परराष्ट्र नीतिमा स्खलन

नेपालमा आइपरेको अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परराष्ट्र सम्बन्धकै हो । नेपालले हालसम्म अपनाउँदै आएको परराष्ट्र नीति त्यही रुपमा कायम नभएको राजनीतिक विश्लेषक तथा कुटनीतिज्ञहरुले गम्भीरताका साथ औंल्याइरहेका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय कुटनीतिक मामला भनेको यसको भौतिक जीवन पनि हो । उत्तरतिर चीन र दक्षिणमा भारत जस्ता बिसाल देशहरुका बीचमा रहेको नेपाल यी दुवैको स्वार्थ र टकरावका कारण एक अग्निरेखाका रुपमा रहने गरेको छ । यसको जीवन खुकुरीको धारमा बाँचे सरह हुने गरेको छ । यसको पछाडिको कारण चीन एक ध्रुवमा रहनु र भारत अर्को ध्रुवमा रहनु हो । शक्ति राष्ट्रहरुका बीचमा चलिरहने ध्रुवीकरणको प्रक्रियाले नेपाललाई असंलग्न परराष्ट्रनीति सबैभन्दा उत्तम भएको सिद्ध गरेको हो । यही नीति र यसको चातुर्यतापूर्वक प्रयोगका कारणले नै नेपाल हालसम्म अस्तित्वमा पनि रहँदै आएको हो र विश्व मानव समाजमा यसले एक स्वतन्त्र र सार्वभौम पहिचान पनि बनाएको हो ।

असंलग्न परराष्ट्र नीति पञ्चायत कालमा आएर मूर्त रुपमा परिभाषित भएको र देखिने गरी कार्यान्वयनमा रहेको हो । पञ्चायतको ३० वर्षसम्मको सापेक्ष सत्ता स्थिरता र यसले गरेको प्रचार तथा कार्यान्वयनका कारणले असंलग्न परराष्ट्र नीति पञ्चायत र पञ्चहरुल विकास गरेको र त्यसमा पञ्चायतको गन्ध आउने तर्कहरु पनि धेरै कुटनीतिज्ञहरुको रहेको छ । तर कुरा त्यति मात्र होइन, नेपाल देश अस्तित्वमा आएदेखि नै असंलग्न परराष्ट्र नीतिको मूर्त वा अमूर्तरुपमा छलफल, अवलम्वन र कार्यान्वयन हुँदै आएको हो । यो नेपालका लागि हालसम्मको सबैभन्दा बढी उपयोगी र फाइदाजनक परराष्ट नीति सिद्ध हुँदै आएको पनि हो ।

तर हाल आएर यो असंलग्न परराष्ट्र नीतिमा घोषित वा अघोषित रुपमा विचलन आएको छ । यो बिचलन सरकारका क्रियाकलाप र सत्ताधारी दलका गतिविधिका कारण आएको हो । वर्तमान ओली सरकार र यसको सत्ताधारी दल नेकपाले न त घोषित रुपमा अर्को नयाँ वा परिमार्जित वा निर्मित वैदेशिक कुटनीति बहसमा ल्याएको वा प्रयोगका लागि तयार पारेको छ, न त यसले असंलग्न परराष्ट्र नीति नै अबलम्बन गरेको छ । यसको दलाल र बहुरुपी चरित्र तथा विचारविहिनताले सिंगो नेपाललाई उल्झनमा पारेको छ । ओली सरकार तथा सत्ताधारी दल नेकपाको परराष्ट्रसम्बन्धी सोच, नीति तथा व्यवहारबाट उत्तरको छिमेकी देश चीन त सशंकित छ नै, दक्षिणको छिमेकी देश भारत पनि उत्तिकै उत्तेजित र सशंकित हुन पुगेको छ ।

नेपालका वर्तमान सत्ताधारीहरु यो गम्भीर कुरालाई कुनै पनि गम्भीरताका साथ लिएका छैनन् । उनीहरु एउटा कार्यक्रममा क्रिश्चियन बनिदिन्छन्, ‘होली वाइन’ ले सेचन गर्छन् र ‘व्याप्टिज्म’ नुहाएर धर्म परिवर्तन गरिदिन्छन् । त्यसैका लागि सिंहदरवारको प्रधानमन्त्री कार्यालय पनि होटल सोल्टीमा सारेर हप्तौंसम्म बस्छन् । अनि अर्को हेडक्वाटर बनाएर सत्ता चलाउँछन् । यो सर्सर्ती हेर्दा त केही पनि होइन, तर अन्तर्यमा नेपालको सार्वभौम मर्ममाथि ‘डमी’का रुपमा प्रयोग गरिएको ‘ट्रेलर’ नै हो ।

नेपालको आफ्नो स्वार्थ, स्वाभिमान र हैसियत छ । तथापि अहिले त्यसमाथि चुनौती आइपरेको छ । यो चुनौती वर्तमान राजनीतिक दलाल तथा बिचौलियाहरु सत्तामा हाबी भएका कारणले आएको हो । सत्तासिन दलालहरु आफैमा बहुरुपी र बहुुरंगी छन् । यिनीहरु एउटा कार्यक्रममा हिन्दुको सुनपानी छर्कन्छन् भने अर्को कार्यक्रममा गएर क्रिश्चियनको होली वाइनले पूरै शरीर शेचन र्गछन् । एउटा कार्यक्रममा चीन विरोधी भएर प्रस्तुत हुन्छन् भने अर्को कार्यक्रममा भारत विरोधी भएर देखा पर्दछन् ।

यिनका बहुरुपी दलाल सोचका कारणले नेपालको अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्धमा नेपालकै इतिहासमा सबैभन्दा स्खलन आएको छ । यसले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाभिमान, पहिचान र विश्वास र सहकार्यमा निकै नै आशंकाहरु उत्पन्न गराएको छ । नेपाली जनता यसबारेमा जनस्तरमा नै सचेत बन्न जरुरी छ ।