कार्ल मार्क्स मार्क्सवादका प्रवर्तक हुनुहुन्छ । कार्ल मार्क्स वैज्ञानिक साम्यवादका सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सको सहयोगमा मार्क्सवादको प्रतिपादन गर्नु भयो । मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन घोषणा गरेपश्चात् मार्क्सवादको प्रतिपादन हुन पुग्यो । मार्क्स एक वैज्ञानिक सिद्धान्त हो । मार्क्स एउटा गतिशील सिद्धान्त हो र मार्क्स सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक पथप्रदर्शक सिद्धान्त हो, मार्गदर्शक सिद्धान्त हो ।

हार्दिक शुभकामना !

आज मार्क्सवादले पहिलो चरणमा मार्क्सवादको चरणको विकास गरेको छ । मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास भएको छ । मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ । र, निरन्तर सृजनात्मक विकासको गतिमा अगाडि बढिरहेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाइका रुपमा मार्क्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ ।

माओवादलाई आजको विश्वको मार्क्सवाद–लेनिनवादका रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । यहाँनेर ध्यान दिन अति जरूरी छ कि आजको विश्वको मार्क्सवाद–लेनिनवाद भएकाले नै संसारभरका प्रतिक्रियाहरु तथा संशोधनवादीहरुले माओवाद एवम् माओवादीहरुमाथि प्रतिक्रियावादीहरु तथा संशोधनवादीहरुले माओवाद एवम् माओवादीहरुमाथि सैद्धान्तिक रुपमा भ्रम सिर्जना गर्ने र भौतिक रुपमा भीषण हमला गरिरहेका छन् ।

यहाँनेर अर्को ध्यान दिनै पर्ने जरूरीको कुरा के छ भने मार्क्सवाद–लेनिनवादको स्थापना कम्युनिष्ट क्रान्तिकारीहरुद्वारा सबैखाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवाद विरूद्धको भीषण वर्गसंघर्ष र वैचारिक संघर्षका क्रममा भएको हो, त्यसरी नै आज माओवादको स्थापना पनि नियम संघर्षका बीचबाट भइरहेको छ, तर जग चाहिँ मार्क्सवाद नै हो ।

अतः यस लेखकमा मार्क्सवादको प्रतिपादन, विकास र रक्षाको सवालमा जुन कार्ल मार्क्सको अत्यन्तै महत्वपूर्ण एवम् अतुलनीय योगदान रह्यो । यिनै विषयहरुमा केन्द्रित रहेर लेख्ने प्रयत्न गरिएको छ ।

कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ तारिखका दिन जर्मनीको प्रसिया अन्तरगत ट्रियर सहरको एक वकिल परिवारमा भएको थियो । उहाँका बुबा हेनरिख मार्क्स र आमा हेनरियेंट्टा मार्क्स (हल्याण्ड) हुनुहुन्थ्यो । उहाँको परिवारमा चार दाजुभाइ र पाँच दिदीबहिनी हुनुहुन्थ्यो । मार्क्स माइला छोरा हुनुहुन्थ्यो । मार्क्सको विवाह सन् १८४३ जुन १९ तारिखका दिन जर्मनीको सानो शहर क्रेश्चनारवमा जेनी बेष्टफालेनसँग भएको थियो । मार्क्सका सन्तानहरुमा चार छोरी (जेनी, लाउरा, फ्रान्चिस्का, एलेओनोरा र दुई छोरा (एडगार र गिदो) थिए ।

सन् १८८३ मार्च १४ तारिखका दिन कार्ल मार्क्सको मृत्यु भएको थियो । सन् १८८३ मार्च १७ तारिख शनिवारका दिन लण्डनको हाइगेट चिहानमा मार्क्सको शब गाडियो, जहाँ जेनी मार्क्सको अस्तु पनि राखिएको थियो ।

अप्रिल १८४१ मा मार्क्सले भियना विश्वविद्यालयबाट दर्शनशास्त्रमा डाक्टरी (विद्यावारिधी) प्राप्त गर्नु भएको थियो । डेमोक्रेटिक प्रकृति दर्शन र एयकुलरको प्रकृति दर्शनबीचको विषयमा मार्क्सले थेसिस लेख्नु भएको थियो । सन् १८४२ नोभेम्वरमा क्लोनस्थित राइन (Rhieinsche zeitung) पत्रिकाको कार्यालयमा मार्क्स र एंगेल्सका बीच पहिलो पटक भेट भयो । त्यतिवेला मार्क्सले राइन पत्रिका (Rhieinsche zeitung) र नयाँ (Rhieinsche zeitung) को सम्पादकत्व गर्नु हुन्थ्यो ।

मार्क्सलाई ग्रिक, ल्याटिन, जर्मनी र अंग्रेजीको उत्कृष्ट ज्ञान थियो भने इटालियन र स्पेनिस भाषामा लेख्न र पढ्न सक्नु हुन्थ्यो । अभाव र गरिवीका कारण मार्क्सका छोराछोरीहरुले अकालमै मृत्युवरण गर्न पुगेका थिए । सन् १८५० मा सानो छोरा गिदो, सन् १८५२ मा साहिँली छोरी फ्रान्चिस्का (१ वर्षको उमेरमा) सन् १८५५ मा जेठो छोरा एडगार (८ वर्षको उमेरमा) र सन् १८८३ मा जेठी छोरी जेनी (३८) वर्षको उमेरमा मृत्यु भएको थियो ।

