भरखरै केही दिन अगाडि नेपाल मण्डलको उखाने सरखारले नेपाल मण्डलका लागि दूरगामी महत्व राख्ने ठूलठूला वाइड निर्नय गरेको समाचार छ । यो निर्नयले अब भने साँच्चै केही हुने पक्कापक्की छ । सरकारको यत्रो निर्नयले पर्तिपक्ष र सरकार विरोधीहरू फेन्टै भएर मुर्छा परेका छन् । अब उनीहर्ले यो उखाने सरखार र त्यसका परम मुखिया मिस्टर उखानप्रसादलाई हावादारी, फन्टुस, वाह्यात, बेकुफ, उल्लू कुरा गर्यो, आदि इत्यादि भनेर उडाउँदै ब्यङ्ग्य गर्ने, गाली गर्ने, आलोचना केकेजाति गर्ने सबै काम खत्तम भएको छ ।

हार्दिक शुभकामना !

सरखारले गरेको यत्रो खुसियाली खुसखबर रैती मनुखेलाई सुनाउनु सरखारको कर्तव्य ठानेर उखाने सरखारका पर्वक्ता समेत रहेका कट्वाले मन्तरी गाईहरूका कूलले पत्रकारहर्लाई आफ्नै गोठमा बोलाएर सार्वजनिक गरे । सो अवसरमा यो कैलु पनि टुप्लुक्क घुसेर त्यहाँ पुगेको थ्यो । यो कैलुले कट्वाले मन्तरीलाई प्रश्न सोध्न थालेपछि त अरू पत्रकारहरू अलपत्र भएर ट्वाल्ल परेर बसे । प्रस्तुत छ हाम्रो झर्रोटर्रोका विशेष पर्तिनिधि पत्रकार कैलु र कट्वाले मन्तरीका बीचमा भएको खरो बहसका कुराकन्थरा ।

कैलु : कट्वाले मन्तरीज्यू ! सरखारले त रेल किन्ने भएछ नि कहाँ चलाउने हो ? लिगै नबनाउँदै रेल किन्ने योजना किन बनाएको ?

मन्तरी : हाम्रा पर्धानमन्तरीले देशमा रेल ल्याउने पानीजाँज चलाउने पो भन्नुभएको हो त रेलको लिग बिच्छाउने भनेर त कहीँ भनेको छैन नि । उहाँले जे बोल्नुहुन्च त्यो पूरा गर्नुहुन्च जे बोल्नुभा’छैन त्यो कुरा तपैँलाई किन चाहियो ? रेल किन्ने कुरा ठूलो कि लिग बनाउने ?

कैलु : रेलको लिग नबनाउँदै रेल किन्दा उल्टो भएन र ? कहाँ चलाउने त बाटै नभएपछि ?

मन्तरी : उल्टो कसरी भो ? उहाँ देशको पर्धानमन्तरी हो । सर्बसाधारण मनुखेको कुरा र देशको पर्धानमन्तरीको कुरा एउटै हुँदैनन नि । सर्बसाधारणको भन्दा फरक हुँदा तपाइँलाई उल्टो लाग्न सक्च । पर्धानमन्तरीको कुरा रैतीलाई उल्टो, रैतीको कुरा पर्धानमन्तरीलाई उल्टो । राजनीतिमा यस्तो हुन्च । सरखार बाहिर हुँदा गर्ने कुरा सरखारमा आएपछि हुँदैन । सरखारबाट बाहिर गएपछि सरखारी कुरो हुँदैन । यत्ती पनि था’छैन ?

कैलु : त्यसो भए रेल काहाँ चलाउने त ?

मन्तरी : भृकुटी मण्डपमा पनि त रेल गुडिरहेकै छ नि देख्नुभा’छैन ? रेल नल्याउँदा पर्धानमन्तरीले हावादारी कुरा गर्यो भन्ने अनि किन्ने निर्ने गर्दा किन किन्ने भन्ने ? जतिखेर पनि काइँकाइँ गर्ने ? ऐलेको सरखारले पैला रेल ल्याउँच आर्को चुनाउपछि लिग बनाउँच ।

कैलु : अनि पानी जाँजको अफिस खोल्ने भएछ नि, के पानी जाँज पनि किन्ने हो ? टिकेस काउण्टर पनि खुल्च ?

