मार्क्सवाद–लेनिनवाद–माओवाद र सर्वहारा मुक्तिको प्रश्न

प्रकाशित मिति : २०७५ पुस १२

- भरत बुर्जामगर

मार्क्सवाद जर्मन दार्शनिक एवम् समाजशास्त्री कार्ल मार्क्स (१८१८–१८८३) र फेडरिक एंगेल्सद्वारा (१८२०–१८९५) सहकार्यमा प्रतिपादित र विकसित गरिएको सर्वहारा वर्गको मुक्तिको वैज्ञानिक सिद्धान्त हो । मार्क्सवाद विश्व बदल्ने सर्वोकृष्ट सिद्धान्त हो । मार्क्सवादका तीन संघटकहरु दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद हुन् ।

दर्शन भन्नाले जीवन र जगतलाई हेर्ने, बुझ्ने र देख्ने भित्री आँखा हो । अहिलेको वर्ग विभाजित विश्व समाजमा आध्यात्मवाद र भौतिकवाद दर्शनहरु विद्यमान छन् ।  आध्यात्मवादले जीवन र जगत ईश्वरले बनाएको हो र ईश्वरले परिचालन गर्दछन् भन्ने कुरा विश्वास गर्दछ । तर भौतिकवादले जीवन र जगत संघर्षद्वारा निर्मित मान्दछ ।

जर्मन दार्शनिक विल्ेहल्म फेडरिक हेगेलले (१७७०–१८३१) अध्यात्मवादको विकास गरी द्वन्द्वात्मक अध्यात्मवाद (वस्तुनिष्ट) परिस्कृत गरे । जर्मन दार्शनिक लुडविक फायरबाखले (१८०४–१८७२) अध्यात्मवादको खण्डन गर्दै भौतिकवाद प्रतिपादन गरे । मार्क्सले हेगेलको दर्शनबाट द्वन्द्ववाद र फायरबाखको भौतिकवाद मिलाएर द्वन्द्वात्मक भौतिकवाद प्रतिपादन गर्नुभयो ।

मार्क्सले भौतिक विज्ञान, दर्शशास्त्र र इतिहास अध्ययन गर्नुभयो । कार्ल मार्क्सले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद प्रतिपादन गर्नुभयो । मार्क्सवादी दर्शन जर्मनीमा प्रतिपादत भयो । विश्वका सबै चीज दुई परस्परविरोधी तत्वहरु मिलेर बनेको हुनाले हरेक वस्तुभित्र आपसी द्वन्द्व (संघर्ष) चल्नुको साथै त्यो वस्तुलाई गतिशील बनाउँछ । जगत र जीवन द्वन्द्वात्मक प्रक्रियाबाट अघि बढिरहेछ भन्ने मान्यतालाई द्वन्द्ववाद भनिन्छ । द्वन्द्ववादका तीन नियमहरुमध्ये पहिलो, विपरीतहरुको एकता, संघर्ष र रुपान्तरण, दोस्रो, गुणको मात्रामा र मात्राको गुणमा रुपान्तरण तथा तेस्रो, निषेधको निषेध हुन् ।

मानव समाजको इतिहासलाई वस्तुवादी तरिकाले व्याख्या र विश्लेषण गरी निकालिएको संश्लेषणलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । ऐतिहासिक भौतिकवादी मान्यताअनुसार मानव समाजको विकास परापूर्व कालमा  आदिम साम्यवादी समाज, त्यसपछि दास–स्वामी समाज, त्यसपछि सामन्तवादी समाज अनि पुँजीवादी समाज र समाजवादी समाज हुँदै अन्त्यमा वैज्ञानिक साम्यवादी समाज हुनेछ ।

आदिम साम्यवादी समाजमा श्रमविभाजन पछि निजी औजारको विकासको क्रममा निजी सम्पत्ति र निजी परिवार राख्न सुरु भयो । आदिम साम्यवादी समाजको अन्त्य र दास–स्वामी समाजको उदय भयो । दास र मालिक दुई परस्पर विरोधी वर्ग बीच संघर्ष भई दास समाजको अन्त्य र सामन्तवादी समाजको उदय भयो ।

सामन्तवादी समाजमा किसान र सामन्तको संघर्षबाट सामन्तवादी समाजको अन्त्य भई पुँजीवादी समाजको उत्पत्ति भयो । पुँजीवादले सर्वहारा वर्गको जन्म दियो । पुँजीपति वर्ग र सर्वहारा वर्गबीच संघर्ष भई पुँजीवादी समाजको अन्त्य र समाजवादी समाजको जन्म हुनेछ । विश्व समाजवादको विकासको क्रममा सर्वहारा वर्गको राज्यसत्ता विलोप भई वैज्ञानिक साम्यावादी समाज आउनेछ ।

राजनीतिक अर्थशास्त्र मानवीय क्रियाकलापको अध्ययन गर्ने शास्त्र हो । उत्पादक शक्ति र उत्पादन सम्बन्ध, जसलाई उत्पादन प्रणाली भनिन्छ । उत्पादक शक्ति र उत्पादन सम्बन्ध वीच द्वन्द्वात्मक एकत्व । राज्य प्रणाली, उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास र श्रमको अतिरिक्त मूल्यको सिद्धान्त आदि विषयमा अध्ययन गरिने विषय नै राजनीतिक अर्थशास्त्र हो । अतिरिक्त श्रमको मूल्यको लागि सर्वहारा वर्गले पुँजीपति वर्गको राज्यसत्ता ध्वत गरेर समाजवादी क्रान्ति गर्नेछन् । राजनीतिक अर्थशास्त्रको विकास बेलायतमा भयो । दास–क्यापिटलमा यसको वर्णन गरिएको छ ।

वैज्ञानिक समाजवादको बारेमा मार्क्सएंगेल्सले यसरी व्याख्या गरेका छन्– पुँजीवादी समाजमा बहुसंख्यक जनता सर्वहारा हुन्छ । अल्पसंख्यक पुँजीपति वर्गको राज्यसत्तालाई सर्वहारा वर्गले सशस्त्र बलद्वारा ध्वंश गरी सर्वहारा वर्गको अधिनायकत्व कायम गरेपछि समाजवादी क्रान्ति हुन्छ । कलकारखाना राष्ट्रियकरण गरी समाजको अधीनमा हुन्छ ।

त्यसैले, समाजवादी समाजमा रहेकलाई ‘क्षमताअनुसार काम, काम अनुसार ज्याला’ भन्ने हुन्छ । विश्वभरि समाजवादी क्रान्ति भई विकास गरेपछि राज्यसत्ता विलोप भई वर्गविहीन समाज बन्दछ, त्यही हो साम्यवादी समाज र कम्युनिस्टहरुको अन्तिम लक्ष्य । समाजवादको विकास फ्रान्सबाट भएको हो ।

मार्क्स र एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र पारित गरेपछि मार्क्सवाद सर्वहारा वर्गको महान् हतियार बन्न गयो । सन् १८७१ मा पेरिसका मजदुरहरुले सशस्त्र विद्रोह गरेर ७२ दिन सत्ता पनि चलाए, पेरिसमा कम्युनार्डहरुले । तर पुँजीपति वर्गको राज्य सत्ता ध्वंश नगरेकाले पेरिस कम्युनको सत्तामा पुँजीपति वर्गले प्रतिक्रान्ति गरी फेरि कब्जा गरेर आफ्नो हातमा लिए । राज्यसत्ता प्राप्त गर्न बल प्रयोगको भूमिका अनिवार्य हुन गयो । पुँजीवादी देशमा सर्वहारा वर्गले कम्युनिस्ट पार्टी निर्माण गरी सशस्त्र विद्रोहद्वारा समाजवादी क्रान्ति गर्नु पर्छ र साम्यवादमा पुग्न सकिन्छ भन्ने मार्क्सवादी मान्यता हो ।

