देश राष्ट्रियता, जनतन्त्र, जनजीवीका र सामाजिक सुरुक्षा सबै हिसाबले जटिल अवस्था रहेकाले यसले अझै ठूलो परिवर्तनको माग गरेको छ

प्रकाशित मिति : २०७५ पुस २

- परि थापा

अहिले देशको राजनीति कहाँ पुगेको जस्तो लाग्छ ?

गत निर्वाचनपछि कम्युनिस्ट पार्टी अथवा वामपन्थीको नाममा दुईतिहाईको बहुमत लिएर सरकार बन्यो । यसले कथित ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा दियो । यसले आफैमा उनीहरुको हालसम्मको काम हेर्दा उनीहरुको विगतको आश्वासन र गतिविधिको धज्जी उडेको छ । देश चाहिँ विगतमा जुन अवस्थामा रहेको थियो, त्यहिँ अवस्थामा रहेको छ । देशको राष्ट्रिय स्वाधिनता, सीमा अतिक्रमणको कुरा चर्को भएर गएको छ । अहिले त नेपालको नक्सा नै परिर्वतन भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीको मात्र तीन सय वर्ग किलोमिटर सीमा अतिक्रमण भएको छ । त्यो अतिक्रमित भूभाग बिनाको नक्सा भारतले बनाएर पठाएको छ । त्यो नक्सा नै सरकारले प्रयोग गरिरहेको छ ।

जनतन्त्रको हिसाबले हेर्दा देशमा हत्या, हिंसा, बलात्कारका घटनाहरु बढेका छन् । तर अपराधीलाई सरकारले कुनै पनि कारवाही गर्न सकेको छैन । जनजीवीकाको हिसाबले हेर्ने हो भने कुनै परिवर्तन भएको छैन । युवाहरु विदेशिनु पर्ने अवस्था कायम नै छ । देशमा जलस्रोतको सम्भावना प्रचुर हुँदाहुँदै नेपालीलाई चाहिने उर्जा पूर्तिको व्यवस्था यहिको जलस्रोतबाटै गर्न सकिने अवस्थामा भारतबाट नौ सय मेघावाट खरिद गरेर कथित लोडसेडिङ अन्त्यको भ्रम पैदा गरिएको छ ।

हरेक कुरामा मूल्य वृद्धि भएको छ । देशमा निजीकरण, दलालीकरण बढेको छ । समाजवादको नारा दिइएको छ । तर शिक्षा र स्वास्थ्यको चरम व्यापारीकरण भएको छ । त्यसमा सत्तामा भएकाहरुले नै यस्तो कार्य गरिरहेका छन् । जनयुद्ध, जनआन्दोलनमा लडेका शहीद, घाइते, अपाङ्गहरुको अवस्था झन दयनीय भएर गएको छ । कुनै पनि व्यवस्था गर्नतिर यो राज्य लागेको छैन । त्यसैले अहिले देशको राष्ट्रियता, जनजीवीका, सामाजिक सुरुक्षा सबै हिसाबले जटिल अवस्था रहेको छ र यसले अझै ठूलो परिवर्तनको माग गरेको छ ।

नयाँ विकल्पसहित देशले परिवर्तन चाहेको देखिन्छ । यसका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाले कसरी सोचिरहेको छ ?

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बैठक चलिरहेको छ । हिजो सचिवालयको बैठक बस्यो । आज केन्द्रीय समितिको बैठक बस्दै छ । यस्तो अवस्थामा हामीले टुलुटुलु हेरेर बस्न सक्ने अवस्था हुँदैन । परिवर्तन र क्रान्तिको पक्षमा आउने सबै शक्तिहरुलाई हामीले एकजुट बनाएर सहकार्य गरी अघि बढ्नु पर्छ । विचार मिल्नेसँग एकता गरेर अगाडि बढ्ने हाम्रो सोच पनि रहेको छ । यसका लागि हामीले हाम्रो संगठनको पहलकदमीमा देशव्यापी रुपमा संगठन निर्माण गर्ने, जनपरिचालन गर्ने, राष्ट्रिय जनतन्त्र जनजीविकाका कुराहरुलाई लिएर आन्दोलन अगाडि बढाउने छौं ।