मन्तरी : हो, पानी जाँजको अफिस अब खुल्च । हाम्ले पानी जाँज पनि किन्चम् । सरखार अब विकास र समृद्धिमा दुर्त गतिले अघि बढ्च । टिकेस किन्न तयार भए हुन्च । हिउँदभरीमा अफिस सफिसको काम र जाँज किन्ने काम सकिन्च । बर्खा लाग्यो भने त काठमान्डुमै जलमग्न हुन्छ, यतै चलाम्ला नि पानीजाँज । त्यै भ’र बन्दरगा पनि चोभारमा खोल्ने निर्ने भएर पर्धानमन्तरीले अस्ति उद्घाटन पनि गरिसक्नु भो । पानीजाँज आउने जाने ठामलाई बन्दरगा भन्छन् नि । हौ त्यै बन्दरगा बनाउने कामको त थालनी नै भैसको । देख्नु भएन, सरखार कति दुर्त गतिमा कुद्या छ । समृद्धि ल्याउने कुरा चानचुने छ र ?

कैलु : चोभारका मनुखेलाई सरखारले किन पक्राउ गरेको ?

मन्तरी : त्याँ बन्दरगा बनाउँदा पानीजाँज आउँच, मालसामान ल्याउँच, अरू देशमा बन्दरगा समुन्द्रको किनारमा बनाउँचन् हाम्ले त राजधानीमै बनाएको कुरा किन विरोध गर्ने ? त्यै भ’र पक्राउ गर्नु परेको हो ।

कैलु ; के अब पानीजाँजको टिकेस काट्ने काम छिटै सुरु हुन्च त ?

मन्तरी ; हुन्च । बन्दरगा बन्ने काम सुरु भैसको । अब जाँज छिटै ल्याएर बागमती, त्रिसुली, उतापट्टी सुनकोसी भोटेकोसी, राप्ती, भेरी, कर्णली, माहाकाली जताततै सबैतिर जाँज चलाउने सरखारको योजना छ । तपाइँ हेर्दै जानुस् सरखारले अब वाइड वाइड निर्ने गर्दै जान्च ।

कैलु : अक्कासमा उड्ने वाइडबडि जाँज किने जस्तो हो, रेल र पानीजाँज किन्ने कुरो ?

मन्तरी : यत्रो वाइड जनमत पाएर बनेको सरखारले वाइड निर्ने त गर्च नि । दुईतिहाईको मत भनेको धमिरोको टाउको जत्रो हो र ? हात्ती हो हात्ती । वाइड सरखार हो, बुझ्नुभो ? त्यसमा केको टाउको दुखाउनु परो ? वाइड सामान किन्दा वाइड कमिसन आउने कुरो राम्रै त हो । सामान किन्दा कमिसन आउने कुरो राम्रै त हो नि । बाहिर जाने पैसो फिर्ता लिँदा त स्यावासी पो दिन पर्च त । कमिसन नलिएर सबै पैसा उतै दिनु राम्रो हो त ?

कैलु : प्रसङ्ग बदलौँ, डाक्टर केसीको कुरा सरखारले किन नसुनेको ? पटक पटक अनसन बस्न दिएर केसी मरे मरोस भन्न चाहेको हो सरखारले ?

मन्तरी : तिनलाई हाम्ले अनसन बस भन्या छम् र ? खुरुखुरु जागिर खाए हुन्न । सरखारले तिनको जागिर खाइद्या त छैन क्यारे । यत्रो समाजवाद ल्याउने सरखारलाई निजी अस्पताल खोल्न रोक भनेर भन्ने ? सरखारले मात्रै अस्पताल खोलेर सरखारलाई हरिकङ्गाल बनाउने हो र ? स्कूल, क्याम्पस सरखारले खोल्ने, अस्पताल सरखारले खोल्ने, उद्योग, कारखाना सरखारले खोल्ने भएपछि हाम्रा दातामाताहरू रिसाउँदैनन् ? सरखार ब्यापारी हो र ? सबै आफैँ गर्ने ? रैतीले खोले भने सबैले कामउनी मौका पाउँचन् । फेरी डाक्टर केसी आजिवन बाँच्ने पनि त हैनन् । मर्ने बाँच्ने कुरो त उनी आफैँ डाक्टर भएको हुनाले उनैलाई था’होला ।

प्रतिक्रिया

सम्बन्धित खवर