१० लाख नगद धरेर छुटे पूर्व गभर्नर रावल 

१० लाख नगद धरेर छुटे पूर्व गभर्नर रावल 

 काठमाडौं । पोलिमर वा प्लाष्टिकको नोट छपाइमा भ्रष्टाचारमा मुछिएका पूर्व गभर्नर तिलक रावल दश लाख रुपैयाँको धरौटीमा छुटेका छन् । पोलिमर नोट छपाईमा आर्थिक हिनामिना भएको भनी विशेष अदालतमा परेको भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर रावललाई धरौटी लिएर छाड्न आदेश दिएपछि उनले उक्त रकम जम्मा गरी धरौटीमा छुटेका हुन् ।

उक्त रकम जम्मा गरेपछि विशेष अदालतले रिहा गर्ने निर्णय गर्दा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशहरु रत्नबहादुर बागचन्द र प्रेमकुमार श्रेष्ठ वैद्यको इजलास बसेको थियो । सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा हाजिर हुन पुगेका रावल विशेष अदालतको उक्त फैसलापछि १० लाख नगद बुझाएर त्यहाँबाट निस्कन पाएका थिए ।

पोलिमर नोट एक त नक्कली जस्तो र अर्को कुरा छपाईमा पनि धेरे रकम खचए भएको देखिएपछि रावलमाथि अनुसन्धान भएको थियो । अनुसन्धानमा भ्रष्टाचार भएको ठहर भएपछि अख्तियारले गत पुसमा रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएका हिमालयबहादुर पाँडेका विरुद्ध मुद्दा दायर गरिएको थियो ।

मुद्दा दर्ता गर्दा तीन जनाको कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम हुने गरी तोकिएको थिो । तर रावल बाहेक अरु दुई जना भने अदालतमा उपस्थित भएका छैनन् ।