त्यसका लागि हामीले केन्द्रीय समितिको बैठक सकिएपछि ६ महिने आन्दोलनात्मक संघर्षको कार्यक्रमको घोषणा गर्नेछौं । एकातिर संगठनको अवस्थालाई सुदृढ बनाउने काम हुनेछ । संगठनको जिल्ला सम्मलेन, प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलन हामीले गर्नेछौं । त्यस दौरानमा हामीले देशभक्त जनगणतान्त्रिक मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन गर्दै छौं । चैत्र २४ गते आफैमा राष्ट्रिय आन्दोलनको इतिहासमा अंकित छ । त्यस दिनमा हामीले देजमोको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दैछौं । अब छिटै नै हामीले राष्ट्रियता, जनतन्त्र, जनजीवीकाका विषयहरुलाई लिएर मेची–महाकाली अभियान सञ्चालन गर्नेछौं । त्यसमा पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म हाम्रा कार्यक्रमहरु अगाडि बढ्ने छन् । त्यसको मूलतः कार्यक्रमहरुका रुपमा जनसभा गर्ने, जनप्रदर्शन गर्ने सीमा अतिक्रमण र मिचिएका ठाउँहरुमा अवलोकन गर्ने आदि रहेको छ । जनतालाई शिक्षित बनाउने, जागरुप बनाउने र आन्दोलनको स्थितिलाई अगाडि बढाउने निर्णय हुनेछ ।

त्यस दौडानमा हामीले स्थानीयहरुमा अन्तरक्रिया, पत्रकार भेटघाट पनि गर्नेछौं । त्यसका लागि हामीले उद्घाटनका कार्यक्रमहरु चार ठाउँबाट सुरु गर्नेछौं । पूर्वमा मेचीबाट, पश्चिममा महाकालीबाट र बीचमा चाँहि पोखरा र काठमाडौंबाट कार्यक्रम सुरु गर्नेछौं । यो कार्यक्रम मेची–महाकाली १५ दिनसम्म चल्नेछ । यसको उद्घाटन फागुन ७ गतेदेखि २१ गतेसम्म हुने छ । साथै, यसको समापन चितवनको नारायणगढमा गरिने छ । यसरी आन्दोलन र संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाउँदै गइसकेपछि हामीले अहिलेको वर्तमान नवप्रतिक्रियावादीहरुको राज्य सत्ताविरुद्ध जनतालाई आह्वान् गर्दै एउटा आम हड्तालको आह्वान गर्नेछौं ।

संघर्षको यो आयोजनामा जनवर्गीय संगठनहरुका साथै सम्पूर्ण जातिय, क्षेत्रीय मोर्चाहरुको भूमिका कस्तो रहन्छ ?

यसमा विभिन्न जनवर्गीय संगठनहरु र जातिय क्षेत्रीय मोर्चाहरुको पनि संगठन निर्माण गर्ने, भेला गर्ने, सम्मेलन गर्ने र बैठक बस्ने कामहरु हुन्छ । ती सबैलाई हामीले समेटेर देशभक्त जनगणतान्त्रिक मोर्चामा समायोजन गर्नेछौं । ती सबै तह र तप्काका जनसमुदायहरु पहाड, तराई लगायत सबै क्षेत्रका जनसमुदायहरुलाई जातिय, क्षेत्रीय, लिङ्गिय भाषिक सबै क्षेत्रका जनसमुदायहरुलाई समेटेर अगाडि लैजाने हाम्रो निर्णय छ । यो प्रयत्न पनि हामीले गर्नेछौं ।

अहिलेको सरकारको जनताले विकल्प खोजेका छन् । साचो अर्थमा क्रान्तिकारीहरु विकल्पका रुपमा अघि बढ्न सक्लान् ?