सन् १८८१ डिसेम्वर २ का दिन मार्क्सको जीवनसंगिनी जेनी मार्क्सको पनि मृत्यु भएको थियो । कार्ल मार्क्स सर्वहारावर्गको महान सिद्धान्तकार हुनुहुन्छ । कार्ल मार्क्स मार्क्सवादका प्रतिपादक हुनुहुन्छ । उहाँले जुन मार्क्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । त्यसले विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका लागि साम्यवाद प्राप्तिको संघर्ष गर्नका निम्ति सैद्धान्तिक राजनीति र साँगठनिक रुपले उत्प्रेरित हुन गयो ।

सन् १८४७ मा लण्डनमा सम्पन्न कम्युनिष्ट लिगको दोस्रो महाधिवेशनले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सलाई कम्युनिष्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मेवारी सुम्प्यो । मार्क्स–एंगेल्सले एक वर्ष लगाएर कम्युनिष्ट पार्टीको घोषणापत्र तयार पार्नु भयो र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट मार्क्स एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्र जारी गर्नु भयो । त्यसपश्चात् विश्व सर्वहारावर्गले मार्क्सवादका रुपमा, मार्क्सवादी दर्शनको रुपमा आफ्नो मुक्तिको सैद्धान्तिक अस्त्र प्राप्त भयो । यस विषयमा स्वयम् मार्क्स–एंगेल्स संकलित रचनाहरु भाग ३, पृष्ठ १२ मा “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार प्राप्त गर्दछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार प्राप्त गर्दछ ।” दर्शनका विषयमा मार्क्सले “प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो” भन्नु भएको छ ।

मार्क्सवाद र मार्क्सवादी दर्शनमा सर्वहारावर्गले संसारलाई ठिकसित बुझाउने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक अस्त्रका रुपमा भेटाएको सन्दर्भमा यसको महत्वबारे आप्mनो संकलित रचनाहरु भाग १९, पृष्ठ २५ मा लेनिनद्वारा लेखिएको छ, “मार्क्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रुपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरु प्रदान गरेको छ ।”

वास्तवमा मार्क्सको दर्शन सर्वहारावर्ग र त्यसका राजनीतिक तथा सैद्धान्तिक प्रतिनिधिहरुको हातमा एउटा प्रभावशाली र शक्तिशाली हतियार साबित भइसकेपछि त्यसमा द्वन्द्वात्मक भौतिकवाद भनिएको उक्त दर्शन सम्पूर्ण मार्क्सवादी सिद्धान्तको आधार बन्न पुगेको सन्दर्भमा मार्क्सवादको दार्शनिक पक्षको महत्वलाई कमरेड माओले आफ्नो चुनिएका रचनाहरु, अंग्रेजी संस्करण, भाग ५, पृष्ठ १६० मा अगाडि लेख्नुहुन्छ, “मार्क्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ : मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात् वर्ग संघर्षको सिद्धान्त तर जगचाहिँ मार्क्सवादी दर्शन हो । यदि यसलाई मनन् गरिएन भने हाम्रो एउटा साझा भाषा वा साझा तरिका हुने छैन, हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्कमात्र गरिहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसकेपछि, थुप्रै दुःखकष्टबाट जोगिने छ र धेरै गल्तीहरु हट्नेछन् ।”

मार्क्स–एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्र जारी भएपश्चात् तत्कालीन दुनियाँमा हलचल पैदा गरि दियो । यस विषयमा कम्युनिष्ट घोषणापत्रको सुरूमै मार्क्सले लेख्नुभएको छ–

“युरोपमा एउटा हाउँ घुमफिर गरिरहेको छ– साम्यवादको हाउँ । यस हाउँलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरु एक भएका छन् ।

कुन यस्तो विरोधी पार्टी छ, जसलाई सत्ताधारीहरुले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ, जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरुलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरुलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?
तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरुले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरुले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरु, आफ्ना उद्देश्यहरु, आफ्ना प्रयासहरु खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउँसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नु परेको छ ।”

(कार्ल मार्क्स–फ्रेडरिक एंगेल्स, संकलित रचनाएं (हिन्दी) तीन खण्डोंमे, खण्ड १, भाग १, पृष्ठ १२९, प्रगति प्रकाशन, मास्को) ।
विश्वविख्यात कम्युनिष्ट घोषणपत्रको मस्यौदा तयार पारेर जसरी घोषणा समेत स्वयं मार्क्स–एंगेल्स गरेर मार्क्सवाद र मार्क्सवादी दर्शनका क्षेत्रमा मार्क्स–एंगेल्सले ज्यादै महत्वपूर्ण र अतुलनीय योगदान गर्नु भयो ।

मुख्यतः कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स दुवैको संयुक्त प्रयासबाट मार्क्सवादको प्रतिपादन भयो । यस विषयमा लेनिनले अगाडि लेख्नु हुन्छ, “मार्क्सवाद मार्क्सका विचारहरु र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो । उन्नाइसौं शताब्दिमा मार्क्सवादका तीन संघटक तत्वको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरुमा पैदा भएका तीन मुख्य विचारधाराहरु शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरुसँग संलग्न फ्रान्सेली समाजवादलाई मार्क्सले अगाडि बढाउनु भयो र तिनलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाउनु भयो ।” लेनिन, संकलित रचनाएँ, दश खण्ड मे खण्ड ५, पृष्ठ २६, प्रगति प्रकाशन, १९८२) ।

मार्क्सवाद सर्वहाराक्रान्तिको विज्ञान हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाज साम्यवाद यसका आधारभूत मान्यता हुन् भन्ने कुरा विज्ञानद्वारा मार्क्सले निक्यौल गरेर, मार्क्सवाद तथा मार्क्सवादी दर्शनका क्षेत्रमा ठूलो योगदान पुर्याउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर