१२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन लेनोभोले लञ्च गर्याे

१२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन लेनोभोले लञ्च गर्याे

एजेन्सी । चिनियाँ कम्पनी लेनोभोले १२ गिगाबाइट क्षमताको र्याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । लेनोभोले मंगलबार एक विशेष समारोह आयोजना गर्दै दुईवटा स्मार्टफोन सार्वजनिक गरेको छ । त्यसमा लेनोभो जेड फाइभ एस र जेड फाइड प्रो–जिटी रहेका छन् ।

जेड फाइभ एसमा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । अर्थात् यस स्मार्टफोनको पछाडिपट्टि ३ वटा मूख्य क्यामरा रहेका छन् । त्यस्तै यसमा टर्बो टेक्नोलोजी पनि रहेको छ । त्यस्तै लेनोभोले सार्वजनिक गरेको जेड फाइड प्रो–जिटी १२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन बनेको छ ।

यस स्मार्टफोनमा स्नापड्रागन ८५५ चिपसेट रहनेछ । क्वालकोमले यसै महिनाको सुरुवातमा उक्त चिपसेट लञ्च गरेको थियो । यसर्थ लेनोभो जेड फाइभ प्रो जिटी विश्वकै पहिलो यस्तो स्मार्टफोन हुनेछ जसमा १२ जिबी र्यामका साथै क्वालकोम स्नापड्रागन ८५५ प्रोसेसर रहनेछ ।

लेनोभो जेड फाइभ प्रो जिटी विभिन्न भेरिएन्टमा लञ्च गरिएको छ । जसमध्ये ६ जिबी र्याम र १२८ जिबी स्टोरेज, ८ जिबी र्याम र १२८ जिबी स्टोरेज, ८ जिबी र्याम र २५६ जिबी स्टोरेजका साथै १२ जिबी र्याम र ५१२ जिबी स्टोरज रहेका छन् ।

लेनोभो जेड फाइभ प्रो जिटीमा ६.३९ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले हुनेछ । त्यसको पिक्सेल रिजोलुसन १०८० गुणा २३४० हुनेछ । स्मार्टफोन सुरक्षाका लागि कर्निंग ग्लासको पत्र रहेको छ । यसले डुअल क्यामरा सपोर्ट गर्दछ ।

जेड फाइभ एसको पछाडिपट्टि मात्र तिनवटा क्यामरा रहेकोमा जेड फाइभ प्रो जिटीमा चाहिँ कूल ४ क्यामरा रहनेछन् । दुईवटा फ्रन्ट क्यामरा हुनेछन् । जसमा एउटा क्यामरा १६ र अर्को ८ मेगापिक्सेलको हुनेछ । त्यस्तै पछाडिको क्यामरामध्ये एउटा २४ मेगापिक्सेल र अर्को १६ मेगापिक्सेलको हुने बताइएको छ ।

सुरुमा यो स्मार्टफोन चीनमा उपलब्ध हुनेछ र आगामी जनवरी १५ देखि प्रि बुकिङ सुरु हुनेछ । २४ फेब्रुअरी देखि यसको बिक्रि सुरु हुनेछ ।