टोट्टनहाम इङ्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लियो

प्रकाशित मिति : २०७५ पुस १२

एजेन्सी । बुधबार राति भएको खेलमा बर्नमाउथलाई ५–० गोल अन्तरले हराउँदै टोट्टनहाम इङ्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा टोट्टनहामको जितमा क्रिस्टियन इरिक्सनसनले १६ औं मिनेटमा खाता खोले ।

सन ह्युङ मिनले २३ औं र ७० औं मिनेटमा दुई गोल गरे । लुकास मौराले ३५औं र ह्यारी केनले ७५औं मिनेटमा एक–एक गोल थपेका थिए । यस जितसँगै टोट्टनहामले म्यानचेस्टर सिटीलाई एक अंकले पछि पारेको छ । टोट्टनहामले १९ खेलबाट ४५ अंक बनायो । तेस्रो स्थानमा रहेको सिटीको ४४ अंक छ ।

चेल्सीको जितमा हाजार्ड बने हिरो
चेल्सीले वाटफोर्डलाई २–१ गेलले हराएको छ । बुधबार राती वाटफोर्डको मैदानमा खेलिएको खेलमा चेल्सीलाई जिताउन दुवै गोल इडेन हाजार्डले गरेका थिए । ४५ औं मिनेटमा खाता खोलेका हाजार्डले ५८ औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरेका थिए ।

वाटफोर्डले चेल्सीको पहिलो गोल लगत्यै बराबरी गोल फर्काएको थियो । वाटफोर्डका रोबर्टो पेरेराले गोल गरेका थिए । जितसँगै चाथो स्थानमा रहेको चेल्सीले १९ खेलबाट ४० अंक बनाएको छ । २७ अंक बनाएको वाटफोर्ड नवौं स्थानमा छ ।

लगातार दोस्रो जित निकाल्दै युनाइटेड

लिगमा खराव प्रदर्शन गरेपछि प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको म्यानचेस्टर युनाइटेड अहिले लयमा फर्किएको छ । नयाँ प्रशिक्षक गनर सोल्स्कसायरको प्रशिक्षणमा रहेको युनाइटेडले लगातार दोस्रो जित निकलेको हो । खेलमा युनाइटेडले हडर्स्फिल्ड टाउनलाई ३–१ गोलले हरायो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन नेमान्जा माटिचले २८औं मिनेटमा खाता खोले पाउल पोग्बाले ६४ औं र ७८ औं मिनेटमा दुई गोल गरेका थिए । हडर्स्फिल्डका लागि माथिस जोर्गनसनले ८८ औं मिनेटमा सान्त्वना गोल फर्काए । जितसँगै छैटौं स्थानमा रहेको युनाइटेडले १९ खेलबाट ३२ अंक जोडेको छ ।