अहिले हामीले जुन कार्यक्रमहरु राखेका छौं विकल्पको समस्या छैन । अहिलेको विकृत संसदीय एउटा पुँजीवादी व्यवस्था हो । यसले राष्ट्रिय जनतन्त्र जनजीविकाको समस्या समाधान गर्ने कुरो भएन र अहिले देशको अवस्था अर्धसामन्ती र खास गरेर नवउपनिवेशिक बढी हावी हुन गैरहेको अवस्थामा हामीले एउटा देशभक्त र गणतन्त्रवादी अग्रगामी शक्तिहरुलाई समेटेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने हो । यसको विकल्प यहि हो । त्यसको लागि सबै पक्षलाई समेटेर जानु पर्दछ । हामीले अहिले नै विकल्प भइसक्यो भन्ने कुरा हुँदैन । तर विकल्प हामी हो ।

सैद्धान्तिक, राजनीतिक सबै हिसाबकिताबले हाम्रो कार्यक्रममा कसैले खोट लगाउन सक्दैन । त्यही विकल्पलाई मूर्त रुप दिनको लागि यस प्रकारको कार्यक्रम र आन्दोलनहरु घोषणा गरेका छौं । यस दौरानमा सबै कार्यक्रम देशमा जुन समस्या जनताले भोग्नु परेका छ । देशमा जसरी भ्रष्टाचार, कुशासन जगडेर बसेको छ, यसलाई हटाउन हामीले मुद्दा मिल्ने शक्तिहरुसँग सहकार्य गरेर जाने नीति पनि बनाएका छौं । त्यसका लागि देजमोले एउटा वार्ता संम्वाद टोलीको निर्माण गर्नेछ र त्यस प्रकारका शक्तिहरु पहिचान गरेर सहकार्य गर्ने, संम्वाद गर्ने र संयुक्त आन्दोलनलाई उठान गर्ने प्रयत्न हुनेछ ।

वर्तमान नेकपाको सरकारको असक्षमताका कारणले कम्युनिस्टहरुले केही पनि गर्न सक्दैनन् भन्ने जनतामा परेको छ, यसलाई वैचारिक रुपमा जनताको बीचमा कसरी लैजान र प्रष्ट पार्न सकिन्छ ?

अहिले नेपालको सन्दर्भमा यो विडम्वना भएको छ । जनताले कम्युनिस्ट, वामपन्थी भनेर समर्थन गरेर काँग्रेसलाई हराएर कथित वामपन्थीहरुलाई भोट दिएर जिताए । अन्तर्राष्ट्रिय रुपमा पनि साम्राज्यवादी, प्रतिक्रियावादीहरुले कम्युनिस्ट भनेका छन् यिनलाई । तर यी भने कम्युनिस्ट होइनन् । कम्युनिस्टको कुरा त छोड्नुस वामपन्थी पनि होइनन् । यिनीहरुको व्यवहारले होइनन् भन्ने नै देखाएको छ । यिनीहरु कम्युनिस्ट होइनन् भन्ने कुरा यिनीहरुको व्यक्तिगत जीवनशैली र यिनीहरुले चलाएको शासनशैलीले नै देखाएको छ ।

यदि यिनीहरु कम्युनिस्ट हुन् र वामपन्थी हुन् भने उनकै शासन कालमा किन यति ठूलो देशघात र राष्ट्रिय स्वाधीनतामाथि विदेशी हमला त ? जनतन्त्र घायल भइरहेको छ । विभिन्न घटनाहरु घटिरहेका छन् । अपराधीहरु खुलेआम घुमिरहेका छन् । देशमा जनताले सजिलोसँग स्वास्थ्य उपचार गर्न पाएका छैनन । शिक्षा हासिल गर्न पाएका छैनन् । देशमा रोजगारी छैन । अहिले पनि पुरानै तरिकाले, जसरी पंञ्चायत र नेपाली काँग्रेसले घिसेपिटे बजेट र कार्यक्रम ल्याएर चलाएका थिए, त्यही शैलीमा चलिरहेको छ ।