रुसका भ्लादिमीर इल्यिच उल्यानोभ लेनिनले (१८७०–१९२४) मार्क्सवाद गहिरोसँग अध्ययन गर्नुभयो । मार्क्स र एंगेल्सको मृत्युपछि लेनिनले मार्क्सवादको तीनै संघटक अंगहरुको अध्ययन गरी माथि उठाउनु भयो । १९ औं शताब्दीमा मार्क्सले तात्कालीन वस्तुगत परिस्थितिको विश्लेषण गर्दै विश्वमा एकैपटक समाजवादी क्रान्ति सम्भव छ भन्नु भएको थियो । लेनिनले २० औं शताब्दीमा पँुजीवादले साम्राज्यवादको रुप लिएपछि विकसित वस्तुगत परिस्थितिको ठोस विश्लेषण गरी एउटा देशमा पनि समाजवादी क्रान्ति संम्भव छ भनेर ‘एक देशीय समाजवाद’ को मान्यता अघि सार्नुभयो । मार्क्सवादलाई अध्ययन गरी व्यवहारमा प्रयोग गर्नु भयो । पेरिस कम्युनको कमजोरी हटाई मिलिट्यान्ट् कम्युनिस्ट पार्टीको अवधारणा ल्याउनु भयो ।

सर्वहाराको सत्ता समाजवादी राज्यको अवधारणा र कसरी क्रान्ति गर्ने भन्नेमा सशस्त्र जनविद्रोह अथवा अल्पकालीन सशस्त्र आमविद्रोहको फौजी विज्ञान दर्शनको प्रतिपादन गर्नुभयो । लडाकु कम्युनिस्ट पार्टी निर्माण, सहरबाट गाउँ घेर्ने, वैधानिक आन्दोलनबाट अवैधानिक आन्दोलनमा फड्को मार्ने र केन्द्रीय सत्ता लिई स्थानीय सत्ता थप्दै जाने विशेषता भएको संघर्षको फौजी रणनीतिबाट सन् १९१७ अक्टोबर २५ का दिन रुसमा समाजवादी क्रान्ति लेनिनको नेतृत्वमा सम्भव भयो । सन् १९२४ मा लेनिनको मृत्युपछि स्टालिनले लेनिनको विचारलाई लेनिनवादको रुपमा सम्बोधन गर्नु भयो ।

मार्क्सवादलाई महान् लेनिनले मार्क्सवाद–लेनिनवादको रुपमा विकास गर्नुभयो । लेनिनले क्रान्ति सिधा रेखामा होइन, बक्ररेखा भएर अघि बढ्छ भन्नु भएको थियो । सर्वहारा वर्गको अधिनायकत्व, निरन्तर क्रान्ति र जनवादी केन्द्रियताको सांगठनिक सिद्धान्त लेनिनले थप गरी मार्क्सवाद–लेनिनवादलाई थप उचाइमा पु¥याउनु भयो । रुसी क्रान्तिलाई विश्व क्रान्तिको अभिन्न अंगको रुपमा लिई सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रिय गठन गर्नुभयो ।

चीनका कमरेड माओले (१८९३–१९७६) मार्क्सवाद–लेनिनवादलाई गहिरोसित अध्ययन गरी मार्क्सवाद–लेनिनवाद–माओवादको रुपमा उच्च तेस्रो चरणमा विकास गर्नुभयो । पँुजीवादको विकास नभएको देशमा कस्तो क्रान्ति हुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै लेनिनले भन्नुभएको थियो– “जहाँ पुँजीवादी क्रान्ति भएको छैन, त्यहाँ जनवादी प्रकारको क्रान्ति हुन्छ, कस्तो र कसरी भन्ने कुरा त्यहाँको कम्युनिष्ट पार्टी र कमरेडहरुले थाह पाउनुहुने छ ।”

