मिचिएको सिमानामा सीमा कायम गर्न विप्लव नेकपाद्वारा काँढेतार लगाइयो

मिचिएको सिमानामा सीमा कायम गर्न विप्लव नेकपाद्वारा काँढेतार लगाइयो

काठमाडौं । दक्षिणको छिमेकी देश भारतले नेपालको सिमानामा अतिक्रमण गरेको भूभाग नेपालभित्रै पार्ने गरी उक्त अतिक्रमणकारी हस्तक्षेपका विरुद्ध विप्लव नेतृत्वको नेकपाले सीमा क्षेत्रमा काँढेतार लगाएको छ । उक्त पार्टीका अनुसार सो कार्य युवाहरुको पंक्तिले सीमा बचाऔं अभियान अन्तरगत चलाएको बताइएको छ ।

माऊ संगठन नेकपाको केन्द्रीय समितिको निर्देशनअनुसार यसको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) ले चितवनको माडी नगरपालिका ५ स्थित सोमेश्वरगढीमा पुगेर काँढेतार लगाएको हो । नेपाल–भारत सिमानामा दिनरात भारतीय पक्षबाट भइरहेको सीमाअतिक्रमणका विरुद्धमा सीमानामै पुगेर उक्त कार्य गरिएको हो । यसले सीमाक्षेत्रका स्थानीय जनताका साथै देशभरका जनतामा निकै सकारात्मक र उत्साहपूर्ण सन्देश दिएको छ ।

भारतले अतिक्रमण गरेका सीमा भू–भाग फिर्ता गर्ने अभियान अन्तर्गत विप्लव नेकपाको युवा शक्ति सीमा निरीक्षण, अनुगमन तथा काँढेतारबार निर्माणमा जुटेको छ । मिचिएका सिमाना चाहे भारत होस् चीनतर्फ, सबैमा काँढेतार लगाउने प्रयास जारी रहने अखिल क्रान्तिकारीले जनाएको छ ।

वामको नाममा सत्तारोहण गरेको ओली सरकारले सीमाहरु बेचेर खाइरहेका बेलामा क्रान्तिकारीहरुले थालनी गरेको सीमा बचाउ अभियान जनताका माझमा आशाको दियो बनेर आएको देशभक्त तथा प्रगतिशील शक्तिहरुले बताउने गरेका छन् । उनीहरुले के कुरामा सतर्क पनि गराउने गरेका छन् भने सीमानामा यसरी देखिने गरी भौतिक रुपमा काँढेतारबार बनाउँदा सीमाना ठ्याक्क र एकीन हुनु पर्छ । यसका लागि विषय विशेषज्ञ जरुरी हुन्छ । अहिले यति साहसिक काम गर्दा पनि हुन सक्ने यो गल्तीप्रति क्रान्तिकारीहरु बेलैमा सचेत हुनु पनि जरुरी छ ।

एकपटक एमाले युवा नेता योगेश भट्टराई सुदुरपश्चिम पुगेर विद्यार्थी लिएर मिचिएको नेपाल भारत सीमानामा झण्डा गाड्न पुगेपछि उनले नेपाल भारत सीमानाको ४ किलोमिटरभित्रै नेपालतिरको भूभागमा एमाले विद्यार्थीको झण्डा गाडेर फर्केका रहेछन् । भारतीय सीमा सुरक्षाकर्मीहरुले त्यही चार किलोमिटरभित्र आएर नेपाली भूभागमा सीमा स्तम्भ नै गाडेका रहेछन् ।

यो कमजोरी क्रान्तिकारीहरुले गर्दा नदोहोरियोस् भन्ने विज्ञहरुको धारणा र सुझाव पनि रहेको छ ।