त्यसैले, यसले के पुष्टि भएको छ भन्दा जनताले भ्रममा नेकपालाई कम्युनिस्ट भनेका रहेछन् । अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरुले उनीहरुमार्फत् हामीलाई समेत् बदनाम गर्नका लागि कम्युनिस्ट नै भनेका छन् । यिनीहरुले वास्तवमा हामीजस्ता सच्चा कम्युनिस्टहरुलाई बदमान गर्दैछन् । यस प्रकारका कथित कम्युनिस्ट वामपन्थीहरुको भण्डाफोरमा कमी भएको छ । यिनीहरुको समग्र भण्डाफोर गरेर अगाडि जानु पर्ने आवश्यकता छ । यसमा सधै सच्चा क्रान्तिकारीहरु, वामपन्थीहरु, कम्युनिस्टहरुले गम्भीर रुपले सोच्नु पर्दछ ।

अहिले यो बेला सत्ताधारी नेकपा पार्टीको बैठक बसिरहेको छ । देजमोले कसरी हेरिरहेको छ ?

उनीहरु नाम मात्रको कम्युनिस्ट हुन् । उनीहरुको पार्टीभित्र जुन प्रकारको विवाद आएको भनिएको छ त्यो देश र जनताको हितमा, राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका पक्षमा चिन्तन मनन् गर्नका लागि एउटा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनका लागि वैचारिक, सैद्धान्तिक, राजनीतिक र विचारधारात्मक कुरामा छलफल गर्नका लागि होइन । त्यहाँ जम्मा भएका अवसरवादीहरु बीचको भागबन्डा, लुछाचुडी र अवसर खोज्नका लागि तिनीहरुको लडाइँ हो । झिनो रुपमा त्यहाँ पनि विरोधको स्वर देखिएको छ । तर जुन प्रकारको सैद्धान्तिक, दार्शनिक अथवा विचारधारात्मक आधारमा त्यो पार्टी खडा भएको छ, त्यही आधारको सेरोफेरोमा रहेर त्यस प्रकारको विरोधको पनि अन्ततः कुनै अर्थ रहँदैन ।

यो सँगसँगै अर्को पार्टी पनि छ, नेपाली कांग्रेस । नेपाली काँग्रेसको अहिलेको महासमितिको बैठकलाई मोर्चाले हेर्ने दृष्टिकोण के छ ?

नेपाली कांग्रेसलाई त हामीले प्रतिक्रियावादी वर्गको प्रतिनिधित्व गर्ने पार्टीको रुपमा लिन्छौं । यसको इतिहासले पनि के देखाउँछ भने राष्ट्रघाती, जनघाती कामहरु गर्दै आएको पार्टी हो । भ्रष्टचारको कुरा गर्नुहुन्छ भने कांग्रेस पार्टीको नेताहरुलाई भ्रष्टचारको कारवाही भएको पनि हामीले देखेका छौं । त्यो भएको हुनाले कांग्रेसले जुन सुकै गतिविधि नीति निर्णय गरेपनि नेपालको आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनलाई कुनै पनि योगदान दिन सक्दैन । त्यसको ठाउँमा हिजो कांग्रेसले गरेको कामलाई नेकपाले पनि दोहो¥यायो । त्यसैले उसले गर्ने निर्णयको कुनै अस्तित्व छैन । त्यहाँ भित्रको अहिलेको अवस्था के हो भने चुनाव हारेर धुलीसात् भइसकेपछि त्यसबाट तंग्रन नसकेको अवस्था छ ।

पछिल्लो चरणमा संघीयता सम्बन्धी देखिएका विवादहरु छन् । यसलाई मोर्चाले कसरी लिइरहेको छ ?