सन् १९२१ मा चीनमा कम्युनिस्ट पार्टी स्थापना भयो । लेनिन र स्टालिनले चिनियाँ कम्युनिस्ट पार्टीलाई चीनमा राजनीतिक कार्यदिशा समाजवादी र सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा पारित गर्न सल्लाह दिए बमोजिम अघि बढ्दा सहरमा ठूलो दमन ग¥यो, च्याङकाइशेकले । बचेका कमरेडहरु गाउँमा गए । त्यहीबाट जनआधार तयार गरी गाउँबाट शहर घेर्ने, अवैधानिक आन्दोलन प्रधान र वैधानिक आन्दोलन सहायक र स्थानीय सत्ता कब्जा गर्दै अन्त्यमा केन्द्रीय सत्ता खोस्ने चिनियाँ मोडलको क्रान्ति गर्ने तरिका मार्क्सवाद–लेनिनवादमा आधारित भएर कमरेड माओद्वारा विकास गर्ने काम भयो ।

पँुजीवादी विकास नभएको देशमा कस्तो र कसरी क्रान्ति गर्ने भन्ने लेनिनलाई सोधेको प्रश्नको जवाफ कमरेड माओले यसरी दिनुभयो– “चीन अर्धसामन्ती, अर्ध–औपनिवेशिक देश चीनमा गर्नु पर्ने क्रान्ति, नयाँ पुँजीवादी जनवादी अर्थात् नयाँ जनवादी क्रान्ति, दीर्घकालीन जनयुद्धद्वारा कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पूर्ण जनताको अधिनायकत्व हुन्छ भन्ने कुरा प्रष्ट्याउनु भयो ।”

यसरी मार्क्सवाद–लेनिनवादमा क्रान्तिको चरणको विकास गरी नयाँ जनवाद, समाजवादहुँदै साम्यवादमा जाने चरणको विकास गर्नुभयो । त्यस्तै मार्क्सवाद–लेनिनवादमा फौजी दर्शनको विकास गरी दीर्घकालीन जनयुद्ध (जुन रक्षा, सन्तुलन हुँदै प्रत्याक्रमणबाट अघि बढछ) क. माओले प्रतिपादन गर्नुभयो । आधुनिक संशोधनवादी ख्रुश्चेभविरुद्ध महान् बहस चलाउँदै सच्चा मार्क्सवाद–लेनिनवादको रक्षा गर्नुभयो । यसै क्रममा लेनिले भने झैं क्रान्ति उतारचढावबाट अघि बढ्छ, जस्तै क्रान्ति, प्रतिक्रान्ति र पुनः क्रान्ति ।

प्रतिक्रान्ति रोक्न कमरेड माओले दर्शनमा निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो । निरन्तर क्रान्ति भनेको (क) वर्ग संघर्ष चलाउनु, (ख) उत्पादनमा संघर्ष गर्नु, (ग) वैज्ञानिक प्रयोग गर्नु र (घ) अभियानगत रुपमा सर्वहारा सांस्कृतिक क्रान्ति आन्दोलनको रुपमा अघि बढाउनु हो । “दुई मिलेर एक हुन्छ” भन्ने संशोधनवादी विचारविरुद्ध “एक फुटेर दुई हुन्छ” भन्ने मान्यतालाई कमरेड माओले स्थापित गर्नु भयो ।

यसरी कार्ल मार्क्स र एंगेल्सले मार्क्सवादको स्थापना गर्नुभयो । लेनिन र स्टालिनले रुसमा मार्क्सवाद प्रयोग गर्दैजाँदा लेनिनवाद अथवा मार्क्सवाद–लेनिनवादमा विकास भयो । कमरेड माओले मार्क्सवाद–लेनिनवादलाई चीनमा प्रयोग गर्दा मार्क्सवाद–लेनिनवाद–माओवादको रुपमा उच्च तेस्रो चरणमा विकास गर्नुभयो ।