३ देखि ४ हजारसम्म पर्यटकहरु नियमित आउने जाने गरिरहेका छन् ।
स्थानीय जनताका अनुसार यदि केवुलकारको सेवा सञ्चालनमा आएछ भने त्यहाँ दैनिक न्युनतम् दश हजारको संख्यामा पर्यटकहरु भ्रमणमा आउने विश्वास गरिएको छ । स्थानीय किसानहरु पनि केवुल कार निर्माणसँगै आफूहरुले गरि आएको कृषि व्यवसायमा समृद्धि आउने आशाले निकै खुशी भएका छन् ।