नेपालको विगतको आन्दोलनमा जनयुद्धसँगै जनआन्दोलन सम्पन्न भयो । त्यसमा चारवटा परिवर्तन भए । एउटा गणतन्त्र, त्यो भनेको राजतन्त्रको विरुद्धमा गणतन्त्र हो । अर्को एकात्मक शासन व्यवस्था विरुद्ध संघीय शासन प्रणाली । अर्को हिन्दू राज्यको ठाउँमा धर्मनिरपेक्ष राज्य । अर्को चाहिँ केन्द्रीकृत शासन व्यवस्थाको विरुद्ध समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था । संघीयतामा कुरा के हो भने केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाले नेपाललाई नै एउटै रुपमा लियो । सबै चिज काठमाडौंमा केन्द्रित भयो । राजनीतिक सत्ताको काम सबै यही केन्द्रीकृत भए । र त्यसको विरुद्धमा संघीयता आएको थियो ।

संघीयतालाई सफल हुनुका पछाडि केन्द्रीकृत एकात्मक शासन व्यवस्थाले कारकको काम गरेको थियो, जसले क्षेत्रीय, लिङ्गिय, जातिय विभेद गरेको थियो । त्यसलाई निर्मुल पार्नका लागि यो राज्य सत्ता सबै वर्ग क्षेत्र, लिङ्गका कुराहरुलाई अपनत्व ग्रहण गर्नका लागि संघीयता आएको हो । त्यसको लागि राम्रो प्रयास पनि भएको थियो । पहिलो संविधान सभामा राम्रो प्रयत्न भएको थियो । त्यसको पहिचान सामथ्र्य लगायतका विषयलाई लिएर प्रदेशहरुको निर्माण गर्ने कुरा भएको थियो । पछि यो संघियतालाई विकृत पारियो । यस प्रकारको संघीयताको लागि हाम्रो सहमति छैन । नेपालमा जुन उद्देश्यले संघीयता आएको थियो, त्यो हिसाबमा यिनीहरुले संघीयतालाई कार्यन्वयन गरेर जान सक्ने अवस्था देखिएन ।

देशले अर्को ठूलो परिवर्तनको राज्य पुर्नसंरचना अथवा राज्यको जुन एउटा चरित्र छ जनविद्वेशी, जनविरोधी जुन राज्यको यस्तो चरित्र छ, त्यसलाई धरासायी पार्नका लागि जनमुखी राज्य व्यवस्था, राज्य संरचना निर्माणका लागि अझै ठूलो आन्दोलनको आवश्यकता हुनेछ ।

देशले ठूलो परिवर्तनको अपेक्षा गरिरहेको बेला क्रान्तिकारी विकल्पका रुपमा मोर्चाले संघर्षका कार्यक्रमहरु अगाडि बढाउन सक्ला ?

शासन व्यवस्थाको संरचना त्यो महत्वपूर्ण होइन । महत्वपूर्ण के हो भन्दाखेरी राज्य सत्ता जनहित र जनमुखि हुन्छ कि हुँदैन भन्ने महत्वपूर्ण हो । यदि एकात्मक व्यवस्थापन जनमुखी भयो भने त्यो हुन सक्छ । केन्द्रीकृत व्यवस्थापन जनमुखि भयो भने त्यो राम्रो काम गर्न सक्छ । मुख्य कुरा के हो भन्दा राज्यको चरित्र त्यसको सार जनता र जनहित जनमुखि हुन्छ कि हुँदैन भन्ने कुरा हो ।

जहाँसम्म राज्यको संरचनाको कुरा छ त्यो त साधन हो । साधन र संरचना बदल्न सकिन्छ । साध्य भनेको विचार र राज्यको चरित्र हो । व्यवस्थाको संरचना भनेको साधनमात्र हो । यदि साधनले जनता र देशको हितको पक्षमा काम गर्न गाह्रो पार्छ भने त्यो स्वतः बदलिन्छ । मुख्य कुरा के हो भने कुनै पनि राजनीतिक परिवर्तन आउनुको पछाडि कारण हुन्छ विना कारण आउँदैन ।

यस्तो अवस्थामा हाम्रो क्रान्तिकारी मोर्चा वा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नै यो सत्ताको खास विकल्प हो ।